कान्दाहार विमानस्थलमा रकेट आक्रमण, सबै उडान रद्द

डिसी नेपाल
१७ साउन २०७८ ११:१३

काठमाडौं। अफगानिस्तानको कान्दाहार विमानस्थलमा रकेट आक्रमण भएपछि सबै उडान रद्द गरिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विमानस्थलमा तालिबानले ३ वटा रकेट आक्रमण गरेका हुन् । अफगानिस्तानबाट अमेरिकी सेना फर्किएसँगै अफगानी सेना र तालिबानबीच संघर्ष जारी छ । पछिल्ला केही दिनयता तालिबानले आक्रमणको क्रम बढाएका छन् । तालिबान अब कन्दाहारमा कब्जा गर्ने कोसिसमा छन् । यो सहर धेरै हदसम्म अफगानी सेनाको नियन्त्रणमा छ ।

विमानस्थलका प्रमुख मसुद पश्तुनले एएफपीलाई बताएअनुसार दक्षिणी अफगानिस्तानको कान्दाहार विमानस्थलमा कम्तीमा ३ रकेट प्रहार गरिएको छ जसका कारण सबै उडान रद्द गरिएका छन् । कान्दाहार अफगानिस्तानका महत्वपूर्ण सहरहरुमध्येको एक हो । अहिलेसम्म अफगान सेनाको नियन्त्रणमा रहेको यो सहरमा तालिबानले कब्जा गर्ने कोसिस गरिरहेको छ । तालिबानको लगातार आक्रमणका कारण यहाँका जनता भागेर शरणार्थी क्याम्पमा बस्न बाध्य भएका छन् । सरकारले कान्दाहारमा एउटा शरणार्थी शिविर बनाएको छ ।

अप्रिल २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म अफगानिस्तानबाट अमेरिकी सेना फर्किने घोषणा गरेका थिए । त्यसलगत्तै तालिबान सक्रिय भएको छ । यस क्रममा अफगानी सेना पछि हट्दै गएको छ र तालिबानले देशमा नियन्त्रण गर्दै गएको छ । तालिबानले अहिलेसम्म देशको ८५ प्रतिशत भागमा कब्जा गरेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *