खेलका आधारमा विजेता नचुनिएको भन्दै टि–२० विश्वकपको आलोचना

डिसी नेपाल
२९ कार्तिक २०७८ १२:५८

काठमाडौं। टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि–२० विश्वकपको उपाधि जितेको हो । तर, यो विश्वकपमा खेलको आधारमा विश्वविजेता नचुनिएको भन्दै यो प्रतियोगिताको आलोचना पनि भइरहेको छ ।

जारी विश्वकपको सुरुवातदेखि अन्त्यसम्म एउटै ट्रेन्ड देखियो – टस जित्नेले खेल पनि जित्ने । सेमिफाइनल र फाइनलमा त यसको प्रभाव अत्याधिक देखियो । सुपर १२ राउण्डमा पनि यस्तै भयो । टि–२० विश्वकपमा भएको कूल ४५ खेलमध्ये ३० खेल अर्थात दुई तिहाइ खेल टस जित्ने टिमले जिते । फाइनल खेलिएको दुबइ अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएका १३ खेलमध्ये ११ खेल टस जित्ने टिमले जिते । १३ वटा खेलमध्ये १२ खेल पहिले बलिङ गर्ने टिमले जिते ।

फाइनलमा पनि यस्तै देखियो । अस्ट्रेलियाले टस जितेर बलिङ रोज्यो र खेल पनि उसैले जित्यो । यसअघि पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको थियो र खेल पनि यसैले जितेको थियो । दोस्रो सेमिफाइनलमा पनि अस्ट्रेलियाले टस जितेर बलिङ रोज्यो र खेल उसैले जित्यो । फाइनलसम्म आइपुग्दा यहाँ स्पष्ट रुपमा खेल जित्नको लागि पहिले बलिङ गर्नुपर्छ भन्ने सबैलाई थाहा भइसकेको थियो । अर्थात यहाँ जित्नको लागि खेलभन्दा पहिले टस जित्नुपर्छ भन्ने स्पष्ट भइसकेको थियो ।

क्रिकेटको अन्तर्राष्ट्रिय छाता संगठनले आयोजना गरेको प्रतियोगितामा यसरी खेलभन्दा टस सबैभन्दा अहम हुनु र टस जितेपछि के गर्नुपर्छ भन्ने पहिले नै सबैलाई थाहा हुने अवस्था आउनु अनुचित भएको भन्दै विशेषज्ञहरुले यसको आलोचना गरेका छन् । खेलको आधारमा भन्दा पनि टसका आधारमा विजेता छानिने अवस्था आएको भन्दै प्रतियोगिताको आलोचना भइरहेको छ । समय र मौसमले खेललाई यति धेरै प्रभावित पार्ने अवस्था सृजना गरिनु नहुने भन्दै यसको आलोचना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *