४० वर्षअघि मृत्युदण्ड सुनाइएका १३० जनाका हत्याराको सजाय नपाउँदै प्राकृतिक कारणले मृत्यु

डिसी नेपाल
१२ साउन २०७८ १५:१४

काठमाडौं। १ सय ३० जनाको हत्या गर्ने सिरियल किलर फोटोग्राफर जेम्स अल्कालाको मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियाका अल्कालालाई ‘डेटिङ गेम किलर’ पनि भनिन्थ्यो । जेलमा सजाय काटिरहेका अल्कालाको कोरकोरन स्टेट जेल नजिकै एक अस्पतालमा मृत्यु भएको हो ।

न्यूयोर्क टाइम्सका अनुसार सिरियल किलर रोडनी जेम्स अल्कालाको ७७ वर्षको उमेरमा शनिबार बिहान कोरन स्टेट जेल नजिकै एक अस्पतालमा मृत्यु भएको जेल अधिकारीहरुले पुष्टि गरेका छन् । उनको सान जोकिन भ्याली अस्पतालमा प्राकृतिक कारणले मृत्यु भएको हो । पुलिस अधिकारीहरुका अनुसार उनले देशभरमा करिब १३० महिला र बालबालिकाको हत्या गरेका थिए । अल्कालालाई २०१० मा क्यालिफोर्नियामा १९७७ र १९७९ को बीचमा पाँच हत्याको लागि मृत्युदण्डको सजाय सुनाइएको थियो यीमध्ये एक १२ वर्षकी बालिका पनि थिइन् ।

अल्काला फोटोग्राफर थिए । उनी महिलाहरुलाई फोटो खिचिदिने प्रलोभन देखाएर फसाउँथे र उनीहरुको यौन उत्पीडनपछि हत्या गर्थे । उनी महिलाहरुलाई घाँटी थिचेर वा निर्घात कुटपिट गरेर हत्या गर्थे । अल्कालालाई सबैभन्दा पहिले १९८० मा सजाय सुनाइएको थियो । १९७९ मा १२ वर्षकी रबिन सामसोको अपहरण र हत्या गरेको अभियोगमा अल्कालालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, क्यालिफोर्नियाको सर्वोच्च अदालतले उनको सजाय उल्ट्याइदियो । १९८६ मा उनलाई फेरि मृत्युदण्डको सजाय सुनाइयो तर यो सजाय पनि २००३ मा एक संघीय अपिल अदालतले उल्ट्याइदियो ।

२०१० मा उनलाई फेरि दोषी ठहर गरियो र मृत्युदण्डको सजाय सुनाइएको थियो तर सजाउ दिनुभन्दा पहिल्यै उनको प्राकृतिक कारणले मृत्यु भयो । अल्काला आफूलाई पेशेवर फेशन फोटोग्राफरको रुपमा पेश गर्थे । उनको आइक्यु १६० भन्दा पनि बढी भएको बताइन्छ । अल्कालाले सयौं युवा युवतीलाई उनीहरुको पोर्टफोलियोको लागि नग्न हुनको लागि राजी गराएका थिए । अल्काला आफ्नो शिकारलाई फसाएपछि निदर्यतापूर्वक हत्या गर्थे । बलात्कार गरिसकेपछि कुटपिट गरेर प्रताडित गर्थे । हत्या गरिसकेपछि पीडितको नग्न तस्वीर खिच्थे ।

१९७९ मा उनलाई अन्तिम पटक १२ वर्षकी बालिका सामसोको हत्याको आरोपमा पक्राउ गरिएको थियो । अल्कालाले कथित रुपमा आफ्ना साथी ब्रिजेट विल्बर्टको साथमा लस एन्जल्सको समुद्र तटमा सुनौलो कपाल भएकी सामसोसँग सम्पर्क गरेका थिए । ब्रिजेटले पछि भनेका थिए ‘तस्वीर लिने बहानामा ऊ सामसोको नजिक गयो । केही बेरपछि अल्काला त्यहाँबाट गयो तर ती बालिकाबारे केही थाहा भएन ।’

अल्कालालाई सजाय सुनाइएपछि अधिकारीहरुले १०० भन्दा धेरै महिला र बालिकाका तस्वीर जारी गरेका थिए । यी सबै तस्वीर अल्कालासँग सम्बन्धित भएको बताइएको छ । अल्कालालाई डेटिङ गेम किलर पनि भनिन्थ्यो किनकि उनी १९७८ मा ‘द डेटिङ गेम’ मा एक प्रतियोगी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *