अर्जुन सुवेदी : पितामाथि गोली दागिएको त्यो दिन, शरणार्थीको झुप्रो र अमेरिकाको वैभव

डिसी नेपाल
२५ मंसिर २०७८ ७:१८

कोलम्बस/ ओहायो। शरणार्थी शिविरको छाप्रोमा जीवनका १८ बर्ष बिताउँदा अर्जुन सुवेदीे धेरै दुख, पीडा भोगे। धेरै सास्ती र अभावको जीवन बाँचे। जातीय सफायाको नाममा भुटानी शासकले नेपाली भाषी भुटानी (ल्होत्साम्पा) लाई जन्मभूमिबाट लखेटेसँगै भुटानको त्यो जन्मघर, गाईबस्तुले भरिएको गोठ, खेतबारी, फलफूलले भरिएको बगान अनि आफ्नो माटो छोडेर हिँड्दा उनको जीवनमा चट्याङ परे जस्तै भयो।

एक्कासि जीवनमा कालो बादल मडारियो। त्यसमाथि अर्को अकल्पनीय घट्ना घट्यो, आफ्नो बुबामाथि बन्दुकको गोली बर्सियो। बुवा बिष्णु सुवेदी भुटान र भारतको सीमावर्ती क्षेत्रमा पाखुरामा गोली लागेर घाइते भए। सन् १९९० मै नेपाल आएका ५२ परिवार सँगै गोली लागेका पिता अनि रोगी आमासहित अर्जुन पिता पुर्खाको देश नेपाल आइपुगे भुटानको सर्वाङगेलेफुबाट। भएभरको सम्पति उतै छोडेर दुखको हुन्डरीमा, अनिश्चिताको भुमरीमा।

झापाको माइखोलाको बगरमा केही महिना दुख, पीडाको पराकाष्टा छिचोलेर बेलडाँगी शरणर्थी शिविरको छाप्रोमा जीवनका चरम दुख, पीडा, ताप, सँघर्षका रंगहरु भोगे उनले। प्लाष्टिकले बारेका छाप्रो भित्रका दुखका भब सागर छिचोले। अनागरिक भएर अथाह दुख भोगेका अर्जुन बिगत १२ बर्षदेखि धेरैको सपनाको देश अमेरिकामा छन्।

तर अमेरिकामा समृद्धशाली जीवन बिताएपनि हिजोको दुख, सघर्षका पल अनि शिविरमै रहेकाहरुलाई बिर्सेका छैनन्। अमेरिकामै घर, गाडी जोडेर चिल्लो सडकमा हुँइकिने उनले शिविरको छाप्रो भुलेका छैनन्। त्यसैले त उनीहरुको दुखमा बेलाबेला मलम लगाउन खोज्छन् सकेको। ‘हिजो आफूले शिविरमा भोगेको कष्टप्रद जीवनको कथा भुलेको छैन’, अर्जुन भन्छन्, ‘त्यसैले त्यहाँ रहेकाहरुको दुखमा आफ्नोतर्फबाट थोरै भएपनि आडभरोसा गरिरहेको छु।’

अहिले झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा एउटा स्कुलको भवन बनिरहेको छ, शिविरभित्रका बालबालिकाको शिक्षाको लागि। उनीपढेको हुर्केको र जीवनका धेरै बसन्त बिताएको त्यो ठाँउमा बन्दै गरेको ३ कोठा मध्ये एउटा उनै अर्जुनले बनाइरहेका छन्।

‘शिविर भित्र रहेका असहाय र दिनहीन बालबालिकाको लागि शिक्षामा थोरै भएपनि साहारा बनौं भनेर होस्टेमा हैसे गरेको हुँ’ सुबेदीले भने, ‘आफ्नो बलबुताले भ्याएसम्म केही गरौं भनेजस्तो लाग्छ।’ अझैपनि करिव साढे ६ हजार भुटानीहरु बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा रहेका छन्।

वर्षौं  शरणार्थी शिविरको छाप्रोमा रहेर दुखको महासागर  झेलेका भुटानी नेपाली युवाअर्जुन सुवेदी अहिले अमेरिकामा बसेर नेपालभाषी भुटानी समुदायको हितका लागि काम गरिहेका छन्।

अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बसमा नक्षत्र फाउन्डेसन नामक गैरनाफामुखी संस्था खोलेर सामाजिक तथा साँस्कृतिक गतिविधिमा सक्रिय छन् उनी विगत ३–४ वर्षयता। यो संस्थाले अमेरिकामा नेपाली कला, संस्कृति जोगाउने खालका गतिविधि तथा सामुदायिक हितका काम गर्दै आएको छ भने नेपालमा शरणार्थी शिविरमा रहेका दिनहीन परिवार र बालबालिकालाई सकेको सहयोग गर्दै आएको छ। अर्जुन भन्छन्, ‘सानै सहयोग किन नहोस, समुदायको राम्रो कामको लागिसक्दो सहयोग गर्ने कुरामा हातेमालो गर्दै आएको छौं।’

आइओएम (इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन) मार्फत शुरुमा अमेरिकाको क्यालिफोर्नियाको स्यान्डियागो शहर ल्याइएका उनी त्यसपछि न्यू मेक्सिको हुँदै २०१६ बाट ओहायोको राजधानी कोलम्बस आएका थिए। त्यसपछि सेन्ट्रल ओहायोलाई कर्म थलो बनाएका छन्। कोलम्बस र यसका वरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानलविन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, गाहानालगायतलाई सेन्ट्रल ओहायो भनिन्छ।

भुटानी नेपाली हब मानिने यहाँ झण्डै ३० हजार भुटानी नेपाली रहेको बताइन्छ। अर्जुनले कोलम्बस शहर नजिकैको रेनोल्ड्वर्गमा आइभोरी होम हेल्थ सर्भिसेज् नामक ब्यवसाय संचालन गर्दै आएका छन्। होम हेल्थले अशक्त बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई घरमै नर्समार्फत स्वास्थ्य सम्बन्धी सहायता प्रदान गर्छ। उनको यो ब्यवसाय कोलम्बस सँगै ओहायोको अर्को नेपालीभाषी भुटानी जनघनत्व धेरै भएको एक्रोन शहरमा पनि छ।

अर्जुनसहित ३ जनाले बनाएको सो बेलडाँगी २ को स्कुलभवन २०२२ बाट जिबीओ (ग्लोवलभुटनिज अर्गनाइजेसन) ले संचालन गर्ने छ। ‘शिविरमै रहेपनि गुणस्तरीय शिक्षाका लागि हामी स्कुलदेखि शिक्षकको ब्यवस्थापनआफै गर्दैछौं,’ जिबीओका अध्यक्षडिबी राई भन्छन्।

गतवर्ष दशैमा सुवेदीले बेलडाँगी २ को शिबिरका ३८ जना बालबालिकालाई १० हजारका दरले नेपाली रुपैयाँ ३ लाख ८० हजार आार्थिक सहायता गरेका थिए। त्यसअघि २०१९ मा राजेश हमाल, हिमाल सागर, सुगम पोखरेलजस्ता कलाकार शिविरमा पु¥याएर शिविर भित्र बसेका भुटानीहरुलाई मनोरन्जन दिलाएका थिए।

त्यसो त यसै वर्षको १६ जुलाइमा नेपालमा बेलडाँगी रहेका विपन्न १४४ परिवारलाई अर्जुनका दुई संस्था नक्षत्र फान्डेसन र आइभोरी होम हेल्थ सर्भिसेज्ले चामल, दाल, नुन, तेल, सावुनलगायतका अत्याबश्यक सामाग्री शिविर ब्यवस्थापन समितिमार्फत प्रदान गरेको थियो। कोरोनाको कारणकाम गर्न नपाएका र काम गुमाएका विपन्न परिवारलाई सो सहयोग सामाग्री प्रदान गरेको अर्जुनले बताए। त्यस्तै सोही कार्यक्रममा ३ दर्जन विधार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो।

यता अमेरिकामा कोरोनाको महामारीले बालबालिका घरमै थन्केका बेला १६ वर्षमुनिका आफ्नो समुदायका बालबालिकालाई लक्षित गरी जुनिअर अनलाइन डान्स कम्पिटिसन गराए। जुन प्रतियोगिता २०२१ कोे जुलाईमा सम्पन्न गरिएको थियो।

२०२१ को अप्रिलमा नेपालमा रहँदा शिविर भित्र पढाएका शिक्षकहरुलाई सम्मान गरियो कोलम्बसमा टिचरर्स एप्रिसियसन प्रोग्राम नाम दिएर। ‘उहाँहरुले दिएको शिक्षाले हामी यो ठाँउमा आएर केही गर्न सक्ने भएका छौं,’ अर्जुनले कार्यक्रमको औचित्य प्रष्टाए, ‘यसैले सात समुन्द्रवारिको देशमा आएर उहाँहरुलाई सम्मान दिएका हौैं।’

कहिले उनी नेपालदेखि चल्तीका कलाकार ल्याएर साँस्कृतिक/सांगितिक कार्यक्रम गर्छन, कहिले यँही बसोबास गरिरहेका प्रतिभावान नेपालीमुलका भुटानी कलाकारको गीत निकालि दिन्छन्। समुदायमा अब्बलकाम गरिरहेका प्रतिभालाई प्रोत्साहित गर्छन्।

कहिले फुटवल त कहिले भलिबल अनि क्रिकेटका खेलाडीहरुलाई विभिन्न प्रतियोगिता गर्न, खेल्न सहयोग गर्दै आएका छन् उनले। यसै महिनामात्र लसभेगसमा सम्पन्न बडी बिल्डिङ कम्पिटिसनमा नेपालीमुलका भुटानी गोपाल क्षेत्रीलाई त्यो प्रतियोगितामा पुग्न स्पोन्सर गरिदिए।

भुटानी नेपाली संगीत क्षेत्रका अग्रज संगीतकार अमर तुम्बापो सुब्बाको संगीतमा भ्वाइस अफ नेपाल जितेका किरण गजमेरले गाएका गीत मोहनीमन्तरको म्युजिक भिडियो बनाइ दिए। जुन गीतको भिडियो ११ लाख भन्दा बढीले हेरेका छन्। संगीतकार तुम्बापो भन्छन्, ‘ समाजको दुखमा हातेमालो गर्नेमात्र नभई आफ्नो समुदायको राम्रो प्रतिभा र राम्रो काम गर्नेको लागि उदाहरणीय ब्यक्ति हुनुहुन्छ उहाँ। समाजमा यस्ता ब्यक्ति हुनु हाम्रोलागि गर्वको कुरा हो।’

हालै मात्र कोलम्बसबाटै एडिक्सन नामकछोटो चलचित्र बनाएका छन् अर्जुनले। थुपै्र भुटानी नेपालीहरु तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलततिर पनि फसेको देखे उनले। ‘लागुपदार्थ दुब्र्यसनीले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो सिनेमा बनाएका हौं’, फिल्म बनाउनुको कारण प्रष्टाए अर्जुनले।

भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायोका पुर्वअध्यक्ष तथा रेनोल्सबर्गको सिटीकाउन्सिल सदस्य भुवन प्याकुरेल अर्जुनले भुटानी नेपाली समुदायको हितकालागि गरिरहेको काम उदाहरणीय भएको बताउँछन्। भन्छन्, ‘तेस्रो मुलुकमा पुर्नवास भएपछि ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर हाम्रो समाजकालागि उहाँले मन बचन र कर्मले गरेकोे सहयोग साच्चिकै सह्रानीय छ। ’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *