इजरायल रोजगारीको लागि भरेको फारम दर्ता भए/नभएको चेक गर्न आग्रह

डिसी नेपाल
१९ साउन २०७८ १८:३०

काठमाडौं । एक हजार नेपाली युवालाई इजरायल रोजगारीमा पठाउन खोलिएको अनलाइन फारममा आएको समस्या समाधान भई सुचारु भएको छ । यही साउन १२ गतेदेखि खोलिएको उक्त अनलाइन फारम भर्न हिजो(साउन १८)गतेदेखि समस्या भएको थियो ।

वैदेशिक रोजगार विभागले उक्त समस्या आज(मंगलबार) केही क्षण अघिदेखि सुचारु भएको सूचनामार्फत जानकारी गराएको छ । विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्र(एनआईटीसी) अन्तर्गत ‘जीआईडीसी’मा भएको पावर फेलियरका कारण अनलाइन फारम भर्ने प्रणाली (ferms.dofe.gov.np) सर्भरमा समस्या आएको जनाएको थियो । उक्त सर्भर मर्मतपश्चात सुचारु भएको हो ।

तर, विभागले सर्भरमा समस्या आउनुभन्दा अघिसम्म दर्ता भएका विवरण प्राविधिक कारणवश रिकभर गर्न नसकिएकोले निवेदकहरुले प्रणालीमा आफ्नो राहदानी नम्बर प्रयोग गरी आफ्नो विवरणहरु रुजु गर्न तथा नभेटिएको खण्डमा पुनःनयाँ दर्ता गर्न अनुरोध गरेको छ । साथै, नयाँ दर्ता गर्दा प्राप्त हुने रजिष्ट्रेशन नम्बर नै निवेदकको रजिष्ट्रेशन नम्बर कायम हुने जनाइएको छ ।

सरकारले इजरायल रोजगारीका लागि ७ सय महिला र ३ सय पुरुष गरी १ हजार जना नेपाली कामदार इजरायल पठाउन अनलाइन आवेदन माग गरेको छ । उक्त आवेदन कुनै पनि म्यानपावर कम्पनी वा प्राइभेट सेक्टरबाट नभई सरकारी संयन्त्रमार्फत अर्थात् सरकारी तबरबाट जान पाउने गरी खुलाइएको हो । जुन, आवेदन माग नेपाल सरकार र इजरायल सरकारको सम्झौता भए अनुसार गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *