यी अफगान महिला प्रहरी भन्छिन्: तालिबान खतरनाक अतिवादी समूह हुन्

डिसी नेपाल
१७ भदौ २०७८ ७:२५

एजेन्सी। आफूलाई तालिबानले निर्घात कुटेपछि अफगानिस्तानकी एक महिला प्रहरी अधिकारी केही दिनदेखि ज्यान जोगाउन देशभित्रै भौँतारिइरहेकी छन् । महिलाविरुद्ध तालिबान सत्ता कठोर बनेका खबर सार्वजनिक भइरहेका बेला महिला प्रहरी अधिकारी गुलाफरज इबतेकरलाई ज्यान जोगाउनै हम्मे भएको हो ।

३४ वर्षीय गुुलाफरज इबतेकर अफगानिस्तानको अपराध शाखाकी उपप्रमुख थिइन् । उनी अफगान महिलाका लागि रोलमोडल नै थिइन् । केही दिनअघि हमिद कराजाई विमानस्थलमा देखिएकी उनलाई बारम्बार तालिबानले धम्की दिँदै आएका थिए ।

विदेशी सेनासँगै काबुल छाड्न उनी पाँच रात विमानस्थलमा बसिन् तैपनि उनले देश छाड्न सकिनन् । ‘म र मेरो परिवारको जीवन रक्षाको माग गर्दै मैले विभिन्न देशका दूताबासमा गरेका सबै प्रयत्न असफल भए’, उनी भन्छिन् ।

प्रहरी प्रतिष्ठानबाट स्नातकोत्तर गुलाफरजलाई अमेरिकी सेनाले सहयोग गर्ने विश्वास थियो । उनी सहारा खोज्दै अमेरिकी शरणार्थी शिविरमा पुगिन् । उनी नजिकै केही अमेरिकी सेना उभिएकाले उनलाई लाग्यो, ‘अब सुरक्षित स्थानमा पुगियो ।’

‘मैले केही अंग्रेजी बोल्थेँ । काबुलमा म सुरक्षित छैन भनेँ । मसँग मेरो परिचयपत्र, पासपोर्ट र प्रहरीसम्बन्धी कागजात थिए’, उनी भन्छिन् ।

‘तिमी कहाँ जान चाहन्छ्यौ ?’, अमेरिकी सेनाले सोधे ।

‘ढुक्कसँग बाँच्न पाउने जुनसुकै देशमा’, उनले जबाफ फर्काइन् । त्यसपछि सेनाले ‘हुन्छ’ भनेर एउटा गाडीमा विमानस्थल जाने बाटो देखाउन थाले ।

दुर्भाग्यवश ! अमेरिकी सेनाले उनलाई अतिवादी हमला भएको बाटो हुँदै विमानस्थल लैजान खोजे, जहाँ एक बन्दुकधारीले हतियार तेर्स्याउँदै भने, ‘गाडीबाट तुरुन्त बाहिर निस्क ।’

उनी गाडीबाट निस्किएपछि तालिबानले उनलाई कुटे ।

रुसको एउटा प्रख्यात प्रहरी प्रतिष्ठानबाट स्नातकोत्तर गरेकी गुलाफरजलाई मस्को दूताबासले पनि सहयोग गरेन । आमअफगानीको जीवनमा परिवर्तन ल्याउने लक्ष्यसँगै उनी रुसबाट फर्किइन् । स्वदेश फर्किनेबित्तिकै उनले गृह मन्त्रालयमा जागिर पाइन् ।

‘स्वदेश फर्किएपछि म मन्त्रालयअन्तर्गतको अपराध महाशाखाको उपप्रमुख बनेँ’, उनले भनिन् ।

विमानस्थलबाट फर्काइएपछि उनी घर पुगिन् । तालिबानले उनलाई घरमै आएर चेतावनी दिएका रहेछन् । उनी घरबाट पुनः विमानस्थल भागिन् । विमानस्थलमा पुग्दा तालिबानले उनलाई ढुंगाले हिर्काए ।

गुलाफरजलाई तालिबानले दुःख दिएको देखेर उनका सहकर्मी पनि दुःखित छन् । गुलाफरजले विभिन्न टेलिभिजनमा महिला अधिकार र अतिवादबारे खुलेर बोलिन् तर अहिले उनका बारेमा बोल्ने कोही छैन ।

तालिबान परिवर्तन नहुने उनको ठोकुवा छ । ‘तालिबान कहिल्यै परिवर्तन हुँदैनन् । उनीहरूले महिलालाई काम गर्न दिँदैनन्’, उनी थप्छिन्, ‘२० वर्षअघि सत्तामा पुग्दा तालिबानले ठूला सपना देखाएका थिए तर उनीहरूले मान्छे मार्नेबाहेक केही गरेनन् । उनीहरू खतरनाक अतिवादी समूह हुन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *