उद्धारका लागि अफगानिस्तानको काबुल गएको विमान अपहरण गरेर इरान लगियो !

डिसी नेपाल
८ भदौ २०७८ १४:११

काठमाडौं। अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको युक्रेनको एक विमानलाई अपहरण गरिएको छ । युक्रेन सरकारका मन्त्रीले मंगलबार यस्तो दावी गरेका हुन् । यो विमानलाई इरान लगिएको छ । मन्त्रीका अनुसार आइतबार यो विमान अपहरण गरिएको थियो । विमानलाई केही अज्ञात व्यक्तिहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।

समाचार एजेन्सी एएनआइका अनुसार युक्रेन सरकारका सहायक विदेश मन्त्री येभ्गेनी येनिनले यो जानकारी दिएका हुन् । उनले भने ‘आइतबार हाम्रो विमानलाई केही अज्ञात व्यक्तिहरुद्वारा अपहरण गरिएको छ । मंगलबार यो विमानलाई इरान लगिएको छ । यो विमानमा अज्ञात व्यक्तिहरु छन् । यतिमात्र होइन हाम्रा अन्य तीन निकासी योजना पनि सफल हुन सकेनन् किनकि हाम्रा नागरिक विमानस्थलसम्म पुग्न पाएका थिएनन् ।

एजेन्सीका अनुसार यो विमान अपहरण गर्नेहरु हतियारधारी थिए । अहिलेसम्म यो विमानलाई कसले अपहरण गरेका हुन् भन्ने खुलेको छैन । युक्रेनले लगातार आफ्ना जनतालाई अफगानिस्तानबाट उद्धार गरिरहेको छ । जानकारीअनुसार अहिलेसम्म ८३ जनालाई काबुलबाट किभ लगिएको छ । यीमध्ये ३१ जना युक्रेनी थिए । अफगानिस्तानमा अझै करिब १०० जनाभन्दा बढी युक्रेनी नागरिक छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *