तालिबान–नर्दर्न एलायन्सको युद्ध खतरनाक मोडमा, तालिबानी क्षेत्रीय कमाण्डर समेत मारिए

डिसी नेपाल
८ भदौ २०७८ ११:२५

काठमाडौं। अफगानिस्तानमा तालिबानले कब्जा गर्न नसकेको एकमात्र पंजशीर प्रान्तमा सुरु भएको युद्ध खतरनाक मोडमा पुग्ने देखिएको छ । पंजशील घाटी अफगानिस्तानमा ती सीमित क्षेत्रमध्येको एक हो जहाँ अहिलेसम्म तालिबानले कब्जा गरेको छैन । पंजशीरसँग सम्बन्धित सूत्रका अनुसार अंदराबमा भएको भिडन्तमा तालिबानका क्षेत्रीय कमाण्डर मारिएका छन् । यहाँ पंजशीर समर्थक एक लडाकु मारिएको र ६ लडाकु घाइते भएको बताइएको छ ।

तालिबानी सूत्रले भने यसको पुष्टि गरिसकेको छैन । एक तालिबानी लडाकुले भने ‘पंजशीरलाई माफ गरिने छैन ।’ आइतबार राती तालिबानसँग सम्बन्धित एक सूत्रले बताएअनुसार केही दिनअघि नर्दर्न एलायन्सले तालिबानको नियन्त्रणबाट छुटाएको बानु जिल्लामा फेरि तालिबानको नियन्त्रण कायम भएको छ । तर, यहाँ पछिल्लो भिडन्तमा ५० भन्दा धेरै तालिबानी लडाकु मारिएका छन् र २० भन्दा धेरैलाई नर्दर्न एलायन्सले नियन्त्रणमा लिएको छ ।

पंजशीर अहिलेसम्म तालिबानको कब्जाबाट मुक्त छ । यहाँ विद्रोहीहरुको नेतृत्व गरिरहेका अहमद मसुदका लडाकुहरु युद्धका लागि तयार छन् । नेशनल रेजिस्टेंस फ्रन्ट अर्थात नर्दर्न एलायन्सको नेतृत्व गरिरहेका मसुदले युद्धको तयारी भइरहेको बताउँदै रक्तपातबिना अर्को विकल्प निकाल्नको लागि वार्ता हुन्छ भने आफू वार्ताको लागि पनि तयार भएको बताएका छन् ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पंजशीर घाटीलाई तीनतिरबाट घेरा हालिएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘अमीरात यो मामिलालाई शान्तिपूर्ण तरिकाले सुल्झाउन चाहन्छ ।’ तालिबानविरुद्ध यहाँ नर्दर्न एलायन्ससँगै अफगानी सेना र अन्य केही विद्रोही लडाकुले मोर्चा बनाएका छन् । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह आफ्नो सेनासहित यहाँ छन् ।

पंजशीर कब्जा गर्न खोजिरहेको तालिबानलाई अमरुल्लाह सालेह र अहमद मसुदको सेनाले कडा टक्कर दिइरहेको छ । सालेह अफगानिस्तानका उपराष्ट्रपति थिए र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेपछि सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । राष्ट्रपति काबुल छाडेर भागेपछि उनी पनि पंजशीर गएर अहमद मसुदसँग हात मिलाएका थिए ।

पंजशीर सूत्रले अहिलेसम्म आफ्नो सेना र तालिबानबीच ठाउँठाउँमा भएका भिडन्तमा ३ सय तालिबानी लडाकु मारिएको बताएको छ । तर, तालिबानले भने आफ्ना लडाकु मारिएको खबरको खण्डन गर्दै पंजशीरका २ जिल्लामा आफ्नो नियन्त्रण भएको दावी गरेको छ । अहमद मसुदले पंजशीरका सबै विद्रोही नेताहरुलाई एक ठाउँमा ल्याएर विद्रोहको नेतृत्व गरिरहेका छन् ।

रेजिस्टेंस फ्रन्टका प्रवक्ता अली मैसम नजारीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै तालिबानविरुद्ध ९ हजार लडाकुको फौज तयार गरिएको बताएका छन् । यो फौजलाई लगातार प्रशिक्षण दिने काम भइरहेको छ । फौजसँग गाडीहरु र हतियार समेत भएको उनले बताए । नजारीले आफूहरुले सरकार चलाउनको लागि नयाँ व्यवस्था चाहेको बताउँदै यसको लागि वार्ताको लागि पनि तयार भएको तर आवश्यक परे युद्धबाट पनि पछि नहट्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *