पारा तेक्वान्दो र ब्याडमिन्टन टोलीको बिदाइ

डिसी नेपाल
१० मंसिर २०७८ १८:२२

काठमाडौं । एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टोलीलाई सफलताको शुभकामना दिँदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

विभिन्न ९ खेल समावेश युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा सहभागिता जनाउन लागेको हो । तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ गरी ४ खेलाडीले बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने युथ पारामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि विशाल गर्बुजा तथा महिला ५७ केजीमुनि पारा ओलम्पियन पलेसा गोवर्द्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।

ब्याडमिन्टनमा प्रकाश अधिकारीले एसएल– ४४ क्याटगोरीको पुरुष सिंगल्समा खेल्ने छन् । टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले गर्ने छिन् ।

तीन सदस्यीय तेक्वान्दो टोली खेलाडीद्वय सिर्जना र विशाल तथा प्रशिक्षक लामा शुक्रबारै बहराइन प्रस्थान गरेका छन् । बाँकी टोली शनिबार जाँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *