व्यग्य : खाइयो बाक्लो दाल

डिसी नेपाल
६ भदौ २०७८ ७:५९

देशमा प्रजातन्त्रकोे पुनर्बहाली भएपछि नेताभन्दा दलहरु बढी भएको महसुस गरेर जनता वाक्क भएकि क्या हो भन्ने लागेर र यसलाई अरु बढाउन हुँदैन भन्ने चेतना जागेर नेताहरुले दलहरुलाई धेरै टुक्रामा टुक्रिनबाट जोगाउन संविधानमै चालिस प्रतिशतको ब्यबस्था गरेका रहेछन्।

यसबाट अब नेताहरुका साना साना स्वार्थमा दलहरु नटुक्रनेमा ढुक्क भएर हामीले ठूलो सुधार ल्याएको हुनाले दल टुक्र्याएर स्वार्थ पूरा गर्न खोज्नेहरुको लागि कुनै दुलो बाँकी नरहेको र कसैले गर्न खोजेमा त्यस्ताहरु आफै धुलो हुने गफ निकै सुनिएको थियो।

यसरी निहुँ खोजेर पाइला पाइलामा हलो अड्काउने र आफूसित भएको सानो झुण्डको समर्थन नदिने डर देखाएर चाहेको पद पड्काउने अनि केही भन्यो कि दल फुटाएर अन्त जोडिन्छु वा नयाँ दल खोलेर अध्यक्ष हुनेतिर मोडिन्छु भन्ने धम्कीले सबैलाई हैरान पारेको हुनाले चालिस प्रतिशतको तरिकाले यसमा सुधार आएको र यसबाट सबै दलहरुले राहत पाएको सबैको अनुभव थियो।

यो संवैधानिक ब्यबस्थाले सबैभन्दा पहिला बालकोटे कामरेडको सरकारलाई नै अप्ठ्यारो पर्यो र उसैले संसद छलेर आफूलाई सजिलो हुने प्रतिशत अनुसार दल टुक्याएर हिँड्न मिल्ने अध्यादेशको लागि पहल गर्‍याे। झण्डै दुइतिहाइको सरकारलाई नै काम गर्न अप्ठ्यारो परेको महसुस भएपछि राष्ट्र प्रधानलेपनि यसलाई अबिलम्ब सदर गरेको हो रे भन्ने सुनियो।

यसको लागि संख्या जुटाउन र मधेशवादी दललाई टुक्राटुक्रा हुनेगरि फुटाउन बालकोटे कामरेडका ताबेदार र मन्त्री पदका सशक्त दाबेदार रहेका माननीयहरुको साथै प्रहरिका एकजना पूर्व महानिरीक्षकले अख्तियारको आयुक्त पड्काउने शर्तमा संसद अपहरणको सारै राम्रो र अनुकरणीय कार्यपनि सम्पन्न गरे। पछि कताकता केकेमा कुरा मिलेर यो अपहरण होइन माननीय आफैं आएका र जता भएपनि एउटा मन्त्रीसम्म खान धाएका भन्ने हल्ला पछि भासभुस भयो।

हाल सरकार हाँकिरहेका गठबन्धनका नेताहरुले यसको घोर बिरोध चर्काए र बालकोटे कामरेडलाई यो निर्णय फिर्ता लिन निकै थर्काए अनि बालकोटेलेपनि यसलाई लागू नहुने गरि फर्काए। यसबाट हाल गठबन्धनमा रहेका सबैले आफ्नो ठूलो जित भएकोले यसले सबैदलहरुको ठूलो हित गर्ने र यो रित कसैलेपनि नदोहोर्याउने गरि सबैसित मित लगाएको भनेर गफ छाँटेका गठबन्धनवालाले पनि त्यही गरेको देखेर बालकोटे चाहिँ चित परे भन्ने सुनिन्छ।

आफूले खनेको खाल्डोमा आफैं परे भनेर बिरोधीले भनेको,यो योजना उनकै दल फुटाउनको लागि बनेको र बिस प्रतिशत पुग्ने ब्यबस्थाको लागि पनि उनकै दलका बिरोधीहरुको टाउको गनेको भन्ने हल्ला अहिले सही नै हो कि जस्तो देखियो।

बाक्लो दाल खाँदै सरकारमा जाने र लोभ ठूलो देखाएपनि खुट्टा ज्यादै लुलो भएको अहिलेका सरकार प्रधानलाई थर्काउँदै छानीछानी मन्त्री पद खाने अनि हाकाहाकी खर्च उठाएर लाने दाउ भएकाले केही दिनपछि आफ्नो भाउ थाहा पाउँछन् भन्ने बालकोटे कामरेडको कटाक्ष कतिको सही हुन्छ भन्ने अहिले नै थाहा हुने कुरा आएन।

आफ्नो दल र अध्यक्षमाथि छल गरेर परचक्रिसित मिलेर ठूलो भागखाने भित्रि इच्छा जस्तो समस्याको हल निकाल्न बिधि पद्धती र इज्जत सम्मानको दुहाइ दिँदै र अरु दलका नेताहरुको सहारा लिँदै हिँडेका नेता कार्यकर्ताहरुको लागि यतिसम्मको अग्रगामी सोच राखेर मद्दत गर्नु ठूलो कुरा हो।

दालको बाक्लो चोक्टा जति आफू र आफ्नाको भागमा मात्रै हालेर पातलो झोलको घोल मात्रै हामीलाई दिएको हुनाले बालकोटेको हातमा भएको डाडु पन्यू सबै खोस्ने अनि उसैगरी आफू र आफ्नालाई दालको चोक्टा बाँडेर पोस्ने र दलमा भएगरेका सबै बेथितीहरु जति बालकोटेको कमजोरी हो भनेर झोस्ने पवित्र उद्देश्यको साथ बार्गेनिङ गर्दागर्दा केही नलागेपछि अध्यादेशको आडमा बाक्लो दाल खानु ज्यादै ठूलो जित र सही कदम हो भन्नेमा जनताकोपनि एकमत रहेको उहाँहरुको सोच ठिकै होला।

परमादेशबाट सरकारमा आएको र महिनौँसम्म केही नबोली चुपचापसित बसेर खाएको गठबन्धनको सरकारले पनि चलिरहेको संसदको अधिवेशन बन्द गरेको भोलिपल्टै दल फुटाउने अध्यादेश ल्याएर ठूलो काम देखाउँदै इतिहासमा राम्रोसित आफ्नो नाम लेखाउने सुबर्ण मौका छोपेको र पहिले पहिले सरकारको नेतृत्व गर्दाको जस्तै चिल्लो पातवाला बिरुवा रोपेकोमा जनता खुसी भएका छन्।

आफूले अत्यन्त उम्दा किसिमबाट सरकार चलाएको र जनताको लागि सुख र समृद्धि फलाएको गफ दिनदिनै ठूलोठूलो स्वरमा दिँदा दिँदै पनि अदालतको परमादेशले आफ्नो सरकार ढलाएको हुनाले हालसालै बालुवाटारबाट बालकोट पुगेका कामरेडले ल्याएका अध्यादेशको घोर बिरोध गर्नेहरुबाटै यो अध्यादेश आएको हुँदा यसलाई सबैले अपरिहार्य मानिदिन र यो बाहेक अर्को बिकल्प रहेनछ भनेर जानिदिन पर्छ।

सरकार प्रधानबाट राष्ट्र प्रधानकहाँ बिधेयक पुग्यो रे भन्ने सुन्नासाथ अबको एकदुइ घण्टामा कुनै टण्टा बिना पहिलेका सरकार प्रधानको पालामा जस्तै विधेयक पास भएको खबर सुन्न पाइन्छ भन्ने सोचेर दंग परेका जनता हिस्स परे।

पहिले ऐन नियम कानुन संविधान आदि हेर्दै नहेरी र सल्लाहकारहरुलाई टेर्दै नटेरी सरकार प्रधानबाहेक सबैलाई पूर्ण रुपमा अटेरी गरेर सिफारिश हातमा परेको एकैछिनमा सदर गर्दै सरकार प्रधानको कदर भइरहेको देखिएकोमा यसपाली अलि त्यस्तो भएनछ।

यसो हेर्दा ऐन कानुन र सल्लाहकारहरुको पनि काम हुँदो रहेछ र त्यस्ता जिनिसहरुको प्रयोग गरेरै काम फिनिस् गर्दा बिरोधीले हामीलाई बल्ल चिनिस् भनेर दागा धर्न अनि महाभियोगको हल्ला गर्न नसक्ने रहेछन् भन्नेपनि अहिले बुझिएको हो कि जस्तो देखेर बिरोधीहरु पनि सन्तुष्ट भएका छन् रे।

आफ्नो सम्पूर्ण सुख सुबिधा चोरी गरेको भन्दै बालकोटे कामरेडसित बर्षौँदखि जोरी खोजेर र वारपारकै बाटो रोजेर हरेक तहमा फाटो बढाउँदै यहाँसम्म आइपुगेका कोटेस्वरे कामरेडको साथै मन्त्री खाने चटारोले अर्को पक्षको झटारोबाट पार्टीको आधिकारिकता गुमाएका नक्कली नागरिकताधारी बरिष्ठ नेता सहितका मधेशवादी दलका नेताहरुको राजनैतिक उद्धारको लागि आएको अध्यादेशको चारैतिरबाट समर्थन भइरहेको बेलामा कसैलेपनि असहमती जनाइराख्न पर्ने खासै जरुरी छैन।

आफ्नो दल र अध्यक्षमाथि छल गरेर परचक्रिसित मिलेर ठूलो भागखाने भित्रि इच्छा जस्तो समस्याको हल निकाल्न बिधि पद्धती र इज्जत सम्मानको दुहाइ दिँदै र अरु दलका नेताहरुको सहारा लिँदै हिँडेका नेता कार्यकर्ताहरुको लागि यतिसम्मको अग्रगामी सोच राखेर मद्दत गर्नु ठूलो कुरा हो। संसदीय ब्यबस्थामा प्राडो पजेरो सुरा सुन्दरी जस्ता सबै किसिमका राम्रा राम्रा प्रयोगहरु गर्दै चर्चामा आएका व्यक्तित्वको पुन उदय भएपछि उनीसँगै प्रबृत्तिहरुको पनि पुन उदय नहुने कुरै आएन।

अध्यादेश सदर भएको केही घण्टा नबित्दै दलबलसहित नयाँ दल दर्ता गरेर बाक्लो दाल खान र दललाई अरुले सोचेभन्दा छिटो सरकारमा लान निर्बाचन आयोग पुगेका कोटेस्वरे कामरेडलाई उनकै सहयोगी चर्चित महिला नेतृले अन्तिम अवस्थामा दल दर्ता नगरी भाग्लान् कि भने जसरी पाखुरामा समातेर तान्दै लगेको देख्दा यी अध्यक्ष कामरेड केमा बगेको हो भन्ने ठम्याउन जनतालाई गाह्रो पर्‍याे भनेर हल्ला गर्नेहरुलाई राम्रै मसला उपलब्ध भएको देखियो।

दल दर्ता गर्न जाँदा त्यसमा नाम परेका र बालकोटेको बिरुद्धमा मरिमेटेर अघि सरेका मुख्यमुख्य हस्ती भनेर चर्चित नेताहरुको अनुहार नदेख्दा कुरो राम्ररी बुझिएन। अहिले त भटाभट नाम फिर्ता लिएर फटाफट पुरानै बाटोतिर लम्केको र उतै बस्दा आफ्नो भाग्य चम्केको ठान्नेहरुले अन्तिममा आएर कोटेश्वरेलाई धोका दिँदै अघिकै ढोका धाएर अलपत्र पार्ने हुन् कि भनेर चिन्ता गर्नेहरु पनि देखा परे रे भन्ने सुनियो।

बालकोटेको घोर बिरोधीमा नाम चलेकी कोटेश्वरे कामरेडको खम्बा भनेर चिनिएकी बरिष्ठ नेतृले बाक्लो दालको लोभ नगरिकन बागमती प्रदेशको मुख्य मन्त्री पदको सपथ ग्रहण गरेको कामलाई अन्तिममा आएर बचनबाट झरेको भनेर दोष लगाएपनि कआफ्नो पहिलेदेखिको इच्छा टरेको भनेर कोटेश्वरे र उनका टोली जतासुकै जाउन् र गठबन्धनको जुनसुकै पद खाउन् मतलब राखिनन् रे।

यसो हेर्दा कृषि प्रधानबाट देशलाई कुर्सी प्रधान घोषणा गर्न अब ढिला नगर्नु नै बेश हुन्छ भन्ने जनताको जोडदार भनाइ छ रे भन्ने घोइरो घोइरो सुनिन्छ। अहिले खाइपाइ आएको सांसद पद गएपनि नडराइकन परिस्थितिको सामना गर्दै गएपछि जाबो सांसद फेरि जिताउने कामनासहित आफ्ना पछाडि दौडिएका माननीयहरुलाई उचालेका कोटेस्वरे कामरेडको आत्म बिश्वास देखेर सबैले सराहना गरेका छन्।

माननीयहरुको अहिलेको पद गएपनि र बहालवालाबाट भुपु भएपनि चुनावमा टिकट समेत दिएर र जनताको बिश्वास लिएर जिताएर फेरि यही संसदमा उपस्थित गराएर देखाउने कामरेडको आत्मबिश्वासलाई चाहिँ मान्नै पर्छ। यीनको कुरा सुन्दा त चुनाव छिटै हुने हो कि जस्तो देखिन्छ।

यति भएपछि ढुक्क भएर पछि लाग्ने र उनले भने अनुसारै जाग्ने गर्न के समस्या भयो र? उसैपनि यिनी लगायत यिनी सरहका अरु सबै नेताहरुले अहिलेसम्म बोलेका र जनताको अगाडि खोलेका सबै बाचाहरु पुरा गर्दै आइरहेका जनताले प्रत्यक्ष रुपमै देख्दै,सुन्दै र अनुभव गर्दै आएका छन्।

निर्बाचन आयोग मार्फत दलबाट फालिएका र दिल्लीतिरबाट पालिएका मधेशवादीहरुको दल दर्तामा पनि खासै दम नदेखिएको हुनाले यिनीहरुको बाक्लो दालपनि पानी सुकेर डढ्ने र अधोगतितिर बढ्ने हो कि भनेर दागा धर्नेहरुलाई यिनीहरुले मन्त्री पद पड्काएर सत्तो सराप गर्दै देखाइदिने जोडदार तयारी छ रे भनेको सुन्दा मधेशका जनता चाहिँ हर्षित भएका छन् रे।

आगामी चुनावसम्म यो गठबन्धनलाई कायम राखेर फेरि अर्काको बैशाखीको सहारामा चुनाव जितेर आउने अनि यसैगरी सुख सुबिधा पाउने योजना सार्बजनिक गरेका स्वघोषित महान नेतासहितको गठबन्धनमा सबैको सहमतीमै अध्यादेश आएको बिश्वास गरिएको भएतापनि अहिलेका सरकार प्रधानलेपनि संसद नै बिघटन गरिदिने र पहिले जस्तै चुनाव जितेर आउने सोचमा धुलो छरिदिने अनि आफूलाई मझधारमा छोडेर एक्लै जँघार तरिदिने हुन् कि भनेर स्वघोषित महान नेतालाई जोडको शँका लाग्यो रे।

उनको आफ्नै भाषामा अहिलेसम्म कसैलाई पनि कुनै किसिमको धोका नदिएका स्वघोषित महान नेतालाई त्यस्तो अबस्था आएपनि केही फरक पर्ने र जनताले उनको भोट हर्ने त कुनै सम्भावना छँदै छैन। चुनावको दृष्टिकोणबाट देशका सबै जिल्ला उनको आप्mनै किल्ला जस्तो भएपछि डराउने र जहाँबाट उठेपनि कसैले हराउने सवालै छैन।

आफूभन्दा कमजोर, आफ्नो सहयोग बेगर माथि उठ्नै नसक्ने, आफूले सहारा दिएमा कुनै मान नगरिकन कान समातेर भनेको काम गराउन सकिन्छ भनेर कुनै सम्भावना नभएको ब्यक्तिलाई यहाँसम्म ल्याउँदा पनि धोका पाइयो र जिल खाइयो भने के गर्न सकिन्छ र?

तर स्वघोषित महान नेतालाई यसरी जिल्याउन सक्ने मान्छे कहिँ कतै अहिलेसम्म जन्मिएकै छैन रे भनेर महान नेताबाट पटक पटक सुन्दै आएका जनतालेपनि यो कुरा चाहिँ मरिगए पत्याउने छैनन्।

उनी र उनका समर्थकहरुलाई चुनावमा हारिएला र जनताद्वारा पाखामा पारिएला भन्ने डर त एकरत्ति पनि छैन तैपनि जनताले समयभन्दा अगाडि भोट खसालेर दुख पाउन नपरोस् अनि यो वा त्यो बहानामा जनतामाथि कसैलेपनि खेलबाड नगरोस् भन्ने मात्रै उनको चिन्ता हो रे।

संसद त्यही हो, सांसद तिनै हुन्, संबिधान उहि हो, बिधि प्रकृया उही हो, माथिदेखि तलसम्मका सबै उही नै हुन्, उही बालकोटे कामरेड एउटाको ठाउँमा मात्रै नयाँ अनुहार भित्रिएको हो भनेपछि नयाँ कुरा हुनुभन्दा पुरानै कुराले निरन्तरता पाउनु र उही कुराहरु दोहारिएर आउनु केही नौलो भएन।

बालकोटे कामरेडले दल टुक्याउन सजिलो हुनेगरी अध्यादेश ल्याउने र दुई तिहाइभन्दा बलियो भएर सबैतिर भ्याउने उद्देश्यसहित ल्याएको अध्यादेशको ठूलो बिरोध भएपछि फिर्ता लिएका र दुईदुई पल्ट सांसद बिघटन गरेर सबै सांसदहरुलाई दुख दिएका भनेर सबैभन्दा बिरोध गर्दै मुद्दा मामिला र बिभिन्न खाले संघर्ष गर्नेहरुले पनि बाध्यताबश अध्यादेश ल्याएका हुन्।

यसमा चाहिँ पुरानोको जस्तो दल फुटाउने भन्दापनि अन्य दलबाट निकालिएकाहरुलाई संसदमा टिकाएर आफ्नो लागि बहुमत जुटाउने पबित्र उद्देश्य रहेकोले यसलाई अन्यथा लिइदिने काम गर्नै हुँदैन।

बालकोटेलेपनि जनताकै लागि अध्यादेश हुँदै दुईदुई पल्ट संसद बिघटन गरेको,अरुलेपनि जनताकै लागि आन्दोलन र मुद्दा मामिला गरेको, अदालतले पनि दुईदुई पल्ट बिघटित संसदलाई पुनस्र्थापित गर्दै परमादेश मार्फत हालका सरकार प्रधानलाई नियुक्त गरेर ४८ घण्टाभित्र सपथ ग्रहण गराइहाल्नु भनेपछि बालकोटे साइड लागेका हुन्।

अहिलेकाले पनि त्यही गरेका हुनाले यो त गर्नै पर्ने काम पो रहेछ भन्ने जनतालाई लागेको छ। जतिबेलापनि जनादेशको दुहाइ दिएर नथाक्नेहरुले नै जनादेशलाई तुहाइ दिएर राजनीतिमा हुन नसक्ने भनेर सोचिएका सबैखाले ब्यबहार देखाएर र त्यसबाट आफ्नो सुनौलो इतिहास लेखाएर राख्न सफल भएकै मान्न पर्छ।

हुँदा हुँदा हिजो अस्तिमात्रै अध्यादेशको घोर बिरोध गरेर हिँडेकाहरुले अध्यादेशमार्फत बाक्लो दाल खाने ब्यबस्था गर्दै चाक्लो छाती पारेर सत्ता जोगाउन गरेको कार्य अत्यन्त सराहनीय छ। मरमसला र हाल्न पर्ने सबैथोक ठिक्क मिलाएर पकाएको बाक्लो दाल खानलाई मिठो स्वादिलो र आडिलो हुनु स्वाभाबिकै हो।

बाक्लो दाल काँचो कचिलो र सबै हाल्न पर्ने चिजको मात्रा नमिलेको भएमा त्यसलाई पचाउन र झाडा पखालाबाट ज्यान बचाउन पनि त्यस्तै मुश्किल पर्नसक्छ भन्नेपनि खानुभन्दा अगाडि बेलैमा बिचार पुर्याउन पर्छ। हुन त त्यति ठूला नाम चलेका भएपनि आफ्नै दलमा खोजे अनुसारको भाग नपाएर गलेका नेताहरुको बाक्लो दाल उच्चस्तरकै भएकोमा कुनै शंका गर्नै परेन।

त्यही भएर नेताहरुले पुरै घमण्डकासाथ भनेका छन्, जसले जेसुकै भनोस् र जुनस्तरमा राखेर गनोस् हामीलाई केही मतलब छैन, जेजस्तो भएपनि यसपालीलाई चाहिँ खाइयो बाक्लो दाल।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *