धेरै विकसित देशका यी महिला जो डिभोर्स गरेर पनि पतिसँग छुट्टिन पाउँदैनन्

डिसी नेपाल
१७ भदौ २०७८ १२:०८

काठमाडौं। रिफका मेयेरको उमेर त्यतिबेला ३२ वर्ष थियो जतिबेला उनले धार्मिक रितिरिवाजका साथ वैवाहिक जीवनमा प्रवेश गरिन् । अढाइ वर्षपछि भने उनलाई आफ्ना रुढीवादी पतिसँग फसेको महसुस भयो । उनी यस्ता व्यक्तिसँग विवाहको बन्धनमा कैद भएकी थियन् जो वर्षौंसम्म उनीसँग सम्बन्धविच्छेद गर्न चाहँदैनथे ।

बीबीसीसँगको कुराकानीमा रिफकाले भनिन् ‘यो स्थितिमा मानिसले आफूलाई निकै निराश र एक्लो महसुस गर्छ । यस्तो लाग्छ मानौं तपाइँ जोडजोडले चिच्याइरहनुभएको छ तर तपाइँको आवाज सुन्ने कोही छैन ।’ क्रस पार्टी पार्लियामेन्ट ग्रुपमा सदस्य जोनाथन मोन्डेलसोनका अनुसार एक धार्मिक सम्बन्धविच्छेद गर्नको लागि महिलालाई १० वर्ष लाग्यो । उनका अनुसार बेलायतमा १०० भन्दा धेरै महिलाहरु रुढीवादी युहदीहरुसँग धार्मिक विवाहको बन्धनमा फसेका छन् । यहुदी समुदायमा यस्ता थुप्रै घटनाहरु देखिएका छन् ।

रुढीवादी यहुदी कानुनअनुसार डिभोर्स गर्ने पत्नीले पतिसँग एउटा दस्तावेज लिनुपर्छ जसलाई यहुदीहरु ‘गेट’ भन्छन् । यो ‘गेट’ बिना कुनै महिलाले पतिसँग कानुनी रुपमा डिभोर्स गरे पछि उनी त्यही व्यक्तिसँग विवाहित रहन्छिन् । यसरी धार्मिक विवाहको जालमा फस्ने महिलालाई ‘अगुनोट’ वा ‘चेन वाइफ’ भनिन्छ । रिफकाका अनुसार उनी चाहेर पनि अर्को व्यक्तिसँग विवाह गर्न सक्दिनथिन् । उनले भनिन् ‘तपाइँ यसमा फस्नुभएको छ । तपाइँ कुनै व्यक्तिसँग भेट्न सक्नुहुन्न । कसैसँग डेट गर्न सक्नुहुन्न, एउटा कुनाबाट निस्केर अगाडि बढ्न सक्नुहुन्न । म यहाँबाट निस्केर कहीँ पनि जान सक्दिन ।’

भाग्यवश रिफका अहिले यो बन्धनबाट मुक्त भएकी छिन् । उनले गत वर्ष मात्रै आफ्नो गेट हात पारिन् । उनी लण्डनमा बस्छिन् र एउटा संस्था चलाउँछिन् । यो संस्थाले यस्तै गरी फसेका महिलाहरुलाई बाहिर निस्किन सहयोग गर्छ । यदि पतिबाट गेट नपाएमा महिलाहरुलाई अर्को व्यक्तिसँग विवाह गर्न प्रतिबन्ध हुन्छ । उनले अरु कुनै पुरुषबाट बच्चा जन्माउन पनि सक्दिनन् । यदि कुनै महिलाले यस्तो गरे त्यसरी जन्मिएको बच्चालाई ‘मेमजर’ अर्थात अनौठो सन्तानको रुपमा हेरिन्छ ।

यदि गेट दिनको लागि कुनै पनि व्यक्तिमाथि दबाब दिइयो भने ‘बेथ दीन’ भनिने यहुदी न्यायालयले यस्तो सम्बन्धविच्छेदलाई अमान्य घोषित गरिदिन्छ । रुढीवादी यहुदीहरुको प्रतिनिधित्व गर्ने एक संगठनका अनुसार यहुदी कानुनमा शारीरिक वा आर्थिक प्रताडना वा जेलको धम्की दिएर हासिल गरिएको गेट पूर्ण रुपमा अमान्य हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *