कोरोना बीमा भुक्तानी अन्याेलमा, अर्थ मन्त्रालय भन्छ- माथिल्लो स्तरबाट निर्णय नभएसम्म केही हुँदैन

रेखा श्रेष्ठ
३ माघ २०७८ १४:२२

काठमाडौँ। कोरोना बीमा गरेका सर्बसाधारणले बीमा रकम अहिलेसम्म पनि पाउन सकेका छैनन्। कोरोना संक्रमण सुरु भएको बेलादेखि नेपाल सरकारले कोरोना बीमा योजना सुरु गरेको थियो ।

त्यति बेला सरकारले प्रति व्यक्ति ६ सय रुपैयाँ प्रिमियम बुझाएर सङ्क्रमित पुष्टि भएको कागजात देखाएमा एकमुष्ट १ लाख रुपैयाँ पाउने नीति ल्याएको थियो।

धेरै बीमा कम्पनीहरुले सरकारको उक्त नीतिलाई उत्साहका साथ पालना गर्दै कोराना बीमालेख बिक्री गरेका थिए। धेरै सर्वसाधरणले कोरोनाको डरका साथै एक लाख पाउने मोहमा कोरोना बीमा गरे।

केही समयमा विश्वभर कोरोनाले आतङ्क मच्चायाे।  बीमा कम्पनीहरुले सामान्यरुपमा लिएको यो बीमा नीति उनीहरुका लागि  प्रत्युत्पादक बन्न पुग्याे। सरकारले बीमितहरु बढेसँगै प्रिमियम तिर्नसक्ने अवस्था नदेखेपछि पहिला ल्याएको बीमा नीतिलाई परिवर्तन गर्दै केही सर्तहरुका साथमा नयाँ बीमा नीति ल्यायो।

भदौ २८ गते ल्याइएको उक्त नीतिअनुसार सरकारले होम आसोलेसनमा बस्नेलाई एकमुष्ट २५ हजार रुपैयाँ दिने निर्णय गर्‍याे। साथै, अस्पताल भर्ना भएका कोरोना पीडितलाई एकमुष्ट २५ हजार रुपैयाँ दिने र बाँकी औषधाेपचारको बिल भर्पाइ बमोजिम हुने गरी सरकारले नयाँ नीतिमा यस्तो सर्तहरु लागू गर्‍याे।

धेरै बीमितको आशामा सरकारले पानी छ्यापेर निरासमा परिणत गरायो। कतिपय कोरोना संक्रमितले उक्त पैसाको आशामा ऋण लिएर औषधि गरेका थिए। पैसा लाउला र ऋण तिराैंला भरे बेसेका संक्रमित यतिबेला निरास भएका छन्।

जति पाउने प्रिमियम थियो त्यो पनि बीमा कम्पनी धाउँदा पनि नपाएको कोरोना बीमा गरेका कोरोना संक्रमितहरु बताउँछन् । उनीहरु भन्छन्, ‘कोरोना बीमा पाइन्छ की भन्ने आशा थियो सरकारको परिवर्तन भएको नीतिले त्यो पाउन पनि गाह्रो भयो।’

सरकारले करिव एक वर्ष यता कोरोना बीमा भुक्तानी  बन्द गरेकाे छ । भुक्तानी रोकिएपछि २५ प्रतिशत भए पनि कोरोना बीमा आउने आशामा बसेका संक्रमित बीमितहरु निराश भएका छन्।  हालसम्म कोरोना बीमा दाबी भुक्तानी ५ अर्वको हाराहारीमा भएको छ।

बिमालेख बिक्री गरी जम्मा भएको प्रिमियम र पुनर्बिमा कम्पनीबाट आएको रकम गरी कुल ३ अर्व ५० करोड रुपैयाँ र इन्स्योरेन्स कम्पनी आफैले करिव १ अर्वभन्दा बढी रकम भुक्तानी भएको हो। सरकारले अझै ११ अर्व रुपैयाँ भुक्तानी गर्न बाँकी  छ।

कोरोना बीमा दावी भुक्तानी बारे सरकारसँग पहल भइरहेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन्।  उनले भने, ‘बीमा समितिबाट बीमा रकम भुक्तानीको पहल भइरहेको छ। तर, सरकारबाट बिमा रकम भुक्तानी सम्बन्धि कुनै पनि निर्णय आएको छैन।’

उनले कहिलेसम्म हुन्छ भन्ने आफूलाई पनि थाहा नभएको बताए। सरकारले बीमा समितिसँग भुक्तनी सम्बन्धी विभिन्न विकल्पहरुको पनि माग गरेको थियो। यता, समितिले उक्त विकल्पसहितको प्रतिबेदन सरकारलाई पेस गरिसकेको छ।

तरपनि कहिले भुक्तानी दिने भन्ने कुराबारे बीमा समिति पनि बेखबर रहेको अधिकारी बताउँछन्। बीमा भुक्तानीका सम्बन्धमा बीमा समितिले अर्थमन्त्रीसंग छलफलमा बसेपनि निकास भने निस्कीएको छैन।

यता अर्थमन्त्रालयले भने आफूहरुसँग बजेट नभएकाले अहिले नै बीमा दावी भुक्तानी गर्न सक्ने अवस्था नरहेको जनाएको छ।  मन्त्रालयका एक जना प्रशासन अधिकारीले  भने, ‘मन्त्रालयले कुनै जोहो गरेर यससम्बन्धी निर्णय गर्ने तयारी गरिरहेको छ। भुक्तानीको निर्णय भइनसकेको तर छिट्टै निर्णय आउनेछ ।’

मन्त्रालयले बजेट अभावका कारण बीमा दाबी भुक्तानी अन्तरिक स्रोतबाट व्यहोर्ने कि बाह्य स्रोतबाट व्यहोर्ने भन्ने कुरामा छलफल भइरहेको पनि जनाएको छ। माथिल्लो स्तरबाट नै निर्णय नभएसम्म केही भन्न सकिने अवस्था नभएको अर्थ मन्त्रालयकाे भनाइ छ।

कहिलेसम्म कोरोना बीमाको रकम संक्रमितले पाउँछन् भन्ने कुरामा सरकारनै बेखवर छ। यता लामो समयबाट रोकिएको कोरोना बीमाबारे सरकारले बेवास्ता गर्दा सर्वसाधारणहरु मारमा परेका छन्। अब कहिले पाउँछन् त कोरोना संक्रमितले कोरोना बीमाको रकम ?
यो भिडियो पनि हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *