ए डिभिजन लिगः अग्रता जोगाउन नसक्दा संकटाले शेर्पासँग अंक बाढ्यो

डिसी नेपाल
४ मंसिर २०७८ १५:४१

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

त्रिपुरेश्रस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए ।

गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यसवर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने । खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

आजै हुने दोस्रो खेलमा थ्रि स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरू हुँदैछ ।

थ्रि स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरूको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्रि स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए । शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *