पाकिस्तानका प्रसिद्ध आरोही मोहम्मद अली सादपाराको शव केटु हिमालबाट छोराले निकाले

डिसी नेपाल
१४ साउन २०७८ १३:०७

काठमाडौं। गएको हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने प्रयासमा हिमालमै ज्यान गुमाएका पाकिस्तानका प्रसिद्ध आरोही मोहम्मद अली सादपाराको शव अहिले उनका आफ्नै छोरा साजिद अली सादपाराले हिमालबाट निकालेर ल्याएका छन् । साजिदले आफ्ना पितासँगै अन्य २ आरोहीको शव पनि निकालेर ल्याएका छन् । गएको फेब्रुअरीमा हिमालमा हराएका आफ्ना पितासहितका आरोहीको शव साजिदले केटु हिमालको ‘बोटलनेक’ बाट निकालेर क्याम्प ४ मा ल्याएको पाकिस्तानी अखबार ट्रिब्युनले जनाएको छ ।

साजिद र सरकारी अधिकारीहरुका अनुसार हिमालमा यी शवहरु नेपाली शेर्पाहरुले सोमबार बोटलनेकभन्दा केही तल फेला पारेका थिए । फेब्रुअरीमा आइसल्याण्डका जोन स्नुरी सिगुरजोनसन र चिलीका जुआन पाब्लो मोहर प्रिटोसँग केटु आरोहण गर्न गएका अली सादपारा हिमालमा हराएपछि उनीहरु तीनैजनालाई फेब्रुअरी १८ मा मृत घोषित गरिएको थियो । उनीहरु हिउँदमा केटु आरोहण गर्ने प्रयासमा फेब्रुअरी ५ मा सम्पर्कविहीन भएका थिए ।

यस वर्षसम्म कहिल्यै पनि कसैले केटु हिमाल हिउँदमा आरोहण गर्न सकेका थिएनन् । तर, गएको जनवरीमा मात्रै नेपाली टोलीले सफलतापूर्वक हिउँदमा केटु आरोहण गरेपछि मोहम्मद अली सादपाराले पनि हिउँदमा यो हिमाल आरोहण गर्ने प्रयास गरेका थिए । त्यतिबेला साजिद पनि पितासँगै आरोहणमा गएका थिए तर उनको अक्सिजन रेगुलेटर बिग्रिएपछि उनी क्याम्प ३ मा फर्किनुपरेको थियो । त्यसपछि हराइरहेका ३ आरोहीको शव खोज्ने प्रयास सफल हुन सकेको थिएन ।

‘साजिद सादपाराले मोहम्मद अली सादपाराको छोराको रुपमा आफ्नो कर्तव्य पुरा गरेका छन् । उनले हाम्रा हिरोको शव क्याम्प ४ मा ल्याएका छन् । उनले एक्लै डरलाग्दो ढलानबाट शव निकाल्न मात्र नभइ शवलाई बोटलनेकदेखि क्याम्प ४ सम्म ल्याउन सफल भएका छन् । उनलाई एक जना अर्जेन्टिनी आरोहीले मात्र सहयोग गरेका थिए’ टिम अली सादपाराको आधिकारी ट्वीटर ह्याण्डलमा ट्वीट गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *