भागेका अफगानी राष्ट्रपति युएइ नै किन गए? तालिबान र युएइको सम्बन्ध कस्तो छ?

डिसी नेपाल
६ भदौ २०७८ १३:२६

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएइ) ले अफगानिस्तान छाडेर भागेका राष्ट्रपति अशरफ गनीलाई मानवीय आधारमा शरण दिएको छ। १५ अगष्टमा जब तालिबानीहरुले काबुलको घेराबन्दी गरिरहेका थिए त्यतिबेलै राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए।

त्यतिबेला उनी कहाँ गए भन्ने स्पष्ट थिएन। त्यतिबेला उनी उज्वेकिस्तान वा ताजिकिस्तानमा भएको दावी गरिँदै गर्दा अशरफ गनी स्वयंले आफू युएइमा भएको पुष्टि गरे।

युएइको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफ्नो देशले अशरफ गनीलाई मानवीय आधारमा शरण दिएको बताएको छ। गनीले एक भिडियो जारी गर्दै आफू देश छाडेर नभागेको बरु आफूले एउटा ठूलो त्रासदीलाई टारेको बताएका छन्।

गनीले भने ‘म अहिले इमिरेट्समा छु ताकि रक्तपात र अस्तव्यस्ततालाई रोक्न सकियोस् ।’ गनीले आफू अफगानिस्तान फर्किनको लागि वार्ता गरिरहेको पनि बताए।

युएइले कुनै इस्लामिक देशका नेतालाईै शरण दिएको यो पहिलो पटक होइन। १९९० को दशकमा पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टोले पनि युएइमै शरण लिएकी थिइन्। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पनि सत्ताबाट हटाइएपछि युएइमै गएर बसेका छन्। यति हुँदाहुँदै पनि धेरैले अझै प्रश्न गरिरहेका छन् कि गनीले अफगानिस्तान छोडेपछि युएइ नै किन गए र युएइले उनलाई किन शरण दियो?

यसपटक युएइले गनीले आफ्नो जमिन राजनैतिक प्रयोजनका लागि प्रयोग गरुन् भन्ने चाहँदैन। बीबीसी सुरक्षा संवाददाता फ्रयांक गार्डनरका अनुसार युएइमा ठूलो संख्यामा अफगानी र पाकिस्तानीहरु छन्। यस्तोमा युएइले चाहने छैन कि आफ्नो जमिन अफगानिस्तानको राजनैतिक अखडा बनोस् । विश्लेषकहरुले पनि गनी युएइ गएकोमा आश्चर्य नलागेको बताएका छन्।

अब्जर्भर रिसर्च फाउण्डेशनमा आबद्ध कबीर तनरेजा भन्छन् ‘संयुक्त अरब इमिरेट्सको सम्बन्ध तालिबान र अफगानिस्तान दुवैसँग रोचक रहेको छ। अशरफ गनीलाई युएइले मानवीय आधारमा शरण दियो। युएइको यो कदम अप्रत्याशित होइन।’

सन् १९९६ मा जब तालिबानले अफगानिस्तानमा कब्जा गरेर सरकार बनाएको थियो त्यतिबेला पाकिस्तान, साउदी अरब र युएइले नै यो सरकारलाई मान्यता दिएका थिए। त्यतिबेलादेखि अहिलेसम्म यी देशको सम्बन्धमा धेरै परिवर्तन आइसकेको छ।

तनरेजा भन्छन् ‘अमेरिकामा सेप्टेम्बर ११ आक्रमणपछि अरब देशहरुमाथि आफ्नो छवि सुधार्ने दबाब आयो। यो आक्रमणमा संलग्न धेरैजसो खाडी देशकै थिए। अरब देशमा सुधारको एक क्रम सुरु भएको थियो र त्यो समयमा साउदी र युएइले आफूलाई तालिबानबाट अलग गर्न सुरु गरेका थिए। यी देशहरुले तालिबानसँग स्पष्ट दूरी बनाइरहे।’

जब अमेरिकाको नेतृत्वमा नाटो सेनाले २००१ मा अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई भगाए त्यतिबेला युएइले यो आक्रमणलाई सहयोग पनि गरेको थियो। युएइका सैनिक पनि अफगानिस्तानमा थिए यद्यपि उनीहरुको संख्या धेरै थिएन। युएइको सेनाको सानो टुकडी अफगानिस्तानमा शान्ति र मानवीय मिशनमा तैनाथ रह्यो । अफगानिस्तानले पनि यी सैनिकहरुलाई मित्र मुस्लिम सैनिकको रुपमा हेर्छ।

युएइ र साउदी दुवैमा सुन्नी वहाबी विचारधारा हावी रहँदै आएको छ। यी देशहरुले मदरसा र मस्जिदहरुको माध्यमबाट च्यारिटीको नाममा अफगानिस्तानमा विकास कार्य पनि गराएका छन्। वैचारिक रुपमा भने युएइ र तालिबानको निकटता रहेको छ। तर, तालिबानलाई मान्यता दिएको युएइले २००१ मा आफूलाई धेरै हदसम्म तालिबानबाट अलग गरेको थियो र कुटनीतिक दुरी बढाएको थियो।

तनरेजा भन्छन् ‘त्यतिबेला युएइले धेरै हदसम्म तालिबानसँग सम्बन्ध तोडेको थियो र हमिद कारजाइ र त्यसपछि अशरफ गनीको नेतृत्वमा बनेका सरकारसँग औपचारिक कुटनीतिक सम्बन्ध राखेको थियो। यद्यपि वैचारिक रुपमा युएइ, साउदी अरब र तालिबानबीच सम्बन्ध थिए जो अहिले कम भएका छन् । अब युएइ र अफगानिस्तानबीच सम्बन्ध वैचारिक कम र व्यवहारिक बढी छन्।’

२०१७ मा युएइका कुटनीतिज्ञको एक समूहमाथि कान्दाहारमा आक्रमण भएको थियो । यो आक्रमणमा कुटनीतिज्ञ समेत कैयौंको ज्यान गयो । यो आक्रमणपछि युएइले तालिबानसँग झनै दुरी बढाएको छ।

गनी युएइमा कति समयसम्म रहन्छन् भन्ने स्पष्ट छैन। उनी केही समयपछि अमेरिका जान पनि सक्छन्। तर, विश्लेषकहरु भने अमेरिकाले अहिल्यै गनीको लागि आफ्नो ढोका नखोल्ने विश्वास गर्छन्। तनरेजा भन्छन् ‘युएइले पहिले पनि इस्लामिक जगतका व्यक्तिहरुलाई शरण दिएको छ र वार्ताको स्थान उपलब्ध गराएको छ। यस्तोमा गनी युएइ पुग्नु आश्चर्यजनक होइन।’

तर, युएइमा बस्नु सजिलो छैन । यहाँको जीवन धेरै महँगो छ। केही रिपोर्टमा गनीले माटो रकम आफ्नो साथमा लिएर भागेको दावी गरिएको थियो। तर, गनीले एक बयानमा यी आरोपको खण्डन गरेका छन्। गनीले आफ्नो बयानमा आफू अफगानिस्तानबाट एक जोडी कपडा र जुत्ता लगाएर निस्किएको र आफूसँग केही पनि नभएको दावी गरेका छन्।

विश्लेषकहरुका अनुसार गनी युएइ नै पुग्नुको प्रमुख कारण यो देशले सुरक्षा र गोपनीयता उपलब्ध गराउनु हो । यहाँ गुपचुप बस्ने र आफ्नो पैसा लगानी गर्ने पर्याप्त अवसर र ठाउँ छन्।

युएइमा अत्याधुनिक क्यामेरा जडान गरिएका छन् र सुरक्षा अचुक छ । यहाँ राजपरिवारको सत्तामा बलियो पकड पनि छ । यस्तोमा यहाँ पुग्ने राजनीतिक व्यक्तिहरु आफूलाई सुरक्षित महसुस गर्छन्।

यही कारण विश्वभरबाट नेता र राजनीतिक परिवारका व्यक्तिहरु शरण लिनको लागि युएइ पुगिरहन्छन् । सैन्य कुपछि सत्ताबाट बाहिरिएका थाइल्याण्डका प्रधानमन्त्री थाक्सिन सिनावात्रा र यिंगलक सिनावात्राले पनि युएइमै शरण लिएका थिए।

यसका अलावा स्पेनका पूर्व राजा हसन कार्लोस, प्यालेस्टाइनी नेता मोहम्मद दहलान र यमनका दिवंगत नेता अली अब्दुल्लाहका जेठा छोरा अली अब्दुल्लाह सालेहले पनि दुबइमा शरण लिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *