पाकिस्तानसँग हारेपछि भारतीयहरुले मोहम्मद शमीलाई ‘पाकिस्तानी गद्दार’ भने

डिसी नेपाल
८ कार्तिक २०७८ १७:१८

काठमाडौं। भारतले विश्वकपमा पहिलो पटक पाकिस्तानसँग हारेको छ । हारपछि भारतीय टिमका पेस बलर मोहम्मद शमी साम्प्रदायिक आक्रमणको शिकार भएका छन् । सामाजिक संजालमा उनलाई साम्प्रदायिक गाली गरिएको छ । मुस्लिम भएकै कारण उनलाई पाकिस्तानी समर्थक भनिएको छ । केहीले उनलाई ‘पाकिस्तानी गद्दार’ समेत भनेका छन् ।

मोहम्मद शमीले पाकिस्तानविरुद्ध राम्रो खेल प्रदर्शन गर्न सकेका थिएनन् । उनले ३.५ ओभरमा ४३ रन दिए र एक विकेट पनि लिन सकेनन् । हुन त हिजोको खेलमा कुनै पनि भारतीय बलरको बलिङ राम्रो थिएन । पाकिस्तानविरुद्ध ५ जना भारतीय बलरले बलिङ गरेका थिए तर कसैले पनि विकेट लिन सकेनन् । इकोनोमीका हिसाबले भने मोहम्मद शमी महंगा थिए ।

भारतको हारसँगै केहीले शमीलाई ‘भारतीय टिममा पाकिस्तानी’ भनेका छन् । केहीले ‘पाकिस्तानको पक्षमा अर्को मुस्लिम’ भनेका छन् । केहीले ‘पाकिस्तानले कति पैसा दियो ?’ भनेका छन् । यी त समाचारमा लेख्न सकिने कुराहरु मात्र हुन् । शमीविरुद्ध कैयौं अश्लील र भद्दा गालीहरु पनि सामाजिक संजालमा प्रयोग भएका छन् जुन शब्दहरु समाचारमा लेख्न समेत सकिँदैन ।

साम्प्रदायिक आक्रमण भएपछि भारतीय टिमका पूर्व ओपनर वीरेन्द्र सहवाग शमीको समर्थनमा आएका छन् । यसबाहेक अल इण्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिनका प्रमुख असदुद्दीय ओवैसीले पनि यस प्रकारको साम्प्रदायिक आक्रमणको आलोचना गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *