कस्तो एनआरएनए चाहिएको हो हामीलाई ?

डिसी नेपाल
१४ साउन २०७८ १४:०२

हामी प्रवाशी नेपालीहरुको साझा संस्था एनआरएनए एउटा प्रवल सम्भावना बोकेको गौरवशाली संस्था बन्न सक्छ। विश्व मानचित्रमा पछि परेको हाम्रो जस्तो राष्ट्र नेपालका लागि समेत यो कोशे ढुंगा सावित हुन सक्छ।

तर त्यस भन्दा पहिले त प्रवाशीहरुको सही प्रतिनिधि संस्थाको रुपमा यसले आफूलाई उभ्याउन सक्नु पर्यो। नेपाल सरकार र नेपालको संविधानले समेत मान्यता प्रदान गरेको, एउटा इतिहास बनाई सकेको विश्वभर विस्तारित एक मात्र संस्था एनआरएनएलाई आजका दिनमा हामी कोही पनि सचेत र जिम्मेवार नागरिकले नजरअन्दाज गर्नैं सक्दैनौं। म यो लेख लेखिरहदा सर्व प्रथम त यस संस्थाका परिकल्पनाकार, संस्थापक र तमाम इमान्दार नेता कार्यकर्ताहरु प्रति नमन गर्न चाहन्छु।

जतिसुकै समस्याहरु भए पनि र कमी कमजोरीहरु भए पनि अग्रजहरुका योगदानहरुको उचित सम्मान गर्न सक्नु पर्छ जसले इमान्दार मनले यसमा आफ्नो योगदान गरे। वास्तवमा संस्था जन्माउनु र हुर्काउनु भनेको माता पिताकै बराबरको त्याग तपस्या रहेको हुन्छ, जसको अपमान हुनैं सक्दैन। नेतृत्वले पनि स्वस्थ आलोचनाहरु सुन्नु पर्छ। समस्याहरुबाट भाग्न खोज्ने हैन, सामना गर्न सक्नु पर्छ।

अहिले पनि एनआरएनएको ठूलो समस्या भनेको यसको नकारात्मक चर्चा हो। केही ब्यक्तिहरुका दोषका कारण या सिस्टममैं भएका कमजोरीका कारण तमाम एनआरएनए अभियन्ताहरु र सामाजिक अभियन्ताहरुले दोष खानु पर्ने तथा सिंगो प्रवाशी नेपाली समाजले लज्जित हुनु पर्ने कुराले मलाई ज्यादै दुःख लाग्छ। यस्तो हुनुमा नेतृत्व मात्र दोषी छैन।

यसमा २ वटा कारणहरु हुन सक्छन्, एक हामीमा रहेको नकारात्मक कुरा प्रतिको आकर्षण र पुर्वाग्रही दृष्टिकोण। किनकी सकारात्मक कुराहरु भन्दा नकारात्मक कुराले हामी सबैको ध्यान तानिरहेको हुन्छ र जाजनीतिक रुपमा विभाजित र पुर्वाग्रही दिमागले अर्को भनिएको पक्षको राम्रो भन्ने केही देख्नै मान्दैन। यो एकलकाटे संस्कारबाट मुक्त हुन जरुरी छ।

अर्को मुख्य कुरा एनआरएनए जस्तो ठूलो संगठनको उद्देश्य, कार्य क्षेत्र र संगठनात्मक संरचना कस्तो हुनु पथ्र्यो भन्ने विषयमा गम्भिर त्रुटीहरु छन्। जव कुनैं मेशिनरी ठिक ढंगले बनाइएकै छैन भने त्यसबाट ठिक परिणामको अपेक्षा गर्नै सकिन्न।

त्यसैले मैले माथि उल्लेख गरेको नेतृत्वलाई मात्रै दोष दिएर हुन्न, यसमा संरचनात्मक रुपमै सुधार नगर्ने हो भने त्यहाँ जो गएर पनि तात्विक फरक हुन सक्दैन। मेरो १५ वर्षको प्रवाश अनुभव र नेपालदेखिको सामाजिक कामहरुको अनुभवले यही भन्छ।

एनआरएनए अमेरिकाका बारेमा अति धेरै नकारात्मकता छ, निराशा छ। निराश म पनि हुन्छु कहिले काहीँ। किनभने सधैंभरी प्रवाशमा सामाजिक काममै दौडिरहेको हुन्छु तर आमा समान संस्था एनआरएनएका बारेमा नानाथरी नकारात्मक कुराहरु सुन्नु परिरहेको हुन्छ तर आफू त्यसमा केही गर्न सकिन्न। धेरै समस्याहरु देखिन्छन् तर मुकदर्शक हुन बााध्य हुनु परेको छ।

न यसबाट पूर्ण रुपमा टाढा हुन सकिन्छ न भित्रै पसेर समाधान गर्न सकिन्छ। मलाई लाग्छ यो पिडा मेरो मात्र नभएर म जस्ता हजाराैं प्रवाशी सामाजिक कार्यकर्ताहरुको हो। एनआरएनएका समस्याहरु के छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मलाई लागेका धारणाहरु राख्न चाहन्छु।

अहिले पनि एनआरएनएको ठूलो समस्या भनेको यसको नकारात्मक चर्चा हो। केही ब्यक्तिहरुका दोषका कारण या सिस्टममैं भएका कमजोरीका कारण तमाम एनआरएनए अभियन्ताहरु र सामाजिक अभियन्ताहरुले दोष खानु पर्ने तथा सिंगो प्रवाशी नेपाली समाजले लज्जित हुनु पर्ने कुराले मलाई ज्यादै दुःख लाग्छ। यस्तो हुनुमा नेतृत्व मात्र दोषी छैन।

यसलाई धनीमानीहरुको या भातृ संगठनका कार्यकर्ताहरुको क्लव जस्तो बनाउने कि सामाजिक कार्यकर्ता या समाजसेवीहरुले नेतृत्व गरेको आम प्रवाशीहरुको गौरवमय संस्था बनाउने? मुख्य प्रश्न यो हो। हामी दोश्रो अप्सनमा जाने हो भने त्यसका लागि संगठनको संरचनात्मक रुपमै ठूलो परिवर्तन गर्नु पर्ने छ।

एउटा सामाजिक संस्थाको गरिमा तव रहन्छ जव यसको नेतृत्वको विकाश कडा परिश्रम र योगदानबाट स्थानीय तहदेखि नैं सफल नेतृत्व गरेर क्रमश विकाश भएको होस्। साँच्चिकै सबैले महशुस गर्न सक्ने गरी काम र योगदान गरेका ब्यक्तिहरुले नृतृत्व गरेको होस्। अहिले एनआरएनएमा नेतृत्व गर्नेहरुको आधार समाजसेवा मात्र हुन सकेको छैन, यद्यपि यो सबैमा लागू नहोला।

अहिलेको एनआरएनए भनेको मुलत नेपालको गुट उपगुटको फोहरी राजनीतिलाई तिनको भातृ संगठनहरु मार्फत कब्जा गर्ने या भागवण्डा गर्ने खेल खेल्ने र लड्ने ठाउँ बनाइएको छ भन्दा यो आरोप मात्र हुँदैन, दुनियाँले स्विकारेको यथार्थ हो। गत शाल काठमाडौं सम्मेलनदेखि बेलायत र न्युयोर्क एजिएम (दशौं साधारण सभा), बेल्जियम, जापान आदि ठाउँमा भएका हातापाईका घटनाहरु त यसैका स्वभाविक परिणामहरु मत्र हुन्।

यो कुरा बुझिसकेका हामीलाई यी कुनै नौला घटना हैनन्, हुँदै आइरहेका छन् र भैरहने छन् जवसम्म संगठनलाई संरचात्मक रुपमै आमल परिवर्तन गरिँदैन। छानविन गरेर दोशीलाई कार्वाह गर्नु पर्यो भन्ने आवाज पनि सुनिन्छ तर तर धेर जसो आवाज उठाउनेहरु यसैका मतियारहरु हुन्छन्।

कार्वाही कस कसलाई मात्रै गर्ने, के गर्ने अनि कसले गर्ने? यो कुरा जरामा रोग लागेको छ पातको उपचार भने जस्तै अब्यवहारिक छ। नेपालको राजनीतिको धङधङ्गी बोकेका भातृ संगठनका मान्छेहरुले एनआरएनएलाई लोक हसाउने मजाक बनाइ राखेका छन्।

सामाजिक कामको उद्देश्य भैदिएको भए यस्तो सधैंभरीको कुस्ताकुस्ती हुने थिएन, सालिनता हुने थियो, अनुशासन हुने थियो र छलफल सामाजिक मुद्दामा मात्र हुने थियो।

एनआरएनको नेता हुन धेरै पैसा कमाउनु पर्दैन, भातृ संगठनको नेता या कृपा पनि हुनु पर्दैन, मात्र सामाजिक सेवाको पवित्र भावना लिएर काम गरिरहनु पर्दछ भन्ने कुरा स्थापित गर्न सिस्टममै महत्वपूर्ण सुधार गर्नु पर्ने छ। तसर्थ मैंले भन्न खोजेको ब्यक्तिलाई दोष दिनु भन्दा पनि सिस्टममै आमुल परिवर्तन गर्नु पर्छ।

देखौटी रुपमा जे भए पनि एनआरएनए छलफलहरु भाषण कसलाई गर्न दिने, कसलाई निमन्त्रणा गर्ने, आसन ग्रहण कसलाई, अगाडि पछाडि पार्ने, एअरपोर्टमा अतिथिलाई को लिन जाने, खादा माला लाउने र फोटो खिचाउने, सम्मान गर्ने, मनोनित कसलाई गर्ने जस्ता विषयमा घम्साघम्सी छलफलहरु हुन्छन् तर बास्तविक समाजका समस्याहरुका र राम्रो संगठन निर्माण गर्ने विषयमा विरलै छलफलहरु हुन्छन्।

एउटा स्यानो स्थानीय संस्था यदि सकृय छ भने त्यहाँ के हुँदैन? सामुदायिक भवन, मन्दिर, ब्यवस्थित सम्पर्क कार्यालय, नियमित बैठक र योजनाहरु, नियमित विभिन्न कार्यक्रम र गतिविधिहरु, विधान अनुसार संगठन संचालन र सामुदायलाई आवश्यक सहयोग।

यहाँ काम गर्ने कार्यकर्ताहरु बास्तविक समाजसेवीहरु हुन् जसलाई न ब्यक्तिगत प्रचार चाहिन्छ न मान सम्मानको पगरी न खादा माला। एनआरएनएको एउटा कार्यालय भवन भाडामा समेत अहिले सम्म नहुनु अमेरिका जस्तो देशमा लाज मर्नु कुरा हो।

कतिपयको धन्दा खेतीपाती नैं एनआरएनएको चुनाव मात्रै हुन्छ। केहीको झुण्ड बनायो, आफैं या कसैको लगानीमा सदस्यता बनायो, उसको भोट हाल्ने एक्सेस आफैंसित राख्यो, अनि ठेकेदारी र दलाली गर्यो। पहिला च्याप्टरमा उठेको भए यस पटक एनसिसि, अर्को पटक आइसिसिमा उठिगो।

जिते पनि केही नगर्यो, हारे पनि अर्को पटक त्यो भन्दा माथि उठिगो। यसरी संस्थागत हितलाई लात मारेर संस्थाको गरिमाको धज्जी उडाउने, फर्जी मतको खेती गरेर बाली कब्जा गर्ने, पेन ड्राइभ, हार्ड ड्राइभ, ह्याकर, खरिद विक्री, जगेडा मत, कम्प्युटर सिस्टमबाटै घोटाला, गुण्डागर्दी जस्ता कुराहरुको अव अन्त्य हुनै पर्छ। हामी अगाडि बढे यो सम्भव छ। किनकी जनताको आवज भन्दा बलियो शक्ति केही पनि छैन या यसले गर्न नसक्ने केही पनि छैन भन्ने मेरो दृढ बिश्वाश छ।

संस्थाको उद्देश्यः

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा मलाई त्यति चित बुझ्दैन। यो स्थापित कुरा हो भनिरहनुकोे केही अर्थ छैन। ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई ‘नेपालीका लागि एनआरएनए’ भन्दा राम्रो हुन्छ। नेपालीको अर्थ हुन्छ स्वदेश तथा विदेशमा बस्ने सबै नेपाली। यस संस्थाका २ वटा मूल उद्देश्यहरु हुनपर्छ।

प्रबासी नेपालीहरुका समस्याहरुको समाधानका लागि सारथी बन्ने र तिनका हक अधिकारहरुका लागि काम गर्ने पहिलो उद्देश्य र देश्रो उद्देश्य मातृभूमीको विकाश र प्रगतिमा साथ दिने र आपतकालिन घडीमा सहयोगी बन्ने। यत्ति हो मूल उद्देश्य।

कर्म भूमी या प्रवाशी नेपालीका लागि काम गर्ने नैं पहिलो उद्देश्य हुनु पर्दछ किनकी यो संस्था यिनीहरुका लागि बनेको यिनीहरुको संस्था हो र आफू बलियो नभई अर्थात मजवुत संगठन बिना मातृभूमीका लागि धेरै सहयोग पुर्‍याउन सकिन्न। एनआरएनएका मुख्य कामहरु सही नेतृत्व विकाश, नेतृत्व तालिम, सहजिकरण, समन्वय, प्रचार तथा लविंग, आवश्यक खवरदारी, तयारी र ठूला योजनाहरु हुन्।

 संगठनात्मक संरचनाः

चुनाव अति भयो, मनोनित अति भयो र यसैले बिकृति ल्यायो। सामाजिक काम गर्ने संस्थामा किन स्ववियूको जस्तो या राजनीतिक दलहरु बिचको जस्तो चुनाव? केको प्रतिस्पर्धा? यसलाई समाधान गर्न संगठनात्मक संरचनामा आमुल परिवर्तन गर्नु पर्ने छ।

काम गरेर नेतृत्वको रुपमा सहज विकाश हुने ब्यवस्था, स्वस्थ प्रतिस्पर्धा, गुणस्तरीय र अनुशासित नेतृत्व अनिवार्य शर्त हो। नेपालको राजनीति यहाँ ल्याएर गुट उपगुट बनाएर र अनेकखाले तिकडम गरेर नेतृत्व हत्याउने, गुट बलियो बनाउने नाममा झरपात सबैलाई विना कामका टास्क फोर्शमा मनोनित गर्ने कुराले के यो उद्देश्य सम्भव छ? यस्तो चक्र तयार पारिएको छ कि ठाउँ ठाउँमा चुनाव जिताई दिने र मनोनितमा पारिदिने छोटे ठेकदारहरु जन्मिएका हुन्छन्।

यो दुस्चक्र नै बिकृतिको मुल कारण हो। बिधानले भन्छ, एनआरएनए जस्तो बिशुद्ध सामाजिक संस्था राजनीतिक रंगबाट पूर्ण मुक्त हुनु पर्छ तर ब्यवहारमा छलफल नेपालका राजनीतिक गुटहरु देखि लिएर प्रबाशका तिनका प्रतिनिधिहरु एनआरएनए कसरी कब्जा गर्ने भन्ने बारेमा योजना बनाउछन् (उदाहरणः भखरै नेपाली कांग्रेस पार्टीले आफ्नो भातृ संगठन जनसम्पर्क समितिलाई खुल्ले आम चिठी काटेको छ), अनेक शक्ति समूहहरुसँत चुनावी तालमेल गर्छन्, सौदावाजी गर्छन, खरिद बिक्री गर्छन, धाँदली गर्छन, कोही बधाई बधाई भन्छन् र कोही धाँदली भो भन्दै मुद्धा मामलामा जान्छन्।

 सदस्यताः

१८ बर्ष उमेर पुगेका सबै नेपाली मुलका नेपाली भाषीहरु (नेपाल, भुटान, भारत, बर्मा जहाँबाट आएका भए पनि) एनआरएनएका सदस्य हुन् भन्ने मान्यता राख्नु पर्दछ र सबैलाई अत्यन्त सहज ढंगले सदस्यता लिन प्रेरित गर्न सक्ने ब्यवस्था गर्नु पर्दछ।

यसका लागि आइसिसिको निशुल्क सदस्यता योजना स्वागतयोग्य छ। निशुल्क सदस्यता मार्फत धेरै भन्दा धेरैलाई रजिष्टर गराउनु पर्दछ जसले भोटका ब्यापारीहरुको यहीनेर बाता बसिहाल्छ। बास्तवमा सदस्यता दुई किसिमको बनाउनु पर्दछ एउटा निशुल्क साधारण सदस्यता र अर्को शशुल्क आजिवन बिशिष्ट सदस्यता।

यसमा नेतृत्व गर्न चाहने या उम्मेदवार बन्न चाहनेले यो सशुल्क सदस्यता अनिवार्य लिनु पर्नेछ। अर्को कुरा निशुल्क सदस्यता लिनेलाई पनि सदस्यता रजिष्ट्रेशन गर्दा ऐच्छिक रुपमा चन्दा दिने अप्सन राखेमा संस्था संचालनमा पर्याप्त रकम संकलन हुनेछ यदि संस्थाले मानिसहरुको मन जित्ने गरी काम कारोबार गर्न सकेको छ भने।

 संस्थागत सदस्यताः

स्थानीय संघ संस्थाहरु नैं समुदायका लागि काम गर्ने मुख्य संस्थाहरु हुन् जसले मर्दा पर्दा या दुखमा सुखमा आड भरोसा दिइराखेका हुन्छन्। यसर्थमा स्थानीय समुदायका लागि त एनआरएनएको भन्दा बढी महत्व र भूमिका स्थानीय संघ संस्थाको हुन्छ।

त्यसो भए एनआरएनएको औचित्य के? किन चाहियो यो संस्था? यो गतिलो प्रश्नको पनि जवाफ नदिई एआरएनए अघि बढ्न सक्दैन। एनआरएनए स्थानीय संघसंस्थाहरुको प्रतिस्पर्धी संगठन हैन बरु यो छाता संगठन हो, उएटै उद्देश्य बोकेको स्थानीय संस्थाका लागि सहयोगी संगठन हो। अझ यसो भनौं स्थानीय सघ संगठनहरु र सम्पूर्ण सामाजिक अभियन्ता समाजसेवीहरु नैं एनआरएनका आधार हुन्।

यिनीहरु नैं एनआरएनका गौरव हुन् र नेतृत्वका श्रोत पनि हुनु पर्ने थियो। विभिन्न संघ संस्था मार्फत या ब्यक्तिगत रुपमा समुदाय र नेपालका लागि महत्वपूर्ण सहयोग, योगदान गरिरहेका र गर्न सक्ने औकात भएका सयौं हजारौं मानिसहरु छन् प्रवाशमा जसले सिंगै आप्रवाशीको प्रतिष्ठा माथि उठाउन सक्ने थिए, एनआरएनएलाई सफल नेतृत्व दिन सक्ने थिए, तर तिनलाई यसै ओझेलमा पारिएको छ।

तिनका योगदानहरुलाई ओझेलमा पारेको छ यो एनआरएनए भन्ने संस्थाले, अरु धेरै योगदान गर्न सक्ने सम्भावनालाई तुहाउने काम गरेको छ यसले। एनआरएनए भन्ने वित्तिकै जसुकैले अपनत्व महशुस गर्ने वातावरण तयार गर्नु पर्दछ। यसका लागि हरेकले गरेका सामाजिक कामहरुको मुल्यांकन, प्रोत्साहन र आवश्यक सहयोग एनआरएनएले गर्नु पर्दछ।

स्थानीय कामलाई नैं एनआरएनको मूख्य आधार बनाइनु पर्दछ र अहिले भैरहेको एनआरएनएको स्थानीय संस्थाहरुरुसितको अन्तरबिरोधलाई अन्त्य गर्नु पर्दछ। यसका लागि स्थानीय संघ संस्थाहरुलाई नैं निश्चित मापदण्ड तोकी संस्थागत सदस्यता प्रदान गर्नु पर्दछ। यो काम गर्दा के कुरा ख्याल गर्नु पर्दछ भने निश्चित क्षेत्र ओगटेको स्थानीय सामुदायिक संगठन एउटै मात्र हुने मान्यता बनाई उक्त क्षेत्रमा एउटैलाई मात्र संस्थागत मान्यता दिनु पर्नेछ।

स्थानीय कामलाई नै एनआरएनको मूख्य आधार बनाइनु पर्दछ। एनआरएनको माथिल्लो नेतृत्व विकाशको आधार यही स्थानीय कामबाट खारिएर आएकाहरुलाई बनाउनु पर्दछ। जसरी आइसिसिको मातहतमा एनसीसी हुन्छ त्यसैगरी एनसिसिको मातहतमा स्टेट च्याप्टरहरु र स्टेट च्याप्टरको मातहतमा स्थानीय संस्थालाई राखिनु पर्दछ। यसरी एनआरएनएलाई संगठनहरुको पनि संगठन महाँसंघ या छाता संगठन बनाउनु पर्दछ।

 निर्वाचन प्रकृया या संगठन निर्माण प्रकृयाः

एउटा केन्द्रीय सदस्य (बोर्ड अफ डाइरेक्टर) का लागि यति ठूलो देशै भरी भोट मागेर हिड्नु पर्ने बेतुकको चुनावी शैली छ एनआरएनएमा। एउटा अस्टिनको मान्छे उम्मेदवार भयो भने उसलाई न्युयोर्क या क्यालिफोर्नियाँको मतदाताले के आधारमा र किन भोट हाल्ने? उ कस्तो मान्छे हो भन्ने कुरो त यही स्थानीयलाई मात्रै थाहा हुने कुरा हो नि, टेक्ससभरी समेत थाहा पाउन सम्भव छैन।

जे जे झुटो बायोडाटा बनाएर गफ हानेर हिडे पनि भो। यही त मुख्य कारण हो चुनाव जित्न राजनीति र पैसोको खेलमा फस्नु पर्ने। जसले राजनीतिक दाउपेच मिलाउन सक्छ र धेरै भन्दा धेरै पैसो खर्च गरेर प्रोपोगाण्डा गर्न सक्छ, उसैले चुनाव जित्छ। धेरै भन्दा धेरैसित रिचआउट गर्न सक्नु पर्‍याे। यति दुख र खर्च वास्तविक सामाजिक काममा लगाउन पाए कति उपलब्धी हुने थियो?

बिचरा एनआरएनएको अहिले सम्म एउटा सम्पर्क कार्यालय समेत छैन। बरु स्थानीय संस्थाका धेरै ठाउँमा आफ्ना भवन या सामुदायिक केन्द्रहरु छन्। एनआरएनका अधिकांश ढर्राहरु उपलब्धीबिहीन र खर्चालु छन्। खर्चालु भेला, गोष्ठि, समेनार, प्लेन र होटलको भ्याकेसन मनाए जस्तो खर्चहरु, आशन, रासन र भाषणले समाजलाई चाही के उपलब्धी दिएको छ?

उधाहरणको लागि अस्टिनमा गरिएको बहु प्रचारित हेल्प डेस्कको के छ अहिले उपादेयता? त्यसले कुनै माखो मारे जस्तो मलाई लाग्दैन। त्यो भन्दा त हामी यहाँ स्थानीय रुपमा हरेक दिन केही न केही समुदायको हेल्प गरिरहेका हुन्छौं।

वास्तविक समाजसेवीले त आफ्नो फोटा र फ्लायर, ब्यक्ति प्रचार पनि धेरै गर्न चाहँदैन। उ राजनीतिक दल, क्षेत्रीयता जस्ता साम्प्रदायिक कुराहरु भन्दा माथि उठेर एउटा मानव या नेपाली भैसकेको हुन्छ। मान्छे भैसकेको हुन्छ।

उसलाई अनावश्यक स्यावाशी, बधाई, खादा माला, मंच, आशनग्रहण आदिको जरुरतै पर्दैन। तसर्थ निर्वाचन प्रकृयालाई सहज सरल र कम खर्चिलो बनाउनैं पर्ने हुन्छ। यसले धनीमानी र खास इन्टरेष्ट ग्रुपको चलखेल गर्ने क्लवलाई बास्तविक समाजसेवीहरुले नेतृत्व गरेको सबैको सामाजिक संस्थामा रुपान्तरित गर्नेछ।

()  एनआरएनए आईसिसिको मातहतमा एनसीसी, एनसीसीको मातहतमा स्टेट च्याप्टर र स्टेट च्याप्टरको मातहतमा स्थानीय सामुदायिक संगठन। हरेकको कार्य क्षेत्र प्रष्ट रुपमा तोक्ने, स्पष्ट गर्ने जुन अहिले हुन नसक्दा एक अर्का समितिहरुबीच अन्तरद्वन्द्पहरु भैरहेका छन्। यस्तो संयन्त्र तयार गर्ने जसले ठ्याक ठ्याक आफ्नो काम राम्रोसित गरोस्।

()  नेतृत्व विकाश तलबाट माथि हुनुपर्दछ। समितिहरु स्याना छरिता र कामयावी हुनु पर्दछ। स्थानीय तहमा काम गरेर खारिएका, सबैले रुचाएका, मानेका अनुभवी मानिसहरुलाई एनआरएनएको नेतृत्वमा विकाश गर्दै जानु पर्दछ। नत्र उनीहरुको जाने ठाउँ कहाँ हो त? के जिन्दगीभरी स्थानीय रुपमा घोटिइरहने अनि तिनको मुल्यांकन नहुने? केही न कामका मानिसहरुबाट उसले अपमानित हुनु पर्ने?

अहिलेको ब्यवस्थाले एनआरएनको नेता हुन स्थानीय तहमा सिन्को पनि भाँच्न पर्दैन, कसैलाई सहयोग र योगदान गर्न पर्दैन, जनतालाई रिजाउन पर्दैन। माथिका भनिएका मानिसहरुसित सिक्वेन्स मिलाउन सके भैगो। त्यसैले एनआरएनएका ठूलठूला भनिएका कतिपय नेताहरुलाई या त पल्लो घरकाले पनि चिन्दैन या परिवारलाई नैं थाहा हुँदैन या त स्थानीय रुपमा बदनाम हुन्छ या स्थानीय संस्थाको सदस्य पदका लागि समेत योग्य हुन्न। ल हेर्नुस् त स्थानीय संस्थामा पदाधिकारीका लागि नपत्याइएको मानिस एनआरएनएको नेता भए पछि?

तब भन्नुस् यसरी कसरी बढ्छ संस्थाको गरिमा? स्थानीय तहमा काम र नेतृत्व गरेर नयाँ नेतृत्व स्थापित भैसकेकाहरुको अनुभवहरु र जोश जाँगरलाई एनआरएनएले भरपुर सदुपयोग गर्नु पर्छ। स्थानीय रुपमा सिनियर ब्यक्तित्वहरु एनआरएनको नेतृत्वमा भए भने नैं तिनलाई थाहा हुने हो समुदायका समस्या र नेतृत्व। अनि एनआरएनएको काम प्रभावकारी नभएर सुखै छैन। नेतृ्त्वको कक्षा क्रमश चढ्दै जानु पर्छ नत्र त एसएलसी फेल भएकाहरुले डाक्टरको सर्टिफिकेट खरिद गरेर मान्छेको जीवनमा खेलवाड गरे जस्तो भैगो नि। शिक्षक आफैंलाई क ख आएन भने के हुन्छ?

() मनोनितः  मनोनित गर्ने कुरा पुर्णत समाप्त गरि दिए हुन्छ यो बिकृतिको बिउ। मनोनित तिनैं आफ्नो गुटलाई चुनाव जिताउन चाहिने नचाहिने काम गर्नेहरुलाई गरिन्छ। संगठनका लागि हैन, सामाजिक एकताका लागि पनि हैन तर आफ्नो गुट बलियो बनाउने उद्देश्यमा प्रयोग गरिन्छ या अर्को चुनावको तयारी अहिलेबाटै सुरु हुन्छ।

बरु गर्नु त के पर्दथ्यो भने प्रतिद्वन्दीको रुपमा चुनाव हारेकाहरुलाई र समाजका अगुवाहरुलाई समेट्नका लागि हुनु पर्दथ्यो मनोनितको ब्यवस्था। बरु मनोनित गर्नु भन्दा संस्थागत प्रतिनिधित्व गराउनु राम्रो हुन्छ। त्यस्तै प्रबक्ता बाहिरबाट नियुक्त गर्ने प्रचलन बन्द गर्नुपर्छ ।

प्रवक्ता नै चाहिएको छैन। उसले गर्ने काम चुनाव जितेका मान्छेले गर्दा हुदैन? केन्द्रीय सदस्यलाई बोर्ड अफ डाइरेक्टर भनेर ठूलो मान्छे भइदैन, सबैले बुझ्ने भाषा प्रयोग गरे हुन्छ। आफ्नो गुट बलियो बनाउनका लागि अनावश्यक टास्क फोर्स र पदहरु सिर्जना गर्ने हैन, क्वालिटीयुक्त, योग्य र कामयावी स्याना छरिता समितिहरु बनाउनु पर्दछ।

() स्टेट च्याप्टरः  स्टेट च्याप्टरहरुको चुनाव गर्ने नैं हैन, बन्द गर्नु पर्छ यो समाज विभाजित गर्ने बेतुकको खेल। स्टेट च्याप्टर बनाउने उद्देश्य भनेको उक्त क्षेत्रका सबै सामाजिक संघ संगठनहरु र सामाजिक ब्यक्तित्वहरुलाई समन्वय गर्ने, तिनका काम कार्वाहीहरुमा सहयोग पुर्‍याउने र समस्याहरु भए समाधान गर्ने अनि एनआरएनएका सदस्यता लगायतका कार्यक्रमहरुलाई तल जनस्तर सम्म लागु गर्ने हुन्।

यसका लागि केन्द्रीय समितिका सम्वन्धित क्षेत्रका मानिसहरु र अन्य अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरु राखेर एउटा निश्चित विधि पूर्वक गठन गर्ने हो राज्य च्याप्टर।

(ड.) केन्द्रीय समिति या एनसिसिको चुनाव अधिवेशन प्रतिनिधिहरुबाट हुनेछ प्रत्यक्ष भेलामा। प्रतिनिधिहरु तोकिएको कोटामा स्थानीय रुपमैं प्रजातान्त्रिक ढंगले या चुनाव गरेर छानिएर आउने छन् र केन्द्रीय समिति या एनसिसिका पदाधिकारीहरु स्वत प्रतिनिधि हुनेछन्।

निश्कर्षः

एनआरएनएलाई कुनै स्वार्थी गुटको इगोको लडाई गर्ने थलो बनाईरहन अव दिनु हुन्न। यसको लागि हामी सचेत समुदायले अव त केही पहल गर्नै पर्ने भएको छ। सिधा औंलाले घिउ नआउने भए पछि सधैंभरी रमिते बनेर बस्नु भन्दा सामुहिक पहलबाट निर्णायक परिवर्तन ल्याउन सकिन्छ भन्ने दृढ बिश्वस्त हुँदै अगाडि आउन म सबैलाई आग्रह गर्न चाहन्छु।

यदि अझैै पनि यो फोहरी खेलमा सामेल भएर केही राम्रो गर्न सकिन्छ भन्ने भ्रममा हुनु हुन्छ भने पनि भ्रम मुक्त हुनुहोस्। नेपालको कांग्रेस कम्निष्टको झगडा प्रवाशमा ल्याउने संस्था त हुनु भन्दा नहुनु नै अति उत्तम हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *