लमजुङमा पुस दोस्रो सातादेखि २९औँ त्रिवेणी कप हुँदै

डिसी नेपाल
२७ कार्तिक २०७८ ११:५५

लमजुङ । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक क्लवले आज(शनिबार) पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता आगामी पुस १२ गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो । वर्षेनि यहाँ उक्त प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको र यसवर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

उनले भने, ‘खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ । फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।

यस्ता प्रतियोगिताबाट वर्षेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्षसमेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई तीन लाख रुपैयाँसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताए । त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई ५०/५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई जनही १५/१५ हजार प्रदान गरिने भएको छ ।

प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिका खेलहरुमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *