दुई एयरलाइन्स बीचको विवादका कारण हुम्लामा रोकिएको खाद्यान्न ढुवानी सुरु

डिसी नेपाल
२९ मंसिर २०७८ १९:२५

सिमकोट । सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुदानको खाद्यान्न पाँच महिनापछि सिता एयरले ढुवानी थालेको छ ।

गत साउन महिनादेखि हुम्ला जिल्लामा खाद्यान्न ढुवानी र वितरण हुन रोकिएको भए पनि सोमबारबाट खाद्यान्न ढुवानी सुरु भएको हो । दुई एयरलाइन्स कम्पनीबीचको विवादका कारणले यसबीचमा केही मात्रमा मात्र खाद्यान्न हुम्ला ढुवानी भएको थियो ।

विमान कम्पनीहरुको विवादका कारण ढुवानी रोकिएपछि स्थानीयले साउन यता अनुदानको खाद्यान्न पाउन सकेका थिएनन् ।

समिट एयरले सीता एयरलाई मात्रै खाद्यान्न ढुवानीको अनुमति दिन नमिल्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि जिल्लामा अनुदानको खाद्यान्न ढुवानी रोकिएको थियो । उच्च अदालत पाटनले सीता एयरविरुद्ध परेको मुद्दा मंसिर १२ गते खारेज गरेपछि खाद्यान्न ढुवानीको बाटो खुलेको हो ।

यससँगै सीता एयरले सोमबार ५४ र मंगलबार ५२ क्वीन्टल खाद्यान्न ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडका शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार नेपालगञ्जमा ४ हजार र सुर्खेतामा ६ हजार क्वीन्टल मध्ये विभिन्न समय गरेर नेपालगञ्जबाट २ सय ३२ र सुर्खेतबाट ३७ क्वीन्टलमात्र ढुवानी भएको छ ।

लामो समय खाद्यान्न वितरण हुन नसकेपछि जिल्लाका स्थानीय नागरिक तथा कर्मचारीहरु खाद्य सम्प्रभूताको अधिकारबाट बन्चित भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *