सेनामा यसरी भयो क्रान्तिकारी परिवर्तन – Dcnepal

सेनामा यसरी भयो क्रान्तिकारी परिवर्तन

प्रधानसेनापति पूर्णचन्द्र थापा ३ वर्षे कार्यकाल सकेर अवकास लिएका छन्। कठिन घडीका सेनापतिले नेतृत्व सम्हालेको प्रारम्भदेखि अन्तिम दिनसम्म चर्चा पाइरहे। उनको त्यो नेतृत्व गुण, कला, क्षमता, योगदान र त्यागको संक्षिप्त बर्णन गर्दै भावी नेतृत्वले सिक्नुपर्ने पाठहरु उतार्ने प्रयास गरेको छु।

सेनापति थापा सिपाहीका छोरा हुन्। सिपाहीजस्तै सरल, शालीन, अनुशासित, बफादार र निडर रहने उनको दृढ संकल्प सैनिक जागिरको प्रारम्भदेखि शक्तिशाली पदको अन्तिम दिनसम्म उनले एकनास प्रदर्शन गरिरहे।

लो प्रोफाइलमा चुपचाप सेवा गर्दै उनले सिपाहीलाई कहाँ घाउ छ, कहाँ घोच्दछ बिस्तृत अध्ययन सोध र खोज गर्दै गए। सिपाहीको छोरो सिपाही बनको काँडा जस्तै आफै तिखारिँदै गए। उत्कृष्ट सिपाही, चुस्त जुनियर अधिकृत, दुरुस्त स्टाफ अधिकृत, होनहार उदार र सुधारबादी चेन अफ कमाण्डको कमाण्डर हुँदै प्रधानसेनापति हुँदा उनी गतिशिल, प्रतिभाशाली, साहसिक र क्रान्तिकारी प्रधानसेनापति भए।

हरेक तहको कमाण्डर हुँदा उनी हचुवामा होइन बिशेष योजना र तयारीका साथ समय तालिका बनाएर उद्देश्य प्राप्तिमा एकलव्य भई लागिपरिरहे। उच्च सावधानी अपनाउँदै लगातार त्याग गर्दै गए। सिपाही र संगठन केन्द्रित उनको त्यही ध्यान र त्यागले उनलाई सफलताको चुचुरोमा पुर्‍यायो।

म लगायत धेरैको बुझाइ र हेराइ उनी औषत सामान्य सैनिक कमाण्डर हुन् र संगठनलाई सुधारेर कमाण्ड गर्न सक्ने छन् भन्ने भान थियो। तर उनी सुधारबादी मात्र नभएर अपबाद महसुर क्रान्तिकारी सुधारक भएर छाए र गए।

सफलताका मूल कडीहरु

म नेतृत्वमा पुगेँ भने सिपाही र उसको संगठनलाई निर्धारित समयमा निश्चित गन्तव्यमा पुर्‍याउने छु भन्ने इच्छाशक्ति र दृढ संकल्प प्रमुख कडी थियो। बिशाल संगठन सिपाहीको हो र म सिपाही तिनै सिपाहीहरुको बफादार कमाण्डर होइन सेवक हुँ भन्ने सत्य स्वीकार गर्नु उनको शक्ति भयो।

डुंगामा कथित सैनिक विज्ञहरु, सल्लाहकारहरुलाई अनावश्यकरुपमा खुट्टा हाल्न नदिएर वा हस्तक्षेप गर्न नदिएर एक संगठन एक मात्र कमाण्डरको गर्बिलो सन्देश दिए। डुंगा प्वाल पार्ने र सन्तुलन बिगारिदिने ठेकेदार, बिचौलिया र दलालहरुलाई उनले आफू र आफ्नो संगठनको छायाँ भित्र समेत चियाउन दिएनन्।

सिपाही खुशी, सुखी, नैतिकवान र कर्मशील भयो भने संगठन मजबुत हुन्छ र राष्ट्रहितमा समर्पित हुन सक्छ भन्ने सामान्य ज्ञानको स्वीकारोक्तिले उनी सधैं हिरो भइरहे। ‘माथिकालाई चाकरी जोड, बराबरलाई सुबिधा जोड र तलकालाई काँटिवाल बुठले जोड लगाई ठोक्’ उक्ति र अभ्यासलाई उनले ठ्याक्कै उल्ट्याइदिए।

‘सिपाही फष्ट बाँकी सबै लाष्ट’ आदर्शमा अडिग रही पिरामिड्को जग सिपाहीलाई सिरमा राखेर सिर्फ सिपाही केन्द्रित सुधारमा अनवरत ध्यान र त्याग गरिरहे। त्यो असामान्य र क्रान्तिकारी आदर्श थियो।

असल र योग्य जनशक्तिको संगठनमात्र उत्कृष्ट हुन सक्दछ भनेर उनले भर्ना छनौटका फोहोर बिकृतिलाई सामुहिक दण्ड गरेर पारदर्शी भर्ना प्रणाली स्थापित गराए। राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रले भित्राएको र थोपरेको फोहोर मैलाको पहाड सफागर्ने हिम्मत गरे।

संगठन मायाँ, दया, निगाहा, क्षमाले होइन सशक्त प्रणालीले चल्नु चलाउनु पर्दछ भन्ने अर्को आदर्श स्थापना गर्न उनले सयौं निर्देशिका र स्थायी कार्य संचालन बिधि(एस.ओ.पि.)  बनाइदिए। अब संगठन कमाण्डरको मनासरमा होइन लिपिबद्ध ऐन नियम अनुसार चल्ने भयो।

संगठन पिर–मर्का, थिचोमिचो, पीडा र गुनासो रहित हुने भयो। संगठनका आँखामा सबै बराबरी र योग्य, दक्ष, सक्षम र योगदानवालाको बृत्तिबिकासलाई ढोका खुल्ने भयो। घर काजहरु सख्त खिचाउमा परे र टुँडिखेल सामेल भए।

ठूलाबडाका अतिरिक्त सुबिधा र कोटा काटिएर प्रतिश्पर्धा, जेष्ठता, योग्यता र योगदान देखाएर सरुवा, बढुवा, पुरस्कार र शान्तिसेनाका अवसर पाउने भए। संगठनमा क्रान्तिकारी सुधार भयो र सदियौंदेखि जमेको मैला र गडेको खिल पखालियो।

पुच्छरले टाउको (अपबाद बाहेक) हल्लाउन खोज्ने पाइलट, ईन्जिनियर्स, डाक्टर, वकिल, कर्मचारी, टेक्नोक्र्याटहरुलाई पहिला सैनिक बियरिङ, चरित्र, व्यवसायिक क्षमता र त्यसपछि मात्र दोश्रो ट्रेडको ज्ञान भनेर तालिममा घोलियो।

अर्को क्रान्तिकारी सुधार

भ्रष्टाचारमा चुर्लुम्म डुबेको राज्यको संगठनलाई दुधले धोएर पवित्र कायम राख्न कठिन थियो। यो कठिन काम बिशेष तयारी, प्रतिबद्धता र संकल्पका साथ उनले गरेर देखाए।

कोभिड महामारी ह्याण्डेलिङ र नियन्त्रणमा बिशेष योगदान पुर्‍याउने र जनतालाई उद्धार राहत दिने पबित्र उद्देश्यलाई सि.सि.एम.सि.ले बाधा अड्चन पुर्‍यायो। पुरानो सि.सि.एम.सि.को सेना फसाउने षड्यन्त्र र बदनामबाट उनले नेपाली सेनालाई साबधानीपूर्वक बाहिर निकाले र बचाए।

नियम, कानून, ऐन र आर्थिक नीतिको मापदण्ड अनुसार चल्नैपर्ने र उच्च आर्थिक अनुशासन प्रदर्शन गर्नुपर्ने उनको बाध्यकारी निर्देशन सिपाही र संगठनप्रिय थियो। लोकप्रिय कदमका लागि उनी आलोचना र अलोकप्रियताको जोखिमसँग रत्तिभर डराएनन्। भ्रष्टाचारीहरुलाई उनले लिड्को लाएर डल्ला फुटाए।

सुधारको क्रान्तिकारी मोडल

सिपाही र भूतपूर्व सैनिकको रगत पसिनाको कल्याणकारी रकमलाई उनले २० प्रतिशतको बृद्धिदरलाई बढाएर ७० प्रतिशत हाराहारीमा पुर्‍याइदिए। संगठनको ऐना कल्याणकारी कोषलाई उनले सिपाही पिताको रगत बराबरको महत्व र संरक्षण दिए। खराब ऋण कर्जा फिर्ता गराए।

शान्ति सेनामा गुणस्तरीय जनशक्ति र सेवा निर्धारित समयभन्दा छिटो पुर्‍याउने पहलकदमीले राष्ट्रिय छबि सुधार गर्‍यो र नेपालको नाम र स्थानलाई माथि उकास्यो। यु.एन. सँग लिनुपर्ने भरणपोषण बाँकी बक्यौता रकम उठाएर उनले कल्याणकारी कोषलाई दुर्लभ गुण लगाए। भु.पु.र आश्रित परिवारलाई सम्मान दर्शाए।

हवाई साधनको दुरुपयोग, बजेटको दुरुपयोग र सैनिक सामग्रीको दुरुपयोग रोक्ने उनी पहिलो ऐतिहासिक सेनापति हुन्। कल्याणकारी कोषबाट संचालित स्कुल र शिक्षण संस्थाहरु उत्कृष्ट हुनुपर्दछ र त्यहाँबाट संगठन एवं राष्ट्रले अपेक्षा राखेको योग्य, दक्ष तथा गुणस्तरीय जनशक्ति पूरा हुनुपर्दछ भन्ने उनको दूरदर्शी सोच क्रान्तिकारी सुधारको अर्को पाटो थियो।

भूतपूर्वक सैनिहरुलाई कृषी ज्ञान, कृषि सेवा र हरित सम्बृद्धिसँग जोडेर आर्थिक सम्बृद्धिको संबाहक बनाउनु पर्दछ भन्ने उनको सृजनात्मक सोच संगठन र समग्र मुलुकलाई बरदान थियो। जीबनको आफ्नो दोश्रो इनिङमा कृषि सेवाको अध्ययन सोच–खोज, सोध र अभ्यास गर्ने उनको प्रतिबद्धता भु.पु.सैनिक कल्याणकारी र हरित सम्बृद्धि केन्द्रित सुन्दर पहलता थियो।

सिपाहीलाई जित्न उनले सिपाही भन्दा धेरै घण्टा हड्डी घोटेर काम गरे। १०–५ को कार्यालयलाई उल्ट्याएर ५–१० को कार्यालय समय बनाई १७ घण्टा घोटिएको देख्ने प्रत्यक्षदर्शी मै हुँ। उनले दिनमा १० घण्टा ओभर टायम गरेर आफ्नो ३ वर्षे कार्यकाललाई ७ वर्ष प्लस बनाए।

म्याद थप र अतिरिक्त सेवा एवं समर्पणको उनको मौलिक र सृजनात्मक मोडल । म्याद थप, सत्ता साझेदारी र सैनिक शासनका प्रस्तावहरु उनले अकल्पनीय भनेर सोझै इन्कार गरे।

सिपाहीको रगत पसिना र श्रम खर्चेर सस्तो लोकप्रियता कमाउने भोज भतेर उनले बन्द गरेर सिपाहीलाई गुण लगाए। बिदेश भ्रमण, खेलकुद, बिदाछुट्टीलाई समेत तिलाञ्जली दिए। चाकडी प्रथा र उपहारलाई सैनिक ऐनले निषेध मात्र होइन दण्डनीय बनाइदिए।

१६ वर्षमा पेन्सन पाउने व्यबस्था उनको सिपाहीलाई सम्मान र अपूर्व कल्याणकारी उपहार थियो। अरु धेरै बिकृति बिसंगति हटाएर अनगिन्ती सुधारका कामहरु गरेर उनले संगठनलाई टल्काए चम्काए।

अतिरिक्त योगदान

मुलुक असफल बिदेश नीतिका कारण अँधेरो सुरुङमा हराएको र चरम हेपिएको बेला सैनिक कुटनीतिमार्फत मुलुकको बिदेश सम्बन्धलाई सही ट्रयाकमा राखिदिए।

अन्तर्राष्ट्रिय साँध सिमानाको पुनः नापी, नविकरण र कडा अनुगमन तथा नियमन हुनुपर्दछ भनेर जोडदार सिफारिस गर्दै सैनिक सीमा नापी निर्देशनालय स्थापना गर्ने ऐतिहासिक काम गरे।

भारतभन्दा नेपाल पुरानो जेठो र सगरमाथा एवं बुद्धको शान्ति स्वतन्त्रता बोकेको स्वाभिमानी देश भन्ने सन्देश दिए नेपाल भ्रमण आएका भारतीय सेनाका समकक्षी सेनापतिलाई।

पृथ्वीनारायण शाहको योगदानलाई उच्च सम्मान गरेर नेपालमा फुट, बिभाजन, बिखण्डन होइन एकीकरण र एकताको महत्व छ सधैभरि भन्ने सन्देश नेपालको अस्तित्व रक्षाको मर्मसँग जोडिएको थियो। सहिद र बिभुति जो पायो उही होइन भक्ति थापाजस्तो हुनुपर्दछ भन्ने सन्देश पनि अर्थपूर्ण र मार्मिक थियो।

प्रधान सेनापतिलाई उनका अति बिश्वासी स्टाफ मण्डलीले आफ्नो योगदान र त्यागको तेजिलो रापिलो जुनमा ग्रहण लगाइदिए कि ग्रहण फटाइदिए त्यो भविष्यले मूल्याङ्कन गर्नेछ।

नयाँ कमाण्ड अवधारणा राष्ट्रिय हित र राष्ट्रिय रक्षा मजबुतिकरण गर्न केन्द्रित देखिन्छ । कोभिड महामारी ह्याण्डेलिङ र नियन्त्रणमा बिशेष योगदान पुर्‍याउने र जनतालाई उद्धार राहत दिने पबित्र उद्देश्यलाई सि.सि.एम.सि.ले बाधा अड्चन पुर्‍यायो। पुरानो सि.सि.एम.सि.को सेना फसाउने षड्यन्त्र र बदनामबाट उनले नेपाली सेनालाई साबधानीपूर्वक बाहिर निकाले र बचाए।

प्रकृति संरक्षणको ऐतिहासिक योगदानलाई हिमाल सफाईको पबित्र अभियानसँग जोडेर गरेको काम अद्भूत सुन्दर पहलकदमी थियो। महामारी भबितव्य नआएको भए हाम्रा हिमालहरु सफा भइसक्ने थिए। सबै सुरक्षा निकाय बराबरी र सबैलाई सम्मान उनको टिमवर्कलाई टिमबिल्डिङको महान सन्देश थियो।

सफलताको एक नम्बर सूत्र

संगठनको संचालनमा उनले परिवार हावी हुन दिएनन्। श्रीमती संघ कि अध्यक्ष हुन् कि आ–आफ्ना बिधाका बिज्ञ छोरा छोरी अथवा सुरक्षा विज्ञ सहोदर दाजु र बैनी ज्वाइँ अथवा भु.पु.विज्ञ पिताजी कसैलाई झिम्किन दिएनन्। कमाण्डरको डुंगामा उनी एक्लै बसेर सिपाहीको सागरमा आफैं नाउ बनेर ३ बर्षको यात्रा तय गरे र सुरक्षितसाथ गन्तव्यमा डुंगा पुर्‍याए।

डुंगामा कथित सैनिक विज्ञहरु, सल्लाहकारहरुलाई अनावश्यकरुपमा खुट्टा हाल्न नदिएर वा हस्तक्षेप गर्न नदिएर एक संगठन एक मात्र कमाण्डरको गर्बिलो सन्देश दिए। डुंगा प्वाल पार्ने र सन्तुलन बिगारिदिने ठेकेदार, बिचौलिया र दलालहरुलाई उनले आफू र आफ्नो संगठनको छायाँ भित्र समेत चियाउन दिएनन्।

जुनमा ग्रहण

अद्भूत त्याग गर्ने प्रधानसेनापतिका पि.एस.ओज (प्रिन्सिपल स्टाफ अधिकृत) र अन्य स्टाफहरु संगठनप्रति कति समर्पित र त्यागी थिए उनको सफलता मापनको महत्वपूर्ण आधार त्यो हुनेछ।

नेतृत्वको असल कामको अपनत्व र स्वामित्व संगठनले लिन्छ र त्यसलाई संस्थागत गर्दै लागिन्छ कि त्यसको जस स्टाफहरुले लिने र अपजस नेतृत्वलाई भिडाउने काम हुन्छ, सफलता त्यसमा पनि निर्भर गर्दछ।

छानबिन र न्याय सम्पादन कति पारदर्शी, कति स्वच्छ र कति व्यबसायिक ढंगले भयो? त्यो अर्को महत्वपूर्ण पाटो हो। छानबिनको दायरामा परेका अभियुक्तहरु दोषी हुन् वा निर्दोषी तिनीहरुमाथि कुनै पूर्बाग्रह, प्रतिशोध, रिसइबी नसाँची सैनिक मर्यादा अनुसार शिष्ट, बिनम्र, तटस्थ भै न्यूनतम मानवीय संबेदना दर्शाउनु पर्ने अभिभारा पूरा भयो वा भएन?

केही अतिविश्वासी स्टाफहरुले आफूखुसी न्यारेटिभ बनाउने काम गरे कि भन्नेबारे थप बहस होला नै तर अनुशासनका मामलामा उनले देखाएको दृढताले सैनिक संगठनको मोराललाई उच्च बनाउन योगदान दिएको छ।

अति बिश्वासी एउटै अनुहारका उनै स्टाफहरुले आफू नजिकिन अरुहरु प्रति घृणाभाव जगाएर हटाउने, घटाउने मेटाउने र आफूमात्र दरो र हिरो हुने जालसाची काम पो गरे कि? नेतृत्वलाई दिने सूचना लुकाउने, बंग्याउने, घटाउने, बढाउने पो गरे कि? जस्ता विषयलाई समयमै खुट्याउनु प्रत्येक नेतृत्वका लागि चुनौतीका विषय हुन्।

यहाँ मनन् गर्नैपर्ने एउटा कुरा के छ भने प्रधानसेनापति थापाको कार्यालय भावी सैनिक नेतृत्व उत्पादन गर्ने एउटा सजीब युनिभर्सिटी हो। र सो युनिभर्सिटीले सैनिक संगठनलाई प्रष्टरुपमा त्यहाँ एउटै अनुहारका उही स्टाफहरुलाई पूरा कार्यकाल ढलिमली गर्न दिनु हुँदैन।

झन् आफ्ना नातागोताका बिश्वासपात्रलाई छनौट गर्न हुँदैन। त्यो अफापसिद्ध र प्रत्युत्पादक मोडल हो। बरु त्यो युनिभर्सिटीमा वर्षेनि ३ छिमल अन्यथा डेढ डेढ बर्षका २ छिमल पृथक स्टाफ समूहलाई शिक्षित–दीक्षित गर्नुपर्दछ भन्ने सिकाएको छ।

त्यसैगरी पिएसओजलाई अझ बढी स्वस्थ छलफल, अन्तरक्रिया र रचनात्मक सुझाव खुलेर राख्ने बाताबरण निर्माण गर्नुपर्छ। तर, पिएसओजहरुलाई राजनीतिक छायाँबाट भने अनिवार्य अलग राख्नैपर्दछ। राजनीतिक भुत खेल्ने खेलाउने जो कोही सैनिकलाई बिना बिलम्ब निलम्बन गरेर गरिमामय अराजनीतिक संगठनलाई स्वच्छ र निश्कलंक राख्नैपर्दछ।

प्रधान सेनापतिलाई उनका अति बिश्वासी स्टाफ मण्डलीले आफ्नो योगदान र त्यागको तेजिलो रापिलो जुनमा ग्रहण लगाइदिए कि ग्रहण फटाइदिए त्यो भविष्यले मूल्याङ्कन गर्नेछ। यद्यपि, समग्रमा उनको ३ वर्षे कार्यकाल इतिहासमा स्वर्णिम भनेर लेखिने छ। र जोडदार सुधारको त्यो स्वर्णिम काल आधुनिक इतिहासमा कोसेढुंगा साबित हुनेछ।

नयाँ नेतृत्वलाई शुभकामना

साँढे तीन दशक लामो स्वच्छ र निस्कलंक सेवा नयाँ नेतृत्वको पूँजी र शक्ति हो। उनी इतिहास कै पहिलो शिक्षित, दीक्षित्, अनुभवी र परिपक्व नेतृत्व हुन्। उनलाई सर्बोच्च पदमा पुर्‍याउन संगठनको ठूलो लगानी खर्च भएको छ।

तसर्थ, सबैबाट सिकेका पाठहरुको अनुशरण र उच्च नैतिकता एवं व्यबसायिक मूल्य र मान्यताको प्रदर्शनबाट सबैभन्दा बढी योगदान र त्याग गर्ने पहिलो ऐतिहासिक प्रधानसेनापति महारथी प्रभुराम शर्मा हुनेछन् भन्ने आशा र विश्वास गर्न सकिन्छ।  बिदाइ हुने प्रधानसेनापतिले दिएको सन्देश र देखाएको बाटो पनि त्यही हो।

अर्कोतिर मुलुकमा राजनीतिक भ्याकुम् छ। चरम अस्थिरता छ । सुशासन दिवास्वप्न भएको छ। महामारी र भ्रष्टाचारको अन्तरघुलनले जनतालाई असैह्य पीडा छ। बैदेशिक हस्तक्षेप व्यापक छ। सेनालाई आदेश निर्देशन दिने सरकारमा आपराधिक गिरोहको पकड छ।

मुलुकका नेताको राष्ट्रिय अन्तर्राष्ट्रिय बिश्वसनीयता क्रमशः गिर्दो छ। यी चुनौतीका माझमा नयाँ सेनापतिलाई मातृभूमि र जनताको एकमात्र आस्थाको धरोहर नेपाली सेनालाई पूर्ण अराजनीतिक, अनुशासित, व्यबसायिक, प्रतिबद्ध र एकढिक्का राख्नुपर्ने अपरिहार्य आवश्यकता छ।

पूर्ब असल कामहरुलाई निरन्तरता दिँदै नयाँ सुधारका आयामहरु पहिचान र लागू गर्दै संगठनलाई टल्काउन, चम्काउन नयाँ नेतृत्वले अझ बढी त्याग गरेर देखाउने कुरामा दुईमत छैन।

अन्त्यमा, अवकास प्राप्त प्रधानसेनापतिलाई स–आभार सुखद् भविश्यको कामना गर्दै नवनियुक्त प्रधानसेनापनिलाई पूर्ण सफलताको कामना गर्दछु।

लेखक संरक्षणकर्मी हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो