‘अति प्रभावित देशलाई दिनू’ भन्दै उत्तर कोरियाले ३० लाख डोज खोप फिर्ता गरिदियो

डिसी नेपाल
१७ भदौ २०७८ १२:१५

सोल (बीबीसी)। उत्तर कोरियाले झन्डै ३० लाख मात्रा कोभिड खोप अस्वीकार गर्दै अन्यत्र प्रदान गर्न भनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घका एक प्रवक्ताले उत्तर कोरियाले विश्वमा खोप अभाव भइरहेका बेला ती खोपहरू अतिप्रभावित देशहरूलाई प्रदान गर्न भनेको बताए।

उत्तर कोरियालाई गरिब देशहरूलाई खोप प्राप्त गर्न सघाउने कोभ्याक्स कार्यक्रमअन्तर्गत चीनमा निर्मित सिनोभ्याक खोप दिन सकिने बताइएको थियो।

अगस्ट १९ सम्म उत्तर कोरियामा कोरोनाभाइस सङ्क्रमणको कुनै विवरण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वास्थ्यकर्मी र रुघाजस्तो रोग लागेका ३७,२९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको बताएको छ।

महामारी सुरु भएयता नै उत्तर कोरियामा कडा नियमहरू लगाइएको बताइएको छ।

गत वर्ष ज्यानुअरीमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।

उत्तर कोरियाले खोप अस्वीकार गरेको यो पहिलो पटक भने होइन।

जुलाईमा आस्ट्राजेनेका खोपको लगभग २० लाख मात्रा खोप उत्तर कोरियाले सम्भावित नकारात्मक असरबारे चिन्ता जनाउँदै अस्वीकार गरेको दक्षिण कोरियाली गुप्तचर निकायसँग सम्बन्धित संस्थाले जनाएको थियो।

जुलाईमै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खोप दिन खोजिएको बताएका थिए।

उत्तर कोरियाले खोपको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ।

त्यहाँका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खोपका नकारात्मक असरका बारेमा सामग्री प्रकाशन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *