व्यवसायमा रमाएका प्रेमः वार्षिक तीनदेखि पाँच लाखसम्म गर्छन् आम्दानी

डिसी नेपाल
३० पुष २०७८ १३:४२

सुर्खेत। कालीकोटको खाडाचक्र नगरपालिका-८ का प्रेम प्रकाश चौलागाई हाल वीरेन्द्रनगर-३ सुर्खेतमा गार्मेन्ट उद्योग सञ्चालन गर्छन् । उनी आफै कामदार आफै मालिक हुन्।

यहाँसम्म आउन उनका दुःख संघर्ष सुनिनसक्नुका छन् । ११ वर्षको उमेरमै आमा गुमाए । आमाको मृत्युको घाउ नपुरिँदै १५ वर्षको उमेरमा बुबाले पनि संसार छाडे। प्रेम घरको काइँलो छोरा हुन् । आमाबुबाले नै संसार छाडेर गएपछि ६ दाजुभाइ-दिदीबहिनीका दिनहरू संघर्षमा बिते। आमाबुबाले संसार छाडे पनि दाजु-दिदीबाट उनलाई मायाको कमी भने भएन।

उमेर सानै भए पनि प्रेममा व्यवसाय गर्ने हुटहुटी चलिसकेको थियो । बाल्यकालको उमेरमै तल्लो माथिल्लो घरका दाजुभाइ घुमन्ते व्यापार गरेको देख्दा प्रेमलाई पनि घुमन्ते व्यापार गर्न पाए हुन्थ्याे भन्ने लाग्थ्यो ।

२०६९ साउनबाट १७ वर्षको उमेरमै उनी घुमन्ते व्यापारमा निस्किए । घुमन्ते व्यवपार जुम्ला हुम्लालगायत साविकको भेरी कर्णाली अञ्चलको पुर्ख्याैली पेसा नै हो। घुमन्ते व्यापार गर्ने बुबाको निधनपछि पुरानाे पेसालाई अंगाल्नुपर्छ भन्ने सोचले कैयौँ ठाउँ पुगे । कहिले हिमालको खोँचमा त कहिले पहाडका उकाली ओराली त कहिले तराईका फाँट पुगे।

२१ साउन २०६९ देखि बुटवलमा फेन्सी पसल सञ्चालन गरे । पढाइ खर्च जुटाएर १२ कक्षा अध्ययन गर्न काठमाडौ छिरे । १२ कक्षाको परीक्षा दिएर फेरि कैलालीको अत्तरिया पुगेर व्यावसायिक यात्रा सुरु गरेको उनी बताउँछन् ।

२०७० मा घुम्ती व्यवसायका लागि पुनः बैतडीको देहीमाण्डौँ पुगेर केही समय उतै बसे । त्यहाँ बस्दा थुप्रै किसिमका चुनौतीको सामना गर्नुपरेको अनुभव उनीसँग छ । ‘घुम्ती व्यपारको सिलसिलामा देहीमाण्डौमा तीन महिना बिताएँ,’ उनले भने, ‘त्यहाँ बस्दा थुप्रै चुनौती सामना गर्नुपर्‍यो । घुमन्ते व्यापार त्यति गर्न पाइन्थेन । ठूलो व्यापार गरेर स्थायी रूपमा बस्न आर्थिक लगानी थिएन । घुम्ती व्यापार गर्दा कैयौँ पटक सामान जफत भयो । कैयौँ पटक लखेटियौँ ।’

२०७० भदौमा पुन: अत्तरिया पुगे । त्यहाँबाट होलसेलमा सामान बोकेर पुन: डोटीको सिलगढी गए र त्यहाँ दुई महिना बस्दा ३० हजार नाफा प्लस हुँदा महेन्द्रनगर पुगे । त्यहाँको एक साहुलाई तीस हजार दिएर साढे तीन लाख बराबरको सामान हालेर २०७५ सम्म अछामको मंगलसेनबाट स्थायी रूपमा व्यवसाय सुरु गरेको चौलागाईँ बताउँछन् । पाँच महिना रुकुमको कमलताल,पश्चिम रुकुमको बाफिकोट दुई महिना र तीन महिना जाजरकोटको नलगाड नगरपालिकामा बिताए ।

घुमन्ते व्यवसायले उनलाई कहिले सुदूरपश्चिमका अछाम, डोटी, कैलाली, कहिले कर्णालीका कालीकोट,जुम्ला, हुम्ला,जाजरकोट, रुकुम, सुर्खेत पुर्‍यायो । यहाँसम्मको उनको दुःख मेहनतले एउटा सानो उद्योग खोल्नेसम्म आर्थिक लगानी जुटाए । २०७५ मै सुर्खेतको वीरेन्द्रनगर-३ मा दाजुभाइ गार्मेन्ट उद्योग सञ्चालन गरेको उनी बताउँछन् ।

पिठ्युँमा भारी बोकेर व्यापार गर्दा लखेटिनु परेकाे प्रेमले सुनाए । ‘घरपरिवारको पालनपोषण गर्न र आफ्नो पढाइ खर्च जुटाउने अरु कुनै विकल्प थिएन,’ उनले भने,‘खुल्ला रूपमा व्यापार गर्दा र उनीहरूबाट लखेटिँदा कहिले जंगलमै बास हुन्थ्यो । कहिले चाउचाउ बिस्कुटको सहारामा पहाडका उकाली ओराली बाटोमा यात्रा गर्नुपर्थ्याे । दिनहरू संघर्षमै बिते ।’

घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म

२०६९ देखि घुम्ती व्यपार थाल्दै विभिन्न आरोहअवरोह गर्दै चौलागाईले अहिले आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् । २०६९ देखि २०७५ सम्म घुम्ती व्यापार गर्दै २०७५ देखि नै सुर्खेतको वीरेन्द्रनगरमा गार्मेन्ट उद्योग सञ्चालन गरेर ११ जनालाई रोजगारीसमेत दिएको उनी बताउँछन्। जातको आधारमा विभाजित गर्ने हाम्रो समाजमा नेपालीले मात्र कपडा सिउनुपर्छ भन्ने रुढीवादी परम्पराको अन्त्य हुँदै गएको छ । उनी गार्मेन्टको आफै मालिक र आफै कामदारसमेत हुन् । चौलागाईले मासिक २५ देखि ५० हजार र वार्षिक तीन लाख देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन्। न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *