रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

डिसी नेपाल
१४ पुष २०७८ १९:४८

काठमाडौं। पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ । विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन । डाक्टर वासुदेव सुवेदीले अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो ।

सामान्य प्रसुती सेवा भने यथावत् नै छ । यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रियामार्फत पहिलो पटक सफल बच्चा जन्मिएको थियो । सो समयदेखि नियमितरूपमा डाक्टर सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रियामार्फत सफल प्रसुती सेवा प्रवाह भइरहेको थियो । डाक्टर सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो ।

शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना विशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डाक्टर विजय परियार बताउँछन् । उनी भन्छन्, “अस्पतालमा शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेर बीचमा विशेषज्ञ डाक्टरको समस्याले बन्द हुँदा यसमा सबैको चासो र चिन्तन बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटकपटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु ।”

अस्पतालको सेवालाई नरोक्न विशेषज्ञ डाक्टरको व्यवस्थापनका निम्ति प्रदेश र सङ्घीय सरकारसँग पटकपटक जानकारी गराइए पनि अहिलेसम्म डाक्टरको व्यवस्थापन हुन नसकेको डाक्टर परियारको भनाइ छ । सदरमुकाम तानसेनदेखि पूर्वमा रहेको रामपुरमा शल्यक्रिया सेवा सञ्चालन हुँदा प्रसुती सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको थियो । सेवा सुरु भएको पाँच महिनामै बन्द हुन पुग्दा शल्यक्रियामार्फत प्रसुती सेवा लिन पाल्पा सदरमुकाम तानसेनमै जानुपर्ने बाध्यता छ ।

यहाँ पाँच महिनाको अवधिमा २७ जनाको शल्यक्रियामार्फत प्रसुती गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनाले प्रसुती सेवा लिएका छन् । “हामीलाई पहिलो नै शल्यक्रिया सुरु गर्दा जोखिम थियो, पहिलो अपरेशन सफल भएपछि अरुको शल्यक्रिया गर्नलाई आत्मबल बढ्यो, ४५ मिनेटदेखि एक घण्टाको समयमा शल्यक्रिया गरेर बच्चा जन्मिएको छ”, उनले भने।

लुम्बिनी प्रदेश सरकारका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७७ फागुन १६ गते विधिवत्रूपमा शल्यक्रिया सेवाको उद्घाटन गरेका थिए । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भए पनि बीचमै सेवा रोकिन पुगेको छ । गर्भवति महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *