कन्टेनरमा थुनेर अमेरिका लैजान लागिएका ११ नेपालीसहित १२६ आप्रवासीको ग्वाटेमालाबाट उद्धार

डिसी नेपाल
२४ असोज २०७८ १२:३६

काठमाडौं। बन्द बन्टेनरभित्र थुनेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएका नेपालीसहित १२६ जना आप्रवासीको ग्वाटेमालाबाट उद्धार गरिएको छ । यी आप्रवासीलाई बन्द कन्टेनरमा राखेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएको थियो । उनीहरुलाई कन्टेनरभित्र बन्द गरेर अलपत्र अवस्थामा छाडिएको थियो । कन्टेनरभित्रबाट गुहार मागिरहेका उनीहरुको आवाज सुनेपछि ग्वाटेमाला प्रहरीले उद्दार गरेको हो ।

कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ । उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हैटीका नागरिक भएको बुझिएका छ । बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् ।

‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने । उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमाला मध्य अमेरिकी देश हो । यहाँबाट मेक्सिको पार गरेपछि अमेरिका पुगिन्छ । मेक्सिकोसँगको सीमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले अत्याधिक प्रयोग गर्छन् । यही कारण अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँ पर्खाल बनाउन सुरु गरेका थिए ।

‘हामीले कन्टेनरभित्रबाट रोएको र कन्टेनरको भित्ता हानिरहेको आवाज सुन्यौं । हामीले ढोका खोजेर भित्र हेर्दा त्यहाँ १२६ जना दस्तावेनबिनाका मानिसहरु थिए । उनीहरु १०६ जना हैटीका, ११ जना नेपाली र ९ जना घानाका थिए’ पुलिस प्रवक्ता जर्ज अगुइलरले जर्मन मिडिया डेचे वेलेसँग भने । अब ती आप्रवासीहरुलाई होन्डुरास पठाइनेछ किनकि उनीहरु होन्डुरासबाटै ग्वाटेमाला प्रवेश गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *