चुनाव जित्न राजनीतिक दलको शरण लिनु एनआरएनएकै बेइज्जत : डा. केसी

डिसी नेपाल
२८ भदौ २०७८ ०:४३

जर्मनी ।    गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्रि केसीले राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन । एनआरएनएको अक्टोबरमा हुने भनिएको दशौं महाधिवेशनको अवसर पारेर शनिबार देश र विदेशका प्रवासी पत्रकारहरूसँगको अन्तरक्रियामा डा. केसीले एनआरएनजस्तो सामाजिक संस्थाको न्युनतम गरिमा समेत नराखी चुनाव जिताइदिन भन्दै नेताको घरदैलो चहार्दै हिड्नु अभियानकै बेइज्जत भएको बताएका हुन् ।

राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्छ तर संस्थामा हस्तक्षेप भित्राउने गरी लम्पसार नपर्न सरोकारवालाहरुलाई आग्रह गर्दै केसीले भने, “नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग मेरो पनि राम्रो सम्बन्ध छ । उहाँहरुसँगको भेटमा चुनाव जिताइदिन आग्रह गर्दै सहयोगको याचना गर्नेहरुलाई मतदाताहरूसँग जान र विधानअनुसार अघि बढ्न सुझाव दिनुहोला भन्ने गरेको छु । मैले भेटेर फोटो खिच्दैमा राजनीतिक दलको उम्मेदवार भयो र जित्नको लागि याचना गर्न पुग्यो भन्ने हुँदैन । म त ती भेटहरुमा तपाईहरु एनआरएनलाई हस्तक्षेप नगरिदिनुस, संस्था हाँक्न हामी सक्षम छौं भनेर भन्ने गरेको छु । ” संस्थाको मर्यादा कायम राख्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने भन्दै उनले विचार मिल्ने साथीहरूको टिम बनाएर अघि बढ्ने तर प्यानलनै भनेर घोषणा भने नहुने बताए । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनको दावी छ ।

१८ वर्षको अवधिमा संघले आफ्नो मार्गचित्र स्पष्टरुपमा कोरेको र आगामी कार्यसमितिले त्यसअनुरुप काम गर्नुपर्ने बताउँदै केसीले गैरआवासीय नेपालीले राजनीतिकबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार पाउनुपर्ने पक्षको सुनिश्चिता अब अन्तिम चरणमा रहेको दावी समेत गरे । साथै अन्तरक्रियामा बोल्दै डा. केसीले नेपाली नागरिकता लिएको खण्डमा विदेशी नागरिकता गुम्ने देशमा रहेका नेपालीलाई गैरआवासीय कार्डमार्फत ती अधिकार सुनिश्चिता गरिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । विदेशमा बस्दा नेपालको पैतृक सम्पत्ति वा नेपालमा रहंदा कमाएको सम्पत्तिको सुरक्षा र एनआरएन कार्डका आधारमा आर्थिकलगायतका कार्य गर्न पाए पनि अन्य अधिकारका लागि अझै समस्या रहेको उनको भनाइ छ । अन्तक्र्रियामा डा. केसीले गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न आवश्यक भएको पनि बताएका छन् । ऐनमा भएको प्रावधानअनुसार सीमितरुपमा लगानी गर्न वा सम्पत्ति किन्न सक्ने प्रावधान भएपनि व्यवहारमा सम्भव नभएकाले ऐनका प्रावधानहरूमाथि पुर्नविचार गर्नुपर्ने बताएका हुन् ।

एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा. केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल आइसीसी सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा. केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *