तालिबानका रहस्यमयी प्रवक्ता अन्ततः सार्वजनिक भए

डिसी नेपाल
३ भदौ २०७८ ७:१९
1.5k
Shares

बीबीसी। अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि तालिबानले बुधवार पहिलो पत्रकार सम्मेलन गर्दा प्रवक्ता जबिहुल्लाह मुजाहिदले सबैभन्दा धेरे बोले। सो ऐतिहासिक पत्रकार सम्मेलनमा उनले धेरै पत्रकारका प्रश्नको जवाफ दिए र शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको बताए।

यो हेरिरहेका धेरै पत्रकारका लागि अर्को एउटा कुरा पनि महत्त्वपूर्ण थियो: उनीहरूले मुजाहिदको अनुहार पहिलो पटक देखिरहेका थिए। वर्षौँदेखि मुजाहिदले छायामा रहेर काम गरे र उनी फोनको अर्को तर्फको आवाज मात्रै थिए।

बीबीसीकी याल्दा हकिमले एक दशकभन्दा लामो समयदेखि बोलिरहेका मुजाहिदले पहिलो प्रश्न नै महिला पत्रकारको लिँदा आफू छक्क परेको बताइन्। तालिबान प्रवक्ताले आफूहरूले भित्र वा बाहिर शत्रु नचाहेको बताउँदै मेलमिलापको कुरा गरे। तर हकिमले त्यो आवाज आफूले मुजाहिदबाट वर्षौँदेखि पाइरहेको सन्देशभन्दा निकै फरक रहेको बताइन्।

“उनका केही सन्देशहरू चरम हुन्थे। कुनै पढ्दा लाग्थ्यो: ‘यो मानिस अमेरिकीको वा अफगान सरकारमा रहेको सबैको रगत पिउन चाहन्छ।’ तर आज उनी त्यहाँ बस्छन् र भन्छन्: कसैलाई पनि बदला लिइने छैन।” “वर्षौँसम्म उनले रक्त पिपासु विज्ञप्ति पठाए अनि अहिले अचानक शान्तिप्रिय भए? यो कुरा बुझ्न गाह्रो छ।”

जुन कुर्सीमा बसेर मुजाहिदले बोले त्यो कुर्सीमा केही समय अगाडिसम्म दावा खान मेनापल बस्थे। मेनापल अफगानिस्तानको मिडिया केन्द्रका प्रमुख थिए जो यो महिनाको सुरुमा तालिबानद्वारा मारिए। त्यो बेला मुजाहिदले हत्याको जिम्मेवारी लिँदै मेनापल “विशेष आक्रमणमा मारिएका” बताएका थिए।

अन्य पत्रकारले पनि मुजाहिदको बारेमा ट्वीट गरे। बीबीसीका पत्रकार जोन सिम्पसनले उनलाई “तुलनात्मक रूपमा शान्त व्यक्ति” भने। सिम्पसनले लेखे: “तर उनले विश्वको डरलाई शान्त पार्न खोजिरहेका थिए र उनले तालिबान अभियानको एक पक्ष मात्रै बोले।”

न्यूयोर्क टाइम्सका पत्रकार शारिफ हसनले ट्वीटमा लेखे: “मैले उनीसँग धेरै पटक फोनमा कुरा गरेको छु र एसएमएस गरेको छु। तर मैले उनको अनुहार देखेको यो पहिलो पटक हो।”

वर्षौँसम्म अनुहार नदेखिएका प्रवक्ता एक व्यक्ति हुन् कि धेरै जना भन्ने अनुमान गरिन्थ्यो। बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिस डुसेटले सामाजिक सञ्जाल व्यापक हुनु अगाडिदेखि उनीसँग टेलिफोनमा कुरा गर्नुपर्ने बेलामै उठेको बताइन्। केही व्यक्तिले बुधवार देखिएका प्रवक्ता त्यति लामो समयदेखि कुरा गरिरहेका हिसाबले कम उमेरका देखिएको बताएका छन्।

“वर्षौँसम्म यो नामै नक्कली नाम भएको र पालैपालो बोल्ने थुप्रै जबिहुल्लाहहरू भएको अनुमान थियो। अहिले हामी सबैले यी व्यक्तिलाई नै जबिहुल्लाह मुजाहिद हो भन्ने मानेका छौँ। तर उनी नहुन पनि सक्छन्?” डुसेटले भनिन्। हकिमले यो रहस्य राख्ने काम तालिबानले गर्ने गरेको बताइन्।

“तालिबान यही हुन्। उनीहरू सङ्गठित छन् र कुनै पनि कुरा अचानक हुँदैन। एक व्यक्तिका बारेमा रहस्य बनाउने र अचानक उसलाई क्यामराअगाडि ल्याउने – योभन्दा राम्रो कथा बन्नै सक्दैन।”

तर जे भए पनि उनको शब्दले आफूलाई चिन्तित तुल्याएको हकिम बताउँछिन्। “शरिया कानुनको कुरो – त्यसले मलाई त्रसित बनायो,” उनले भनिन्। “उनीहरूले अहिलेसम्म त्यो कस्तो हुन्छ भनेका छैनन्।”

“तालिबानको गुण नै यही हो: उनीहरू भ्रामक कुरा गर्छन्, उनीहरू मोहक देखिन्छन्, उनीहरूलाई कसरी सही शब्द प्रयोग गर्ने थाहा छ तर उनीहरूलाई विश्वास गर्ने कि नगर्ने भन्ने कुरामा कहिल्यै स्पष्ट हुन सकिन्न,” उनी भन्छिन्। “धेरै कुरा रहस्यमयी छ … तर के हामी साँच्चै जान्दछौँ उनीहरू को हुन्?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *