दशैंतिहारमा हातहतियार रोक्न उपत्यकाका प्रमुख नाकामा प्रहरीको ‘डग स्निफिङ’ कार्यक्रम

डिसी नेपाल
१२ असोज २०७८ ७:१२

काठमाडौं। नेपालीहरुको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ। साेमबारदेखि लागू सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ।

खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । जसअन्तर्गत नाकामा प्रहरीसँगै तालिम प्राप्त कुकुरले पनि जाँच गर्नेछन्।

महानगरी प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले काठमाडौं छिर्ने मुख्य मुख्य नाका थानकोट, फर्पिङ, साँगा, नुवाकोट छिर्ने नाका र अरु साना नाकामा विशेष निगरानी र जाँचको व्यवस्था मिलाएको बताए।

‘चाडपर्वको पूर्वसन्ध्यामा विभिन्न आपराधिक प्रकृतिका मान्छेको प्रवेश हातहतियार प्रवेश गराउनसक्ने अथवा विभिन्न खाले तस्करीका सामान काठमाडौं उपत्यकामा भित्र्याउन सक्ने र तिहारलाई पनि लक्षित गरेर पटाकाजन्य विस्फोटक वस्तुहरु पनि भित्र्याउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर हामीले विशेष निगरानी गरिरहेका छौं,’ उनले भने, ‘यस्ता नाका चेकिङ्गमा हामीले कुकुरको पनि परिचालन गरेका छौं। डग स्निफिङ (कुकुरबाट चेकिङ) को व्यवस्था गरिएको छ।’

सुवेदीले गलत मनसायको मान्छे र गलत चिजवस्तु अथवा पटाकाजन्य वस्तुहरु भित्र्याउन खोजेको अवस्थामा डग स्निफिङको सहयोगमा तत्काल नियन्त्रणमा लिने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *