न्यूजिल्याण्डको टिम नखेली फर्किनुलाई पाकिस्तानले भन्यो ‘षड्यन्त्र’, भारतीय मिडियामाथि आरोप

डिसी नेपाल
२ असोज २०७८ १४:००

काठमाडौं। पाकिस्तानका गृहमन्त्री शेख राशीद अहमदले न्यूजिल्याण्डको क्रिकेट टिमको पाकिस्तान भ्रमण रद्द हुनुलाई ‘षड्यन्त्र’ भनेका छन् । शुक्रबार उनले न्यूजिल्याण्डको भ्रमण रद्द गराउनुको पछाडि षड्यन्त्र भएको आरोप लगाउँदै विगत १८ वर्षमा कुनै टिमले भ्रमण रद्द गरेको पहिलो पटक भएको बताए । एक प्रश्नको जवाफ दिने क्रममा अहमदले यसलाई षड्यन्त्र भने पनि षड्यन्त्रकर्ताको नाम बताउन अस्वीकार गरे ।

उनले यसलाई क्षेत्रमा शान्तिको प्रयासलाई नोक्सानी गर्ने प्रयास बताए । इस्लामाबादमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले न्यूजिल्याण्डका सुरक्षा प्रभारीले बिहान अधिकारीहरुसँग भेटेर खतराको आशंका जनाएको बताए । उनका अनुसार अधिकारीले असुरक्षा महसुस हुनुको कारणबारे सोध्दा न्यूजिल्याण्डका सुरक्षा प्रभारीसँग बताउने कुरा केही थिएन ।

अहमदका अनुसार रावलपिंडीमा हुने खेलहरुको लागि पाकिस्तानी सेनाको विशेष समूह एसएसजी, सैनिकहरु र ४ हजार पुलिसकर्मीलाई तैनाथ गरिएको थियो । उनले भने ‘हामीले उनीहरुलाई दर्शकबिना पनि खेल खेल्नको लागि मनाउने प्रयास गर्यौं तर उनीहरु यसको लागि पनि तयार भएनन् ।’ गृहमन्त्रीका अनुसार न्यूजिल्याण्डको टिमले यस सम्बन्धमा अहिले दुसान्बेमा रहेका प्रधानमन्त्री इमरान खानसँग पनि कुरा गरेका थिए ।

गृहमन्त्रीले भने ‘प्रधानमन्त्रीले न्यूजिल्याण्डकी प्रधानमन्त्रीलाई फोन गर्नुभयो र उनको देशको टिमलाई पूरै सुरक्षा प्रदान गर्ने आश्वासन दिनुभयो । न्यूजिल्याण्डकी प्रधानमन्त्रीले खतराको कुनै मुद्दा नभएको बताउनुभयो ।’ अहमदका अनुसार न्यूजिल्ण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले न्यूजिल्याण्ड सरकारलाई टिम स्टेडियम जानको लागि बाहिर निस्किएपछि उनीहरुमाथि आक्रमण हुन सक्ने खुफिया जानकारी प्राप्त भएको बताएकी थिइन् ।

गृहमन्त्रीका अनुसार न्यूजिल्याण्डको सुरक्षा टिमले चार महिना पहिले पाकिस्तानको भ्रमण गरेको थियो । यो भ्रमण अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता हुनको लागि तय समयसीमाभन्दा केही पहिले मात्रै तय भएको थियो । अहमदका अनुसार भारतीय मिडियाले पाकिस्तानलाई बदनाम गरिरहेको छ तर उनीहरुको यो प्रयास विफल पारिनेछ ।

न्यूजिल्याण्डले रावलपिंडी क्रिकेट स्टेडियममा पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने तय थियो तर पहिलो खेल सुरु हुनुभन्दा केही मिनेट पहिले सुरक्षा चिन्ताको हवाला दिँदै न्यूजिल्याण्ड टिमले आफ्नो खेल तालिका रद्द गरिदियो । न्यूजिल्याण्डको टिम अब त्यहाँबाट फर्किने तयारी गरिरहेको छ । १८ वर्षपछि खेल्नको लागि पाकिस्तान आएको न्यूजिल्याण्डको टिमले रावलपिंडीमा तीन एकदिवसीय र लाहोरमा ५ टि–२० खेल्ने कार्यक्रम थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *