अफगानिस्तानबाट जस्तै भियतनाम, क्युबा र सोमालियाबाट पनि भागेको थियो अमेरिका

डिसी नेपाल
१ भदौ २०७८ १३:४६
18.0k
Shares

काठमाडौं। ‘तपाई या त हाम्रो पक्षमा हुनुहुन्छ या विपक्षमा ।’ २००१ को सेप्टेम्बर ११ को दिन अमेरिकामा भीषण आतंकवादी आक्रमण भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले २१ सेप्टेम्बरका दिन यो बयान दिएका थिए । त्यसको ठिक १५ दिनमा अमेरिकी विकानले अफगानिस्तानमा बम बर्साउन सुरु गरे । आज २० वर्षपछि त्यही अमेरिका अफगानिस्तान छाडेर भागेको छ । काबुलसहित पूरै अफगानिस्तान फेरि त्यही तालिबानको नियन्त्रणमा छ जुन तालिबानसँग अमेरिकाले वार अन टेरर अर्थात आतंकविरुद्ध युद्ध सुरु गरेको थियो ।

अमेरिकाको अफगानिस्तानबाट बाहिरिने निर्णयले सर्वसाधारण अफगानी जनता यतिसम्म आत्तिएका छन् कि उनीहरु आफ्नै देशबाट बाहिर भाग्नको लागि उडिरहेको हवाइजहाजमा झुण्डिन र त्यहाँबाट खसेर ज्यान गुमाउन पनि पछि परेनन् । तर, अमेरिकाले फैलाएको यस्तो भागाभाग न यो पहिलो पटक हो न अफगानिस्तान यसको शिकार हुने पहिलो देश हो । दोस्रो विश्वयुद्धपछि अमेरिका कम्तीमा ४ पटक अमेरिका यस्तै ठूलो डरमा स्थानीयलाई छाडेर भागेको छ ।

१. भियतनाम

अमेरिका अचानक बीचैमा पछि हटेका घटनाहरुमध्ये सबैभन्दा चर्चित भियतनामको घटना हो । अफगानिस्तानमा भन्दा ५ गुणा धेरै सैनिक पठाएर १९ वर्षसम्म भीषण बमबारी गरेको अमेरिकाले उत्तरी भियतनामका कम्युनिस्टलाई झुकाउन सकेन । घरेलु दबाबका बीच सन् १९६९ मा राष्ट्रपति बनेका रिचर्ड निक्सनले भियतनामबाट बाहिर निस्किने सोच बनाए । जनवरी १९७३ मा पेरिसमा उत्तरी भियतनाम, दक्षिणी भियतनाम र भियत्कंगबीच शान्ति सम्झौता भयो ।

खासमा यो सम्झौताको आडमा अमेरिका भियतनामबाट आफ्नो सेना हटाउन चाहन्थ्यो । त्यसपछि भियतनाममा पनि त्यही भयो जे आज अफगानिस्तानमा भइरहेको छ । अमेरिकी सेना पूर्ण रुपमा निस्किनुभन्दा पहिल्यै २९ मार्च १९७३ मा उत्तरी भियतनामले दक्षिणी भियतनाममाथि आक्रमण गर्यो । २ वर्षपछि ३० अप्रिल १९७५ मा कम्युनिस्ट भियतनामको फौज साइगनमा प्रवेश गर्यो र त्यहाँ बाँकी भएका अमेरिकीहरु तत्काल भाग्नुपर्यो । साइगनलाई अहिले एकीकृत भियतनामको राजधानी हो चि मिन्हको नामले चिनिन्छ । हो चि मिन्ह कम्युनिस्ट भियतनामको सबैभन्दा ठूला नेता थिए ।

भियतनाम युद्धको सुरुवात १९५५ मा भएको मानिन्छ । १९५४ मा जेनेभा सम्झौता अनुसार उत्तरी र दक्षिणी भियतनामको स्थापना भएको थियो । त्यहाँ एकीकृत भियतनामको लागि २ वर्षमा चुनाब हुनुपर्ने थियो तर कहिल्यै हुन सकेन । कम्युनिस्ट उत्तरी भियतनामको नेतृत्व हो चि मिन्हले गरिरहेका थिए भने दक्षिणी भियतनामको नेतृत्व क्याथोलिक राष्ट्रवादी नगो दीन्ह दीमसँग थियो । १९५५ मा उत्तरी भियतनामले दक्षिणी भियतनामविरुद्ध सैन्य शक्ति जम्मा गर्न थालेपछि अमेरिकाले कम्युनिस्टलाई फैलिनबाट रोक्न सेना पठाउन थाल्यो । १९६७ सम्म भियतनाममा अमेरिकी सेनाको संख्या ५ लाखसम्म पुगेको थियो ।

२. क्युबा

जनवरी १९५९ मा कम्युनिस्ट क्रान्तिकारी फिडेल क्यास्ट्रोले क्युबाका तानाशाह फुलगेन्सियो बतिस्तालाई सत्ताबाट हटाए । नयाँ कम्युनिस्ट सरकारले क्युबामा निजी सम्पत्ति कब्जा गर्न सुरु गर्यो । यसरी सम्पत्ति जफत हुनेमा धेरैजसो उत्तरी अमेरिकी थिए । क्यास्ट्रोले ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रान्तिलाई फैलाउन सुरु गरे । उनी खुलेर अमेरिकाविरुद्ध पनि बोल्न थाले । यस्तो अवस्थामा जनवरी १९६१ मा अमेरिकाले क्युबासँग कूटनैतिक सम्बन्ध तोड्यो ।

यसअघि नै अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले क्यास्टेलाई सत्ताबाट हटाउनको लागि क्युबाबाट भागेका मानिसहरुलाई सैन्य प्रशिक्षण र हतियार दिनको लागि आफ्नो जासुसी संस्था सीआइएलाई अनुमति दिइसकेका थिए । १५ अप्रिल १९६१ मा अमेरिकाका ३ विमानले क्युबाको एयरबेसमा बम खसाले । यी विमानलाई क्युबाली पाइलटले उडाइरहेका थिए । १७ अप्रिल १९६१ मा अमेरिकाले दिएको हतियार र प्रशिक्षणको बलमा आवश्यक परे अमेरिकाले हवाइ सहयोग समेत गर्ने बचन दिएपछि १२ सयभन्दा धेरै क्युबाली लडाकुले क्युबाको पिग्सको खाडीबाट क्युबामाथि आक्रमण सुरु गरे ।

क्यास्ट्रोले यो आक्रमणको जानकारी पहिले नै पाइसकेका थिए । त्यसपछि क्युबाको वायुसेनाले ती आक्रमणकारीका धेरैजसो डुंगाहरु डुबाइदियो । आइजनहावरपछि राष्ट्रपति बनेका जोन एफ केनेडीले पहिले वचन दिएजस्तै ती लडाकुलाई हवाइ सहयोग दिन अन्तिम समयमा अस्वीकार गरे । केनेडी पछि हटेपछि केही घण्टामै १०० भन्दा धेरै लडाकु मारिए । ११ सय लडाकुलाई क्युबाले पक्राउ गर्यो ।

यो घटनापछि सोभियत संघले क्युबामा परमाणु मिसाइल तैनाथ गरिदियो । यसको पत्तो पाउनेबित्तिकै अमेरिकी नौसेनाले क्युबालाई घेराबन्दी गर्यो । अमेरिकाले क्युबालाई सोभियत मिसाइल नहटाए परमाणु युद्ध गर्ने धम्की दियो । दुवै देश परमाणु युद्धको संघारमा आइपुगे । ठिक समयमा सोभियत संघ मिसाइल हटाउन तयार भयो र संकट टर्यो । यसलाई क्युबन मिसाइल संकट भनिन्छ ।

३. सोमालिया

जनवरी १९९१ मा अफ्रिकी देश सोमालियामा कैयौं विरोधी कबिलाका मिलिशिया अर्थात सशस्त्र गुटले राष्ट्रपति मोहम्मद सियाद बरेलाई सत्ताबाट हटाए । सोमालियाको राष्ट्रिय सेनाका सैनिक आ–आफ्नो कबिलाको गुटमा सहभागी भए । पूरै सोमालियामा सत्ता हात पार्न गृहयुद्ध सुरु भयो । राजधानी मोगादिशुमा मुख्य विद्रोही गुट युनाइटेड सोमालिया कांग्रेस पनि २ गुटमा विभाजित भयो । यीमध्ये एक गुटका प्रमुख अली मेहदी मुहम्मद राष्ट्रपति बने । अर्को गुटलाई मोहम्मद फराह अदीदीले चलाइरहेका थिए ।

मानवीय संकट बढेपछि संयुक्त राष्ट्रसंघ अन्तर्गत युनाइटेड नेशन्स अपरेशन इन सोमालिया २ अन्तर्गत सर्वसाधारणलाई खानपिन र स्वासथ्य सहयोग गर्न सुरु गरियो । तर, अदीदीको गुटले यसमा अवरोध गरिरहेको थियो । त्यसपछि अमेरिकाले ३ अक्टोबरमा मोगादिशुको एक घरबाट अदीदीका २ नजिकका सहयोगीलाई पक्राउ गर्न सेनाको टास्क फोर्स पठायो । यो मिशन अमेरिकालाई नै भारी पर्यो किनकि मिशनको क्रममा विद्रोहीहरुले अमेरिकी सेनाका २ ब्ल्याक हक हेलिकप्टर खसालिदिए ।

अभियानका क्रममा १९ अमेरिकी सैनिक मारिए र ७३ सैनिक घाइते भए । एक जना सैनिकलाई विद्रोहीहरुले समाते । ती सैनिकलाई ११ दिनपछि निकै मुस्किलले छुटाइयो । मारिएका अमेरिकी सैनिक र पाइलटको शवलाई विद्रोहीहरुको भीडले सडकमा घिसारे । यी सबै क्रुर दृश्यहरुको रेकर्डिङको प्रसारण अमेरिकी टेलिभिजनमा भयो । पूरै रात लडाइँ चलेपछि बिहान संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत त्यहाँ तैनाथ पाकिस्तानी सेनाले अमेरिकी सेनालाई त्यहाँबाट बाहिर निकाले ।

त्यसलगत्तै अमेरिका सोमालियामा मानवीय सहयोगको पूरै मिशनबाट पछि हट्यो । उसले आफ्ना सबै सैनिक फिर्ता बोलायो । अमेरिकाले राष्ट्रसंघीय मिशनबाट सेना फिर्ता बोलाएपछि संयुक्त राष्ट्रसंघको मानवीय सहायता मिशनले धेरै हदसमम सर्वसाधारणलाई राहत पुर्याउन सकेन । अल कायदाका प्रमुख ओसामा बिन लादेनले पनि अमेरिका भागेकोमा खिल्ली उडाउँदै अमेरिकी सेनालाई डरपोक भनेका थिए । त्यसपछि १९९४ मा रुवाण्डामा भएको नरसंहारमा पनि अमेरिका चुप रह्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *