चन्द्रनिगाहपुरमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

डिसी नेपाल
२८ कार्तिक २०७८ ८:३५

काठमाडौं। रौतहटको गौर–चन्द्रनिगाहपुरमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ। सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ।

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार बम नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार दुर्घटना भएको र पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत जाँदा उनीहरुको कारभित्रै मृत्यु भैसकेको थियो।

प्रहरीले पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको प्रहरीको दावी छ। मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेको छ। मदिरा सेवन गरेर गाडी चलाएकोले तीव्र गतिमा आउँदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *