महानगरीय प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना

डिसी नेपाल
८ असोज २०७८ २०:५३

काठमाडौं । नेपाली हिन्दुहरुको चाडपर्व दशै तिहार नजिकिदै गर्दा काठमाडौ उपत्याकाको शान्ति सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएको छ ।

चाडबाडको मौका छोपेर आपराधिक घटना, चोरी, डकैती जस्ता सुरक्षा चुनौती रहेको भन्दै विशेष सुरक्षा योजना बनाएको छ । सो योजना काठमाडौ, ललितपुर, भक्तपुर तीन वटै जिल्लालाई गरेर परिचालन गर्न निर्दैशन दिएको छ । तीन वटै जिल्लाको प्रहरी प्रमुखलाई बोलाएर महानगरीय प्रहरी कार्यालयले काठमाडौ उपत्यकाको सुरक्षा विशेष ध्यान दिन निर्दैशन दिएको छ ।

साथै ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक महाशाखालाई पनि निर्दैशन दिइसकेको कार्यालयका प्रमुख एआइजी हरि पालले जानकारी दिए । ‘तीन वटै जिल्लाको सुरक्षाका लागि सम्बन्धित प्रहरी कार्यालय र कार्यालय प्रमुखहरुलाई निर्देशन गइसकेको छ’, एआइजी पालले भने ।

काठमाडौंबाट घर फर्किनेहरु विभिन्न ठगी, लुटपाटलगायतको अपराधिक घट्ना हुने भएकाले प्रहरीले विशेष सजगकता अपनाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । धेरै व्यक्तिहरु काठमाडौंमा घर बन्द गरेर गाउँतर्फ जाँदा पनि चोरीका घटना बढ्ने गरेकाले पनि बढी नै सजगकता अपनाउने पर्ने प्रहरीले जनाएको छ ।

काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उच्चस्तरीय पदाधिकारीहरुको भेटघाटमा सुरक्षा लगायतका विषयमा पनि प्रहरीको ध्यान जाने भएकाले दशै तिहार जस्ता महत्वपूर्ण चाडबाडमा अपराधि क्रियाकलाप हुनसक्ने भन्दै प्रहरीले सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसरले महानगरीय प्रहरी कार्यालयको निर्देशन अनुसार विशेष सुरक्षा योजना नै बनाएर चाडबाडको बेला लागू गर्ने जनाएको छ । त्यस्तै ललितपुर र भक्तपुरले पनि सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कामय गर्ने जनाएको छ ।

काठमाडौं परिसरका अनुसार बहुमूल्य सामान तथा पैसाका लागि चोरी, हत्या लगायतका घटना हुनसक्ने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरिसकेको छ । यस्तै, जुवा, मारपिट, वैदेशिक मुद्रा सटहीमा ठगी, पेय पदार्थमा नसालुपदार्थ मिसाई खुवाउने र लुटपाट गर्ने जस्ता समस्या आउन सक्नेतर्फ सचेत रहन आग्रह गरेको छ ।

दशैं, तिहार तथा छठ मनाउने क्रममा पटाकाको निकासी, प्रज्ज्वलनशील र विस्फोटक पदार्थबाट बच्चा र ठूला मानिसहरु घाइते हुनसक्ने, पटाकाबाट आगलागी हुनसक्ने र धनजनको क्षति हुनसक्ने पनि परिसरले जनाएको छ ।

दशैंका बेला टिकटको अभावले छतको प्रयोग मदिरा सेवन र हतारका कारण सवारी दुर्घटनाको संख्या र मुत्यु हुनेहरु बढ्न सक्छन् । यस्तै, सवारी टिकट महँगो मूल्यमा विक्रीजस्ता समस्या पनि आउने देखिएकाले परिसरले सबैतिर सादा पोशाकका प्रहरी परिचालन गरेर निगरानी गर्ने र अपराध भए त्यस्तालाई तुरुन्तै कानुनी दायरामा ल्याउन जनाएको छ । ‘ चाडबाडका बेला हुने गुण्डागर्दी, कालोबजारी, चोरी, लुटपाट, डकैती, पटाकालगायत विस्फोटक पदार्थको प्रयोग, अवैध मदिराको उत्पादन, बेचबिखन, ओसारपसरा र अस्वाभाविक सेवन, लागूऔषध खरिदविक्री, जुवा तथा आपराधिक गतिविधिहरु नियन्त्रण गर्नुपर्ने योजना बनाइएको छ’, काठमाडौ परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने ।

उनका अनुसार चाडबाडको बेलामा सुरक्षा योजना लागु गर्दै करिब ४ हजार जनशक्ति खटिनेछन् । परिसर मातहतमा रहेको निकायलाई १४ वटा स्थानमा सुरक्षाको जिम्मा दिइएको छ । जसमा डीएसपीको कमाण्डमा ७ जनाको प्रहरी संख्या रहेको हुनेछ, २४ स्थानमा मोबाइल टोली पनि खटिनेछ । परिसरकै मातहतमा बिहानदेखि बेलुकासम्म ९० स्थानमा पिकेट ड्युटी परिचालन हुने भएको छ । क्युआरटी मोटरसाइकल टोली ७६ वटा, सील सर्च लगायत ३६ स्थान, क्युआरटी १४ वटा, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा पम्लेट माइकिङ ३५ स्थानमा गरिने भएको छ ।

सादा पोसाकका प्रहरी ३८ स्थानमा खटिनेछन् भने बिहानदेखि बेलुकासम्म २१ स्थानमा चेकप्वाइन्ट रहनेछ । हेल्प डेक्स ११, टिकट काउन्टर ११, एम्बुसिङ र निगरानी २२ स्थानमा र अनुगमन ड्युटी ४ वटा हुने भएको छ । प्रहरीले अनावश्यक भीडभाड कम गर्न पनि प्रहरी परिचालन गर्ने भएको छ । चोरीडकैतीलाई ध्यान दिई सपिङ मल, गरगहनाको पसल, एटीएम बुथ र आर्थिक कारोबार हुने स्थानहरु वरिपरि प्रहरीको निगरानी बढाइएको छ ।

त्यसैगरी ललितपुर प्रहरी परिसले पनि आफ्नो जिल्लाको सुरक्षाका लागि चुस्त दुरुस्त तयारी गरेको एसएसपी किरण बज्राचार्यले जानकारी दिइन । ‘चाडवाडको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई ध्यान दिएर हामीले प्रयाप्त सुरक्षा प्रबन्ध गरेका छौ सुरक्षाको कुनै कमि हुनुछैन, ललितपुरको एरिया शहरदेखि गाँउसम्म भएकाले सबैतिर ध्यान दिइएको छ’, एसएसपी बज्राचार्यले भनिन ।

चाडवाडको मुखमा बैंक, वित्तीय संस्था र सुन पसलमा चोरी र लुटपाट, भीडभाड हुने स्थानमा चोरी हुन सक्ने भन्दै प्रहरीले सावधानी अपनाउनसमेत सबैसँग आग्रह गरेको एसएसपी बज्राचार्यको भनाई छ । प्रहरीले चाडवाड विशेष योजना अघि सार्दै घर, सरकारी कार्यालय भएको स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने स्थान, काठमाडौं प्रवेश गर्ने नाका, सडक र गेष्टहाउस तथा होटलमा विशेष निगरानी राख्न सुरू गरिसकेको पनि उनले बताइन ।

ट्राफिकको यात्रु सहायता कक्ष सञ्चालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरि ‘यात्रु सहायता कक्ष’ संचालनमा ल्याएको छ । काठमाण्डौंको गोंगबु स्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृत, स्थानिय प्रहरी, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधी, लोत्से बहुउद्धेश्य प्रालीका अध्यक्ष, ट्राफिक स्वंयमसेवक, बिभिन्न सँघसंस्थाका प्रतिनिधी र यात्रुहरुको उपस्थितिमा सो कक्ष सञ्चालनमा ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरुप नयाँ बसपार्कमा कक्ष स्थापना गरि शुरु गरेका हौं, यात्रुका गुनासोहरु सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यका साथ कक्ष शुरु गरिएके छ’, महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार दशैँ मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुहरुलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकट लगायत अन्य यातायात सम्बन्धी समस्याहरुलाई सहजता दिलाउन कक्षले काम गर्नेछ । कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसुचित गराउने, जनचेतनामुलक पर्चापम्प्लेट बितरण गर्नेछ ।

त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिए । यात्रु सहायता कक्ष भएका स्थानहरुमा निशुल्क मास्क बितरण समेत हुनेछ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । शुक्रबारबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको छ । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी संचालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *