ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

डिसी नेपाल
२३ असोज २०७८ ७:०४

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ।

शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछन्। विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक फाइनलमा पुगेका हुन्।

यसअघि इपिएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो।

यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटलेनै पराजित गरेको थियो।

पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो। पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए। ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *