चीनले आफूविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियाको गुटबन्दीको समाधान यसरी निकाल्यो

डिसी नेपाल
१ असोज २०७८ १४:४९

काठमाडौं। चीनले एसिया प्रशान्त क्षेत्रमा आफ्नो स्थितिलाई अझै बलियो बनाउने दिशामा एसिया प्रशान्त व्यापार सम्झौतामा सहभागी हुन आवेदन दिएको छ । चीनले यो कदम त्यतिबेला उठाएको छ जतिबेला एक दिन अघिमात्र यस क्षेत्रमा ऐतिहासिक सुरक्षा सम्झौतालाई अमेरिका, बेलायत र अस्ट्रेलियाले अनुमति दिइसकेका छन् । अक्स नामबाट चिनिएको यो सम्झौतापछाडि अमेरिकाको उद्देश्य यस क्षेत्रमा चीनको दबदबालाई कम गर्नु बताइएको छ ।

चीन जुन सम्झौतामा सहभागी हुन चाहिरहेको छ त्यो सम्झौता अमेरिकाले नै चीनको दबदबा अन्त्य गर्न कम्प्रिहेन्सिभ एण्ड प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरसिप (सीपीटीपीपी) नामबाट सुरु गरेको थियो । तर, २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्झौताबाट बाहिरिएका थिए । चीनका वाणिज्य मन्त्री वांग वेन्टाओले विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाले मुक्त व्यापार सम्झौताका लागि न्यूजिल्याण्डका व्यापार मन्त्री डेमियन ओकोनोरसमक्ष निवेदन दिएको बताएका छन् ।

न्यूजिल्याण्डले यो सम्झौताको प्रशासनिक केन्द्रको रुपमा काम गर्छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार चीनको आवेदनपछि वांग र ओकोनोरले टेलिफोनमा अबको कदमका विषयमा चर्चा गरेका छन् । वास्तविक ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) लाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अगाडि बढाएका थिए जसको उद्देश्य चीनको एसिया प्रशान्त षेत्रमा बढ्दो दबदबाविरुद्ध एक आर्थिक गुट गडा गर्नु थियो ।

पछि ट्रम्पले अमेरिकालाई यो सम्झौताबाट अलग्याएका थिए र जापानको नेतृत्वपछि यो सम्झौताले सीपीटीपीपीको रुप लिएको थियो । २०१८ मा यो सम्झौतामा ११ देशले हस्ताक्षर गरेका थिए जसमा हस्ट्रेलिया, क्यानडा, चिली, जापान, न्यूजिल्याण्ड लगायत देश छन् । जूनमा बेलायतले सीपीटीपीपीमा सहभागी हुनको लागि औपचारिक छलफल सुरु गरेको थियो । थाइल्याण्डले पनि यो सम्झौतामा सहभागी हुन रुची राख्ने संकेत दिएको थियो ।

सीपीटीपीपी चीनको लागि निकै महत्वपूर्ण साबित हुन सक्छ र खासगरी त्यो बेलामा जब उसले गत वर्ष नोभेम्बरमा १४ देशहरुसँग एउटा अलग्गै मुक्त व्यापार सम्झौता गरेको छ जसलाई रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप (आरसीइपी) भनिन्छ । आरसीइपी विश्वको सबैभन्दा ठूलो व्यापारिक गुट हो जसमा दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देश सहभागी छन् ।

चीनले सीपीटीपीपीमा सहभागी हुने आधिकारिक घोषणा त्यतिबेला गरेको छ जतिबेला बेलायत, अमेरिका र अस्ट्रेलियाले एक दिन पहिले मात्र एक ऐतिहासिक सुरक्षा सम्झौताबारे बताएका थिए । यो सम्झौताले पहिलो पटक अस्ट्रेलियालाई परमाणु क्षमतासहितका पनडुब्बी बनाउने अनुमति दिनेछ जसको प्रविधि उसलाई अमेरिका र बेलायतले उपलब्ध गराउनेछन् ।

विश्लेषकहरुका अनुसार यो सम्झौता अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधि पनि आउनेछन् र यो कैयौं दशकमा अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्झौता हो । चीनले अक्सको निन्दा गर्दै यसलाई ‘निकै गैरजिम्मेवारीपूर्ण’ र ‘संकीर्ण सोचयुक्त’ भनेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले भनेका छन् कि यो गठबन्धनले ‘क्षेत्रीय शान्तिलाई गम्भीर नोक्सानी गर्नेछ र हतियारको दौडलाई बढाउनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *