एक हप्ताभित्र अफगानिस्तान छोड्न अमेरिकालाई तालिबानको धम्की

डिसी नेपाल
७ भदौ २०७८ १६:२३

काठमाडौं। तालिबानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना मानिसहरु ३१ अगष्ट अर्थात अबको एक हप्ताभित्र निकालिसक्न भनेको छ । यसअघि निर्धारित ३१ अगष्टको डेडलाइन त्योभन्दा अगाडि नबढाउन तालिबानले अमेरिकालाई चेतावनी दिएको छ । तालिबानले ३१ अगष्टसम्म अमेरिकी सेना अफगानिस्तानबाट ननिस्किए यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

अमेरिकाले ३१ अगष्टसम्म आफ्नो सेना अफगानिस्तानबाट निकालिसक्ने सम्भावना न्यून छ । अहिले अफगानिस्तानमा ६ हजार अमेरिकी सेना छन् । अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई सुरक्षित निकाल्नको लागि अमेरिकी सेना त्यहाँ तैनाथ गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि नै ३१ अगष्टसम्म आफ्ना सबै नागरिक निकाल्न प्रयास गरिने भए पनि निकाल्न नसकिए सबैलाई ननिकाल्दासम्म अमेरिकी सेना त्यहीँ रहने बताइसकेका छन् ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकीहरुलाई ननिकाल्दासम्म आफ्नो सेनाको उपस्थिति अफगानिस्तानमा रहने भनेका छन् । यसको अर्थ अरु सबै अमेरिकीहरुलाई निकालिसकेपछि मात्रै अमेरिकी सेना त्यहाँबाट फर्कनेछ । ६ हजार अमेरिकी सेना अन्तिममा फर्किनको लागि पनि केही समय लाग्नेछ । यो अवधिमा अफगानिस्तानमा कुनै अप्रिय घटना हुन सक्ने सम्भावना बढेर गएको छ ।

तालिबानका प्रवक्ता सुहेल शाहीनले भनेका छन् ‘अमेरिकासँग भएको सम्झौतामा ३१ अगष्टको रेडलाइनतोकिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि उनको फौन यो मितिसम्म अफगानिस्तानबाट जानेछ भनेका थिए । यो मितिलाई अगाडि बढाउनुको अर्थ हो अमेरिकी सेना अफगानिस्तानमा फेरि आफ्नो कब्जा बढाइरहेको छ । यदि यस्तो भयो भने अमेरिकाले यसको परिणाम भोग्नुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *