मोहेन्जोदारोकी समरीन सोलंगी, जसले माटोलाई पनि सुन बनाइदिन्छिन्

डिसी नेपाल
१६ साउन २०७८ १५:४६

इस्लामाबाद (बीबीसी)। जब समरिन सोलंगीको जन्म भयो उनकी हजुरआमाले भनेकी थिइन् ‘यो सुनको औंला भएकी केटी हो ।’ र, जब समरीनले माटोमा आफ्नो हात हालिन्, अनि सााच्चै त्यसलाई सुन बनाइदिइन् । समरीन सोलंगी मोहेन्जोदारो नजिकै भएको एक गाउँ हाजी लाल बख्श शेखमा बस्छिन् । उनी चिल्लो माटोबाट मोहेन्जोदारोको उत्खननमा भेटिएका मूर्तिहरु र मोहरहरुको शैलीमा चीजहरु बनाउँछिन् ।

२० वर्षीय समरीन सोलंगीका काका, पिता पनि मोहेन्जोदारोमा भेटिएका पुजारीहरु, नर्तकीहरु, मोहरहरु र हात्तीहरुको शैलीमा कलाकृति बनाउँथे । उनीहरुले यो काम आफ्ना पिताबाट सिकेका थिए जसले पुरातत्व विभागमा काम गर्थे । समरीनका अनुसार उनलाई बाल्यकालदेखि नै माटाका चीजहरु बनाउने सोख थियो त्यसैले उनी स्कुल गइनन् र यो काम सुरु गरिन् । अब उनी सबथोक बनाउँछिन् ।

हाजी लाल बख्श शेख गाउँ सिन्धु नदी नजिकै छ जहाँबाट उनी माटो ल्याउँछिन् । माटोलाई पहिले सुकाइन्छ त्यसपछि कुटेर मसिनो पारिन्छ । सबैभन्दा मसिनो माटोलाई मैदा भनिन्छ । समरीनका अनुसार मैदा निकालेपछि बाँकी माटोमा पानी हालेर त्यसलाई मुछिन्छ । उनीसँग पुजारी वा किंग प्रिस्टको साँचो छ । तर, बाँकी कुराहरु हातबाट बनाइन्छ । जसलाई बनाएर सुकाउन राखिन्छ । यी चीजहरु गर्मीमा एकदेखि डेढ दिनमा र जाडोमा २ देखि ३ दिनमा सुक्छन् ।

माटोबाट गहना बनाउने र लगाउने परम्परा त मोहेन्जोदारोदेखि लिएर शताब्दीऔं पुरानो थियो तर हालै यो एकपटक फेरि फेशनमा आएको छ । यी गहना अब भारत र पाकिस्तानसहित कैयौं देशमा बनाइन्छ । समरीन सोलंगीका अनुसार सिंध रोल सपोर्ट अर्गनाइजेसन नामको एक गैर सरकारी संगठनले उनलाई गहना बनाउने प्रशिक्षण दिएको छ । उनका अनुसार ३ दिनको प्रशिक्षणमा उनको साथमा १० जना केटीहरु थिए र उनीहरुले प्रशिक्षणको क्रममा सिमाइएका कुराहरु आफ्नो दिमागमा त्यसरी नै पकाएका छन् जसरी माटो पकाइन्छ ।

अब उनी माटोबाट कानका बाली, झुम्का र अन्य गहना बनाउँछिन् । यी गहना बनाउनको लागि उनीसँग कुनै विशेषउपकरण छैन । उनीसँग केवल एक भाँचिएको छुरी, बल प्वाइन्ट केस र एक बक्स छ जसबाट गोलाइ आदि काम गर्छिन् । र, यो पूरा कमाल कुनै स्टुडियो वा कारखानामा होइन उनको कच्ची घर र आँगनमा हुन्छ ।

उनी भन्छिन् ‘पहिले म झुम्काको घुँघरु र माथिको चक्की बनाउँछु । त्यसपछि तलको कप्पी बनाएर कलमले त्यसको डिजाइन बनाउँछु । यी दुई भागलाई जोडेर सुक्नको लागि छोडिदिन्छु । त्यसपछि गोबलका उपला बालेर यसलाई पकाउँछु र बिहानसम्म यी तयार हुन्छन् ।’ माटोका यी गहनामा हरेक किसिमका रंगको प्रयोग गरिन्छ । तर, झुम्काहरुमा खासगरी चाँदी र सुनको रंग धेरै मन पराइन्छ । समरीनका अनुसार यसमा सुनौलो रंग लगाएपछि रातो र हरियो रंग भरिन्छ जसबाट यिनीहरु आकर्षक देखिन्छन् ।

समरीनको घरको रोजगारी मोहेन्जोदारो आउने पर्यटकहरुमा निर्भर थियो जो कोरोनाका कारण प्रभावित भएको छ । उनका अनुसार पर्यटक गर्मीमा कम र जाडोमा धेरै आउँथे । तर, कोरोनाका कारण यहाँ पर्यटक आउन बन्द भएको छ । यसका कारण उनले बनाएका मूर्ति र मोहरहरु बिक्न छाडेका थिए । सक्खरकी एक छात्रा अक्सा शोरोले समरीनलाई सहयोग गरिन् र उनलाई सामाजिक संजालसँग परिचित गराइन् । जसबाट समरीनको यो सीप लोकप्रिय भयो र अब उनले माटोका गहनाको अर्डर पाइरहेकी छिन् ।

समरीन सोलंगीका पिताको कला उनका पूर्वजहरुको विरासत हो । उनका ६ दिदीबहिनी छन् तर दाजुभाइ छैनन् । ‘दाजुभाइको कमी त हुन्छ नै, दाजुभाइ त दाजुभाइ नै हुन्छन् तर हामी सोच्छौं कि हामी बाबाको लागि छोरा हौं र हामी छोराले गर्ने नै काम गर्छौं । बाबालाई कहिल्यै छोराको कमी हुन दिएनौं, छोरा त छोरा नै हुन्छ । यदि छोरीहरुलाई पनि यही नजरले हेर्ने हो भने छोरी पनि छोरा नै हुन्छन् ।’ समरीनका पिताको स्वास्थ्य ठिक रहँदैन । उनी काम गर्दैनन् तर यो काममा आफ्ना छोरीहरुलाई सघाउँछन् । समरीन र उनका दिदीबहिनी उनको हेरचाह गर्छन् ।

उनी बिहान छिटो उठ्छिन् र माटोबाट कहिले मूर्तिहरु, मोहर र कहिले आभूषण बनाउँछिन् । एउटा झुम्का बनाउन एक घण्टा लाग्छ । रंग लगाएर पूर्णता दिएपछि एउटा झुम्काको मूल्य ३ सय रुपैयाँ पर्छ । समरीन भन्छिन् ‘जो आम्दानी हुन्छ त्यसबाट केवल गुजारा हुन्छ किनकि राशनका अलावा रंग र अन्य सामानका साथै प्याकिङको पनि खर्च हुन्छ ।’

बीबीसीका पत्रकार रियाज सुहैलले समरीनसँग उनको सपना के हो भनेर सोध्दा उनले आफ्नो बानीअनुसार मुस्कुराउँदै भनिन् ‘मेरो त कुनै इच्छा छैन ।’ पत्रकारले उनीसँग फेरि सोधे कि केही त होला । त्यसपछि उनी एक पटक फेरि मुस्कुराइन् र भनिन् उनी आफ्नो परिवार र दिदीबहिनीलाई खुसी देख्न चाहन्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *