क्रिकेट इतिहासमै भारतको लागि लाजमर्दो दिन, आइसीसीको उत्कृष्ट टिममा कुनै भारतीय छैनन्
काठमाडौं। विश्वकपको खेलमा पाकिस्तानसँग हारेपछि नै लाजमर्दो अवस्थाको सामना गरिरहेको भारतीय क्रिकेट टिमको लागि आज झनै लाजमर्दो दिन बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपको समाप्तिसँगै विश्वकपमा खेलेका खेलाडीहरुमध्येबाट सर्वोत्कृष्ट प्लेइङ ११ घोषणा गरेको छ । यो टिममा आइसीसीले एक जना पनि भारतीय खेलाडीलाई राखेको छैन ।
पाकिस्तानी कप्तान बाबर आजमलाई आइसीसीले यो टिमको कप्तानको जिम्मेवारी दिएको छ । बाबर आजमले विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले ६ खेलमा ६०.६ को औसतमा र १२६.२५ को स्ट्राइक रेटमा ३०३ रन बनाएका थिए । ६ खेलमा बाबरले ४ अर्धशतक बनाए ।
आइसीसीको सर्वोत्कृष्ट टिमको छनोट गर्ने प्यानलमा इयान बिशप, शेन वाटसन, नताली जर्मनोस, पत्रकारहरु लरेन बुथ र शाहीद हाशमी थिए । आइसीसीको सर्वोत्कृष्ट टिममा ब्याटिङ क्रमको हिसाबले क्रमशः डेभिड वार्नर, जोस बटलर, बाबर आजम (कप्तान), चरित असलंका, एडेन मार्करम, मोइन अली, वानिन्दु हसरंगा, एडम जाम्पा, जोश हेजलउड, ट्रेन्ट बोल्ट र एनरिक नोर्त्जे छन् । १२ औं खेलाडीको रुपमा शाहीन शाह आफ्रिदीलाई राखिएको छ ।
Facebook Comment