ईपीएल क्रिकेट : सानदार जितसँगै चितवन पहिलोपटक फाइनलमा

डिसी नेपाल
२० असोज २०७८ १२:०९

काठमाडौं। सहज जितसहित चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो।

सुरुआती चार खेलमा जित निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका दुई सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन। यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौं खेलमा पराजित भएको थियो।

आज भएको क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे।

२६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए। यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो । त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो ।

कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए । यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए । पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ ।

पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आज नै एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हुन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *