तालिबानले कब्जा गर्नुअघि बाइडेनले अशरफ गनीसँग १४ मिनेटसम्म के कुरा गरेका थिए ?

डिसी नेपाल
१६ भदौ २०७८ १४:४६

काठमाडौं। अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्ष लामो युद्धको अन्त्य गरेको छ । ३० अगष्टमा अमेरिकी सेनाले काबुल विमानस्थल छोडेसँगै अफगानिस्तानमा तालिबानको नियन्त्रण भएको छ । तालिबानले पछिल्लो १ महिनामा नाटकीय ढंगले पूरै देश नियन्त्रण गर्यो । तालिबानले कब्जा सुरु गर्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र तत्कालीन अफगानी राष्ट्रपति अशरफ गनीबीच फोनमा कुराकानी भएको थियो जसमा तालिबानविरुद्धको लडाइँबारे चर्चा भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार २३ जुलाइमा जो बाइडेन र अशरफ गनीबीच १४ मिनेट लामो कुराकानी भएको थियो । यो कुराकानीमा बाइडेनले अमेरिकाको तर्फबाट अफगानिस्तानलाई दिइने सैन्य सहयोगका बारेमा कुरा गरेका थिए । बाइडेनले गनीसँग तालिबानविरुद्धको लडाइका विषयमा छवि बदल्न भनेका थिए । यो फोन वार्ताको करिब ३ हप्तापछि अशरफ गनी अफगानिस्तान छोडेर भागे । १५ अगष्टमा तालिबानले काबुलको राष्ट्रपति भवनमा कब्जा गर्यो । त्यसको १५ दिनपछि अमेरिकाले पूर्ण रुपमा अफगानिस्तान छोड्यो ।

रोयटर्सका अनुसार यो फोन वार्तामा बाइडेनले गनीसँग उनले सार्वजनिक रुपमा तालिबानलाई रोक्ने योजना बताएमा मात्र अमेरिकाले सैन्य सहयोग गर्ने बताएका थिए । बाइडेनले आफ्नो तर्फबाट हवाइ सहयोग पनि जारी रहने तर त्यसको लागि आफूहरुलाई अगाडिको योजना के हो भन्ने थाहा हुनुपर्ने बताएका थिए । यो फोन वार्ताको केही दिन अघि मात्र अमेरिकाले अफगानी सेनाको समर्थन गर्दै एयरस्ट्राइक गरेको थियो ।

अमेरिकी राष्ट्रपति चाहन्थे कि अशरफ गनीले जनरद बिस्मिल्लाह खानलाई तालिबानसँग लड्ने जिम्मेवारी दिउन् भन्ने चाहन्थे । त्यतिबेला खान रक्षामन्त्री थिए । अफगानिस्तानले आफ्नो योजना प्रस्टसँग बताएर बिस्मिल्लाह खानलाई तालिबानविरुद्धको लडाइको नेतृत्व दिएमा अमेरिका सहयोग गर्न तयार थियो । फोन वार्तामा बाइडेनले अमेरिकाले तयार गरेका ३ लाख अफगानी सैनिकले ७०–८० हजार तालिबानीसँग लड्न र जित्न सक्षम रहेको विश्वास दिलाएका थिए ।

यद्यपि यो कुराकानीको मुख्य विषय अफगान सरकारको आगामी दृष्टिकोणमा केन्द्रित थियो । बाइडेनले कुराकानीमा गनी सरकारको कार्यशैली तालिबानविरुद्धको लडाइको विषयमा गम्भीर नभएको र यसले विश्वमा गलत सन्देश गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । अमेरिकाले अफगानिस्तानका पूरै राजनीतिक नेतृत्व एकसाथ पत्रकार सम्मेलन गर्न र छवि बदल्नका लागि तालिबानविरुद्ध रणनीतिको घोषणा गर्न सुझाव पनि दिएको थियो ।

रिपोर्टअनुसार कुराकानीमा अफगानी राष्ट्रपति गनीले बाइडेनलाई पाकिस्तानका सम्बन्धमा चेतावनी दिएका थिए । गनीले तालिबानले पूरै शक्तिको साथ एक पटक फेरि आक्रमण गरिरहेको बताउँदै यसमा पाकिस्तानको तर्फबाट तालिबानलाई पूरा समर्थन दिइएको बताएका थिए । यसका अलावा पाकिस्तानले १० देखि १५ हजार आतंकवादी पनि तालिबानलाई दिएको उनले बताएका थिए । रोयटर्सले यो कुराकानीबारे ह्वाइट हाउस र अशरफ गनीको कार्यालयबाट प्रतिक्रिया माग्दा कुनै प्रतिक्रिया दिइएन । वाशिङटनस्थित पाकिस्तानी दूतावासले पाकिस्तानले तालिबानलाई सहयोग गरेको कुरालाई आधारहीन भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *