पत्रकार दानिश सिद्दीकी दोहोरो भिडन्तमा मारिएका थिएनन्, तालिबानले समातेर मारेका थिए

डिसी नेपाल
१५ साउन २०७८ ११:०२

काठमाडौं। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समा कार्यरत पुलित्जर पुरस्कार विजेता फोटो पत्रकार दानिश सिद्दीकी अफगानी सेना र तालिबानको दोहोरो भिडन्तमा मारिएको दावी गरिए पनि वास्तवमा उनी क्रसफायरमा मारिएका थिएनन् । उनलाई तालिबानीहरुले जीवितै समातेका थिए र पछि उनको पहिचान खुलेपछि उनको हत्या गरिएको थियो । पत्रकार सिद्दीकी मारिएको विषयमा तालिबानले माफी माग्न समेत अस्वीकार गरिसकेको छ । पत्रकार सिद्दीकीको १६ जुलाइमा मृत्यु भएको थियो ।

अमेरिकाको प्रतिष्ठित म्यागजिन वाशिङटन एग्जामिनरका अनुसार घटनाको समयमा दानिश अफगान नेशनल आर्मीको एक टिमको साथमा स्पिन बोल्डक क्षेत्रमा गएका थिए । यहाँ तालिबान र अफगान सेनाको संघर्ष चलिरहेको छ । यहाँ तालिबानले आक्रमण गरेर अफगानी सेनाको टोलीलाई दुई भागमा विभाजित गरिदिए । दानिश, एक अफगानी कमाण्डर र ३ सैनिक बाँकी टिमबाट छुट्टिए । यो आक्रमणमा दानिशलाई पनि गोलीका छर्रा लागेका थिए ।

टिमबाट छुट्टिएका उनीहरु एउटा मस्जिदमा गए । त्यहाँ दानिशको प्राथमिक उपचार पनि गरियो । तर, यही बेला एक पत्रकार मस्जिदमा भएको खबर फैलिएपछि तालिबानीहरु त्यहाँ पुगे । जाँचमा तालिबानीले दानिशकै कारण मस्जिदमा आक्रमण गरेको खुलासा भएको छ । म्यागजिनको दावीअनुसार तालिबानीले दानिशलाई जिउँदै समातेका थिए । तालिबानीले पहिले दानिशको पहिचान पुष्टि गरे र उनीसहित उनको साथमा भएका सैनिकलाई मारे ।

यो समाचार लेख्ने पत्रकार माइकल रुबिनका अनुसार दानिशको सर्कुलेट गरिएको फोटोमा उनको अनुहार पहिचान गर्न सकिन्छ । माइकल अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका सिनियर फेलो पनि हुन् । उनले भारत सरकारको सूत्रबाट प्राप्त एक फोटो र भिडियो पनि हेरेका छन् । भिडियो र फोटोमा तालिबानीले दानिशको टाउकोमा कैयौं प्रहार गरेको र गोली हानेर मारेको थाहा हुन्छ । रिपोर्टका अनुसार दानिश निकै जोखिमपूर्ण काम गरिरहेका थिए । अफगान सेनाले उनलाई स्पिन बोल्डक क्षेत्रमा युद्ध कभर गर्ने अनुमति दियो किनकि अफगान सेनालाई आफूले जित्ने विश्वास थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *