किन अझै चीन कोरोनाभाइरसलाई निमिट्यान्न पार्ने कोसिसमा छ?

डिसी नेपाल
२९ कार्तिक २०७८ १६:३८

बेइजिङ (बीबीसी)। विश्वभरि नै मानिसहरू कोभिडका कारण लगाइएको लकडाउनपश्चात्‌को जीवनसँग अभ्यस्त हुँदै छन्। महामारी सुरु भएको चीन भने अझै कोरोनाभाइरस निर्मूल पार्ने नीतिमा निरन्तर लागिपरेको छ।

चीनमा ठाउँ सोध्न पाँचतारे होटलमा प्रवेश गरेका एक जना मानिस होटलका एक सङ्क्रमित अतिथिको सम्पर्कमा आएका कारण दुई सातासम्म क्वारन्टीनमा बस्न बाध्य भए।

तीव्र गतिको एउटा रेलमा चालक दलका एक जना सदस्य सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि यात्रुहरूको ठूलो समूहलाई नै क्वारन्टीनमा राखियो र परीक्षण गरियो।

साङ्घाइस्थित डिज्नील्याण्डमा अघिल्लो दिन पुगेका एक जना मानिसलाई सङ्क्रमण देखिएपछि त्यहाँ भोलिपल्ट आएका ३३,८६३ जनालाई सामूहिक परीक्षण गराइयो।

महामारीसँग जुध्नका लागि सबैभन्दा पहिला प्रतिबन्धहरू लागू गर्ने चीन हो भने सबैभन्दा ढिला प्रतिबन्ध खुकुलो गर्ने देशहरूमा पनि चीन नै पर्छ।

चीनका सडकतिर भेटिएका सर्वसाधारण आफू सुरक्षित रहँदासम्म भाइरसविरुद्ध लगाइएका निरन्तरका उपायहरूबारे आपत्ति व्यक्त गर्दैनन्।

चीन चाँडै खुल्नुपर्छ कि पर्दैन भनेर एक जना महिलासँग सोध्दा उनले सुरक्षा सबैभन्दा पहिला आउने भएकोले महामारी नटर्दासम्म कुर्नु उचित हुने बताइन्।

कामबाट घर फर्किँदै गरेकी अर्की महिलाले भाइरस पूर्ण रूपमा बुझ्न नसकिएकाले खोलिहाल्नुभन्दा यसलाई रोकिरहनु नै ठिक हुने बताइन्।

अन्य देश जस्तै अस्ट्रेलिया, न्यूजील्याण्ड र सिङ्गापुरले पनि कोरोनाभाइरसको प्रत्येक प्रकोपको बेला समुदायबाट पूर्ण रूपमा कोरोनाभाइरसको सङ्क्रमण नहट्दासम्म सहरहरूमा लकडाउन लगाए।

उनीहरूको उद्देश्य पनि स्थानीय रूपमा सर्ने क्रम शून्यमा झरोस् भन्ने नै थियो।

तर यो नीतिलाई परिवर्तन गराउने दुई वटा कुरामध्ये एउटा भनेको डेल्टा भेरिअन्ट नियन्त्रणका लागि कडा नियमहरू लगाउनु र अर्को भनेको खोप धेरै मात्रामा उपलब्ध गराउनु थियो।

खोप दर धेरै हुनुको अर्थ मानिसहरूलाई कोभिड-१९ भए पनि अस्पताल जानुपर्दैन भन्ने हो।

परिणामस्वरूप अन्तर्राष्ट्रिय यात्राका लागि अन्यत्र सीमाहरू खुलिरहेका छन्।

यद्यपि चीनमा भने विदेशीलाई भिसा पाउन गाह्रो छ र चिनियाँहरूको पनि राहदानीको म्याद सकिएपछि म्याद थप गर्न पाएका छैनन्।

अन्यत्र मानिसहरू “भाइरससँगै बाँचिरहेका छन्”, चीनमा चाहिँ होइन।

त्यहाँ डेल्टाको नयाँ प्रकोप देखिँदा खोप आउनु पूर्वको अवस्था जस्तै गरी नियन्त्रण गर्न खोजिँदै छ।

यदि चीनको आधिकारिक तथ्याङ्कहरू तथ्यपरक भए अक्टोबरयता १,००० भन्दा बढी स्थानीयमा सङ्क्रमण देखा परेको छ।

यो आकार त्यति ठूलो होइन तर सङ्क्रमण फैलिएको चाहिँ उल्लेख्य हो।

२१ प्रान्तहरूमा सङ्क्रमण फैलिएको छ। यसले अर्थ राख्छ किनभने चीनमा केही मानिसमा मात्रै सङ्क्रमण देखिए पनि सयौँ वा हजारौँलाई सङ्क्रमण देखिए जस्तै गरी कडा खालको प्रतिबन्धात्मक उपायहरू अपनाइन्छ।

‘एउटा पनि सङ्क्रमण स्वीकार्य हुँदैन’

चीनका केही वैज्ञानिकहरूले पुनर्विचारका लागि आह्वान गरे पनि अधिकारीहरूले कडा उपायहरूमा परिवर्तन गर्ने कुनै सङ्केतहरू देखाएका छैनन्।

सरकारका सल्लाहकार समेत रहेका हङकङ विश्वविद्यालयका भाइरोलोजिस्ट प्राध्यापक क्वान यीले सङ्क्रमण पत्ता लगाउने परीक्षणबाट खोपको प्रभावकारिता बुझ्न वैज्ञानिकहरूलाई मद्दत गर्ने एन्टिबडी परीक्षणमा जान आह्वान गरेका छन्।

फिनिक्स टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पूर्ण रूपमा उन्मुलन गर्ने शून्य-कोभिड रणनीतिले काम गर्ने सम्भावना दीर्घकालमा नहुने बताए।

“भाइरस अब स्थायी हो,” उनले भने। “यो सरुवा ज्वरोजस्तो हो जुन लामो समयसम्म मानिसमा घुमिरहन्छ।”

यो अवधारणा अन्य देशका मानिसका लागि अचम्मलाग्दो हुनेछ। तर चीन सरकारले भने भाइरसको सङ्क्रमणमा वृद्धि भएसँगै सङ्क्रमित सङ्ख्या शून्यमा झार्न मानिसहरूलाई आवतजावत गर्न रोक लगाउँछ।

कोरोनाभाइरसको उत्परिवर्तनविरुद्ध चिनियाँ खोपले कति काम गर्छ भनेर सोध्दा प्राध्यापक क्वानले यसको जवाफ खोप उत्पादकले दिनुपर्ने बताए।

बेइजिङको निर्देशनमाथि प्रश्न उठाउने उनी एक्ला प्राज्ञ होइनन्।

न्यूयोर्कमा रहेको काउन्सिल अन फरेन रिलेसन्सका डा. हाउङ यान्झोङले खोपले चीन सरकारले चाहेको उपलब्धि हासिल नगर्नु नै मुख्य समस्या भएको बताए।

“उनीहरू खोपले सङ्क्रमणबाट जोगाउँछ भन्नेमा ढुक्क छैनन्,” उनले बीबीसीसँग भने, “एकदमै उत्कृष्ट खोपले पनि सङ्क्रमणबाट जोगाउन सक्दैन। तर शून्य-सहनशीलताको रणनीतिले एउटा मात्रै सङ्क्रमणको घटना स्वीकार्न सक्दैन।”

डा. हाउङले चीन सरकार यस कुरालाई लिएर राजनीतिक र सैद्धान्तिक रूपमा बाँधिएको बताए।

“महामारीमा चीनले अपनाएको नीति सफल हो भन्ने दाबीका लागि शून्य-सहनशीलताको रणनीति चीनको आधिकारिक कथन हो। त्यसैले यदि त्यो रणनीति त्यागियो भने सङ्क्रमण उल्लेख्य रूपमा बढेको देखिन्छ र त्यसपछि मानिसहरूलाई नीतिमाथि नै प्रश्न गर्ने बनाउँछ।”

‘लाखौँ कारण’

बेइजिङमा केही ठूला कार्यक्रमहरू हुँदै छन् र अधिकारीहरू ती कार्यक्रमहरूमा कोभिड प्रकोपको कुनै घटना नभएको हेर्न चाहन्छन्।

छिट्टै हुन लागेको कार्यक्रम भनेको हिउँद ओलिम्पिक्स हो। टिकटहरू बिक्रीमा गएका छैनन् तर दर्शकहरू उपस्थित गराउने लक्ष्य राखिएको छ।

अर्को अक्टोबरमा कम्युनिस्ट पार्टीको पाँच वर्षमा हुने महाधिवेशन हुँदै छ जति बेला सी जिनपिङले आफ्नो ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्ने ठानिएको छ।

अर्को व्याख्या भनेको चाहिँ जिनपिङ र उनको प्रशासन चीनमा वैदेशिक प्रभाव घटाउन रुचाउँछन् भन्ने पनि हो। र त्यो दिशामा जानका लागि महामारीले एउटा उत्तम बहाना दिएको छ।

अन्य देशले सीमा खोलिरहेका बेला चीनले कहिले त्यसो गर्छ भनेर विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई बीबीसीले सोधेको थियो।

प्रतिक्रियामा उनले अन्य देशको अनुभव चीनले हेरिरहेको र नयाँ भेरिअन्टहरू देखा परिरहेका बेला विज्ञानलाई हेरेर निर्णय लिइने बताए।

‘एकदमै उच्च’ मूल्य

डा. झोङ नानशानलाई चीनमा चिकित्सा क्षेत्रका नायकका रूपमा जस्तै गरी हेरिन्छ। श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ उनी सन् २००३ मा विश्वव्यापी रूपमै चर्चामा आएका थिए।

उनले त्यति बेला सार्स प्रकोप त्यति गम्भीर होइन भन्ने सरकारको धारणालाई चुनौती दिएका थिए।

आजकाल अधिकारीहरूसहित सर्वसाधारणहरू उनको धारणा के छ भनेर सुन्न खोज्छन्।

हालैको एउटा अन्तर्वार्तामा उनले चीनको कोभिड नियन्त्रणका लागि अपनाइएको कडा उपायहरू “लामो समयसम्म रहने” बताएका थिए।

उनले कोभिडका कारण मृत्यु हुने विश्वव्यापी दर दुई प्रतिशत चीनका लागि निकै धेरै भएको बताए।

चीनका अधिकारीहरू यस्तो मामिलामा अलि पुरातनवादी हुन्छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले देश “पुनः खोल्ने” योजना गर्ने तर त्यसका लागि हतार नगर्ने सम्भावना छ।

चीन प्रवेश गर्न वा छोड्न चाहनेहरूसँग ‘पर्ख र हेर’को विकल्प छैन।

मध्यम र उच्च वर्गका मानिसहरू अन्तर्राष्ट्रिय रूपमा यताउता गर्न नपाएको विषयलाई लिएर दुखमनाउ गरिरहेका हुन सक्छन् तर सर्वसाधारण नागरिकहरू भने आफू स्वस्थ रहने भए सरकारले अवस्था नियन्त्रण गरोस् भन्ने नै चाहन्छन्।

यसैबीच परीक्षण, केन्द्रीकृत क्वारन्टीन, यातायातमा नियन्त्रण, उच्च तहको निगरानी र स्थानीय स्तरमा लकडाउन लगायतका कुराहरू चीनमा रहिरहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *