१५ वर्षदेखि पाकिस्तान नगएको भारतीय क्रिकेट टिम अब पाकिस्तान जानुपर्ने

डिसी नेपाल
२ मंसिर २०७८ १२:२२

काठमाडौं। १५ वर्षदेखि क्रिकेट खेल्नको लागि पाकिस्तान नगएको भारतीय क्रिकेट टोली अब पाकिस्तान जानुपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले २०२५ को च्याम्पियन्स ट्रफीको आयोजना गर्ने अधिकार पाकिस्तानलाई दिएको छ । आइसीसीको यो निर्णयपछि सबैभन्दा धेरै प्रश्न यो विषयमा उठेको छ कि भारतीय टिम च्याम्पियन्स ट्रफीमा सहभागी हुन पाकिस्तान जान्छ कि जाँदैन ।

यस विषयमा भारतका खेल तथा युवा मामिला मन्त्री अनुराग ठाकुरले समय आएपछि भारत रसरकार र गृह मन्त्रालयले यस विषयमा निर्णय गर्ने बताएका छन् । अनुराग ठाकुरले भनेका छन् ‘जब समय आउनेछ त्यसपछि फैसला गरिनेछ ।’ अनुराग ठाकुरले अन्तर्राष्ट्रिय खेलको क्रममा सबै पक्षहरुलाई ध्यानपूर्वक हेरिने बताएका छन् ।

मंगलबार आइसीसीले २०२४ देखि २०३१ सम्म हुने आइसीसीका ८ वटा ठूला प्रतियोगिताका १४ फरक फरक आयोजक देशहरुको घोषणा गरेको छ । पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षले च्याम्पियन्स ट्रफीसँग सम्बन्धित कुनै नकारात्मक कुरा नहुने र उसमा कुनै परिवर्तन नहुने अपेक्षा व्यक्त गरेका छन् ।

मिडियासँग कुरा गर्दै अनुराग ठाकुरले सुरक्षा चिन्ताका विषयमा भने ‘पहिले पनि कैयौं देशहरुले सुरक्षा कारणले पाकिस्तानमा खेल्न अस्वीकार गरेका छन् । त्यहाँ खेल्दै गर्दा केही खेलाडीमाथि आक्रमण पनि भएको छ र यो मुद्दा गम्भीर छ ।’ अहिलेसम्म प्राप्त जानकारी अनुसार पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा १५ खेल हुनेछन् र ८ टिम सहभागी हुनेछन् ।

आइसीसीले सार्वजनिक गरेको तालिबाअनुसार जून २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा आइसीसी टि–२० विश्वकप हुनेछ । फेब्रुअरी २०२५ मा पाकिस्तानमा आइसीसी च्याम्पियन्स ट्रफी हुनेछ । यस्तै २०२६ को फेब्रुअरीमा भारत र श्रीलंकाले संयुक्त रुपमा आइसीसी टि–२० विश्वकप आयोजना गर्नेछन् ।

२०२७ को अक्टोबर र नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बाब्बे र नामिबियाले संयुक्त रुपमा एकदिवसीय विश्वकपको आयोजना गर्नेछन् । २०२८ को अक्टोबरमा अस्ट्रेलिया र न्यूजिल्याण्डले टि–२० विश्वकप आयोजना गर्नेछन् । २०२९ को च्याम्पियन्स ट्रफी अक्टोबर महिनामा भारतमा हुनेछ ।

यस्तै जून २०३० मा आइसीसी टि–२० विश्वकप इङल्याण्ड, आयरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गर्नेछन् । ३०३१ को अक्टोबर र नोभेम्बरमा आइसीसी एकदिवसीय विश्वकप हुनेछ । यो प्रतियोगिता भारत र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *