गाडी दौडिरहेको सडकको पुलमा १८ वर्षका पाइलटले विमान ल्याएर ल्याण्ड गराएपछि…

डिसी नेपाल
८ साउन २०७८ १४:०३

काठमाडौं। सामान्य रुपमा तपाइँले विमान एयरपोर्टको रनवेमा ल्याण्ड गरेको देख्नुभएको होला । तर, एक किशोर पाइलटले भने विमानलाई गाडी दौडीरहेको सडकको बीचमा रहेको पुलमा अवतरण गराएका छन् । अमेरिकामा १८ वर्षका पाइलटले आफूले उडाइरहेको विमानलाई व्यस्त सडकमा रहेको पुलमा आकस्मिक अवतरण गराएका छन् ।

सीएनएनका अनुसार अमेरिकाको दक्षिणी न्यू जर्सीमा विमान उडाइरहेका पाइलट ल्याण्डन लुकासले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराउनु परेको थियो । आकस्मिक अवस्थामा उनले एक पुलमा विमान सफल रुपमा अवतरण गराए किनकि विमानलाई अन्यत्र लैजानको लागि उनीसँग पर्याप्त समय थिएन ।

अधिकारीहरुका अनुसार यी पाइलटले न्यूजर्सीको एक पुलमा विमान अवतरण गराउँदा केहीबेर सडकमा यातायात अवरुद्ध भयो तर कसैलाई कुनै चोट लागेन । १८ वर्षका ल्याण्डन लुकासका अनुसार उनको विमानमा दिउँसो करिब साढे १२ बजे खराबी आएको थियो । त्यतिबेला लुकासले अटलान्टिक सिटीमा स्टिल पियर नजिकैको आकाशमा विमान उडाइरहेका थिए ।

लुकासले ओसन सिटीमा नजिकैको नगरपालिका हवाइ अड्डामा विमान ल्याण्ड गराउने कोसिस गरिरहेका थिए तर यो सम्भव थिएन । त्यही बेला उनले रुट नम्बर ५२ कजवेको पश्चिमतर्फ जाने सडकमा यातायातमा केही अन्तर देखे । यो सडकले ओसन सिटी र सोमरस प्वाइन्टलाई जोड्छ ।

सडकमा गाडीहरुको बीचमा केही खाली ठाउँ देखेपछि उनले विमान सडकमै ल्याण्ड गर्ने निर्णय गरे । प्रत्यक्षदर्शीहरुका अनुसार लुकासले कसैलाई कुनै चोट नपर्ने गरी विमान ल्याण्ड गरेका थिए । अधिकारीहरुका अनुसार यस क्रममा विमानलाई पनि कुनै क्षति भएन । घटनाको थप जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *