हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

डिसी नेपाल
२ पुष २०७८ २०:४४

हुम्ला । सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । नेपालगन्जबाट हवाई जहाजको माध्यममार्फत सामाग्री ढुवानी हुँदै आएको भए पनि दुई महिना यतादेखि सिमकोटमा भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको हो ।

सिमकोट बजारमा यतिबेला तेल, चिनी, बेसारलगायतका सामाग्रीको मूल्य आकासिएको उपभोक्ताले गुनासो गरेका छन् । सिमकोट बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भए पनि अनुगमन गर्ने सम्बन्धित निकाय मौन बसिरहेको छ ।

सिमकोटमा रहेका बजार व्यवसायीहरूले जिल्ला बाहिर नै सामानको मूल्य बढेको भन्दै चर्को मूल्यमा विक्री गरिरहेका छन् । हिउँद याम लागेसँगै जिल्लामा तरकारीको भाउसमेत आकासिएको छ । हिउँदको सिजनमा जिल्लामा तरकारी उत्पादन नहुने र नेपालगन्जबाट हवाईजहाजमा ढुवानी भएर आएको तरकारी भएकाले उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी उपभोग गर्नु परेको हो ।

एक केजी प्याजको मूल्य २ सय ८० रुपियाँ पुगेको छ । तर, हुम्लामा उत्पादन भएको प्याजको मूल्य भने प्रतिकेजी १ सय रुपैयाँ पर्ने गरेको थियो ।

बजारमा हरियो तरकारीको मूल्य छोइनसक्नु रहेको बताइएको छ । दैनिक दिन भान्सामा पाक्ने तरकारीको मूल्य महंगोमा खरिद गरेर भए पनि किनेर खापूँ पर्ने गुनासो गर्ने गरेका छन् ।

कात्तिक महिनापछि चिसोका कारण हुम्लामा हरियो तरकारी उत्पादनमा कमी हुने गरेको छ । यो समयमा नेपालगन्जबाट व्यापारीले हवाई मार्गबाट ढुवानी गरेर ल्याएको तरकारी मात्र प्रयोग गर्नु पर्ने बाध्यता रहेको उपभोक्ताले बताएका छन् ।

व्यवसायीका अनुसार काउली प्रतिकेजी २ सय ५०, हरियो सिमी २ सय ५०, प्याज २ सय ८०, खुर्सानी ४ सय, भ्यान्टा २ सय ५०, गोलभेंडा ३ सय, लसुन ४ सय ५० रुपियाँमा बिक्री भइरहेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *