दसैँको मुखमा मलेसिया र साउदीबाट आइपुग्यो १० नेपालीको शव

डिसी नेपाल
२३ असोज २०७८ ११:२६

काठमाडौं । हिन्दुहरुको महान चाड वडादसैँको मुखैमा आज बिहान(शनिबार) मलेसिया र साउदीबाट १० जना नेपालीको शव र अस्तु(खरानी) आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १० जना नेपालीहरुको शव र अस्तु आइपुगेको हो ।

वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाईका अनुसार साउदीमा मृत्यु भएका एक नेपालीको शव श्रीलंकन एयरलाइन्सबाट आएको हो भने मलेसियाबाट आ.ए.को फ्लाईटबाट एकैपटक आठ जनाको अस्तु र एक जनाको शव ल्याइएको हो ।

साउदीमा मृत्यु भएका तनहुँका निशान भट्टराईको शव आज बिहान श्रीलंकन एयरलाइन्सबाट काठमाडौं आइपुगेको हो । मृतक भट्टराईको पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

त्यसैगरी, आ.ए.को फ्लाइटबाट काभ्रेपलान्चोकस्थित महादेवस्थानका टेकबहादुर तामाङको शव ल्याएको छ भने महोत्तरीका रामदेव महत्तो, उदयपुरका अंगत राई , खोटाङ्गका जितबहादुर बस्नेत, नवलपरासीका सुरज खवास, सुर्खेतका गुप्ता बहादुर खत्री, ओखलढुंगाका तेजबहादुर खत्री, धनुषाका भोली मण्डल, लमजुङ्गका सूर्यबहादुर गुरुङको अस्तु आइपुगेको हो ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको शवलाई बोर्डले निःशुल्क घर तथा सम्बन्धित स्थानसम्म पुर्याउने गर्दै आएको छ ।

चौलागाईका अनुसार विमानस्थलमा विदेशबाट आइपुगेका शव आफन्त तथा सम्बन्धित व्यक्तिहरुले समयमै जिम्मा लिइहाल्ने गर्छन् । तर, ल्याइएका अस्तु भने समयमै जिम्मा लिन नआउने हुनाले हप्तौं दिनसम्म पनि अस्तु विमानस्थलमै रहने गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *