बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या

डिसी नेपाल
१७ पुष २०७८ १५:११

काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको सान्ट्याण्डर बैंकले २५ डिसेम्बरमा क्रिसमसका दिन झुक्किएर ७५ हजार वटा फरक फरक खातामा यो रकम पठाएको हो । यो रकम बैंकका २ हजार खाताबाट पठाइएको छ ।

अब बैंकको अगाडि यो पैसा कसरी फिर्ता पाउने भन्ने ठूलो समस्या बनेको छ । द गार्डियनका अनुसार सान्ट्याण्डरले यो पैसा जुन खाताहरुमा पठाएको छ ती खाताहरु बारक्लेज, एचएसबीसी, न्याटवेस्ट, कोअपरेटिभ बैंक र भर्जिन मनी जस्ता उसकै प्रतिस्पर्धी बैंकहरुका खाताहरु हुन् । प्रतिस्पर्धी बैंकका खाताहरुमा गएकोले बैंकको लागि यो पैसा कसरी फिर्ता लिने भन्ने समस्या छ ।

खासमा यो रकम बैंकको नियमित कारोबार नै थियो र त्यो पैसा ती खातामा जानुपर्ने नै थियो । तर, गडबडी कहाँ भइदियो भने बैंकले एक पटक गर्नुपर्ने कारोबार झुक्किएर दुई पटक गरिदियो । अर्थात जुन खातामा जति पैसा जानुपर्ने थियो त्यसको ठिक दोब्बर पैसा गयो र जुन खाताबाट यो पैसा जानुपर्ने थियो त्यहाँबाट पनि दुई गुणा पैसा घट्यो ।

रिपोर्टका अनुसार बैंकको अगाडि यो पनि समस्या छ कि यो कारोबार क्रिसमसको दिन भएको छ । त्यसैले मानिसहरुले क्रिसमसका क्रममा यो पैसा खर्च गरिसकेको हुन सक्ने र पैसा फिर्ता नआउने डर छ । प्रतिस्पर्धी बैंकहरुले यो पैसा फिर्ता गर्न सकिने बताएका छन् तर यदि ग्राहकले यो पैसा निकालेर खर्च गरिसकेको अवस्थामा ग्राहकलाई पैसा फिर्ता गर्न दबाब दिँदा ग्राहक भड्किन सक्ने उनीहरुलाई डर छ । अब सान्ट्याण्डर बैंक आफैं सबै ग्राहककहाँ गएर पैसा फिर्ता माग्न सक्ने विकल्प पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *