इजरायल रोजगारीः अंग्रेजी भाषाको परीक्षा दिएको भोलिपल्टै नतिजा प्रकाशित

डिसी नेपाल
२९ भदौ २०७८ १५:१७

काठमाडौं । सरकारी संयन्त्र (जीटुजी)मार्फत रोजगारीको लागि १ हजार श्रमिक इजरायल पठाउन हिजो(सोमबार) १ बजे गरिएको अंग्रेजी भाषाको परीक्षाको परीक्षाफल आज(मंगलबार) प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि पठाउन गरिएको अंग्रेजी भाषाको परीक्षा दिएको एक दिनपछि नै परीक्षाफल प्रकाशित गरेको हो ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये रुजु गर्दा ७ हजार ९ जना परीक्षामा सामेल हुने भएका थिए । तर, त्यसमा ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि कूल २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेका छन् ।

आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको इजरायल रोजगारीको लागि असोज १ गतेबाट व्यावसायिक सिप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरुको उचाई र तौल परीक्षण तथा अन्तर्वार्ता हुने विभागले जनाएको छ ।

छनौट भएका उम्मेदवारहरुले उचाई र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन जाँदा र दरखास्त फाराम पेश गर्दा अनलाइन प्रणाली FERMS मार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घण्टा अगावै अनिवार्य उपस्थित हुनु पर्नेछ ।

विभागका अनुसार तोकिएको उचाई र तौल सम्बन्धि मापदण्ड पूरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाणपत्र एवं अनलाइन दरखास्तका साथ पेश गरिएका कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *