‘शेयर बजारलाई प्रभावित पार्न सक्ने हैसियत प्रचण्डसँग छैन’

रेखा श्रेष्ठ
२१ पुष २०७८ १२:४२

काठमाडौं । सेयर बजार अहिले घटबढ भइरहेको छ। केही समय अगाडि ३२ सय पुगेको नेप्से परिसूचक घटेर २२ सयसम्म झरेको थियो अहिले सेयर बजार केही बढेको छ। नेप्से यो समयमा २५ सय २६ सयको हाराहारीमा पुगेको छ।  तर अहिले पनि ३२ सयको  हाराहरीमा पुग्न सकेको छैन।  जसले गर्दा अहिले पनि लगानीकर्ताहरु चिन्तित भएका छन्।

सेयर बजारमा राजनीतिक अस्थिरताका कारणले केही प्रभाव परेको देखिन्छ।  पछिल्लो समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले  पूँजीबजारलाई साम्राज्यबादको विकसित रुप भएको टिप्पणी गरेका थिए जसले गर्दा सेयर बजार झन् ओरालो लागेको थियो।

‘विश्वको पैसा सीमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पूँजी बजार हो। पुँजी बजारमा लगानीको विकास र विस्तार हामीले परास्त गर्न सक्नु पर्छ’, प्रचण्डले भनेका थिए ‘पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्छन। अव पूँजीको लगानी उत्पादनमा हुँदैन।’

यसका साथै, अहिले बैंक तथा वित्तिय संस्थामा तरलताको अभावका कारण सेयर बजार अस्थिर बनिरहेको छ। लगानीकर्ताले आवश्यक मात्रामा बैंक तथा वित्तिय संस्थाबाट सेयर लगानी ऋण पाउन सकेक छैनन्।

बजारमा तरलता अभाव हुनुका साथै बजारलाई नियमन र व्यवस्थापन गर्ने दुवै निकाय समेत नेतृत्वविहीन भएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन्। बजार नेतृत्वविहीन भएकोले पनि अहिले बजार स्थिर हुन सकिरहेको छैन।

यस्तै विविध अवस्थाका बावजुद पनि लगातार ओरालो लागेको सेयरबजार एक सातादेखि विस्तारै उकालो लाग्दै गइरहेको छ। सेयर बजार घटेर निराश भएका सेयर लगानीकर्ताहरुलाई भने केही राहत पुर्‍याएको छ।

सेयर बजार घटबढ हुनुमा धेरै नाफा खानका लागि लुकेर बसेर चाल मर्ने ठूला–ठूला लगानीकर्ताहरुले गर्दा यस्तो भइरहेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.दिपेन्द्र बहादुर क्षेत्रीले बताए।

उनले भने,’ ठुला लगानीकर्ताहरुले दुई दिन सेयर बजार बढाईदिने र फेरि घटाइदिने खेल खेल्दा साना लगानीकर्ताहरु आतिएर सेयर बेच्ने गर्छन्। जसको फाइदा उठाउदै ठूला लगानीकर्ताहरुले अत्यधिक फाइदा लिने गर्दछन्।’ यता, साना लगानीकर्ता भने यस्तै खेलमा परेर मारमा पर्ने गरेको गभर्नर क्षेत्रीले बताए।

अहिले संख्यात्मक रुपले लगानीकर्ताहरु धेरै बढ्दै गइरहेका छन् भने पनि उनीहरुको पहुँच बास्तवमा प्रभावकारी नरहेको र ठूला ठूला लगानीकर्ताहरुले सजिलैसँग म्यानुपुलेट गर्दिन सक्ने अवस्था रहेको पनि पूर्व गभर्नर क्षेत्रीले बताए।

सेयर बजार ३२ सय नपुगुन्जेल ठूला लगानीकर्तालाई निन्द्रा नलाग्ने उनी बताउँछन्। राजनीतिक अस्थिरताका विषयमा कुरा गर्दै सेयर बजारलाई प्रभावित पार्न सक्ने हैसियत प्रचण्डसँग नभएको पनि पूर्व गभर्नर क्षेत्रीले बताए।

एक साता अगाडि तरलता असहज भएकोमा अहिले तरलता सहज हुँदै गएकोले सेयर बजार बढ्दै गइरहेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्। साथै अर्थमन्त्रालयले पनि ढुकुटीमा थुप्रिएको देश विकासका खर्चहरु पौष मसान्त भरि ३० प्रतिशत र असार मसान्त भित्र १०० प्रतिशत सक्नु पर्ने निर्देशनले पनि तरलतामा केही सहज भएको अध्यक्ष पोखरेलले बताइन्।  बजारमा तरलता बढ्दै गएको र नयाँ लगानीकर्ताहरु आउदै गरेकोले पनि सेयर बजार बढेको उनको भनाइ छ।

जो पहुँचवाला लगानीकर्ताहरु छन् उनीहरुले सेयर बजारभन्दा पनि कम्पनीलाई घटबढ गर्न सक्ने उनले बताइन् । उनले भनिन्,’ठुला लगानीकर्ताले समग्र बजारलाई घटबढ गर्दा उनीहरुलाई नै घाटा हुन सक्छ तर कुनै एक कम्पनीलाई लिएर सेयर बजार घटबढ गर्दा त्यसको असर बजारमा देखिन्छ।’

बजार व्यवस्थापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन भएर पनि बजारमा असर परेको अध्यक्ष पोखरेलले बताइन। नेप्से र सेवनका प्रमुख नभएका कारण बजारका कामहरु अड्केको जसले गर्दा नीतिगत सुधार रोकिने हुँदा सेयर बजारमा असर देखिने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *