हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध
लमजुङ। हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन्। माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन्। माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए।
मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ। मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए। हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ। उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment