नियात्रा : विद्याको बान्कीमा बोस्टन

डिसी नेपाल
८ माघ २०७८ ८:०६
340
Shares

मेरा मनका उभारहरू घुम्नका लागि बतासे तरिकाले रौसिन्छन्। मान्छे अन्तरिक्षमा गयो भनेको सुन्दा पनि मनभित्र औडाहा हुन्छ। सँगसँगै दगुर्न खोज्छ। मेरा कलिला दिनमा अमेरिकाको बोस्टन अन्तरिक्ष जस्तै अभेद्य थियो। त्यसो त बोस्टन सहरको नाम मैले कहिले सुने, त्यो मलाई सम्झना छैन। तर थाहा पाउँदा विद्याको सागरका रूपमा सुनेँ। विद्याको सागरका रूपमा बुझेँ।

इतिहास पढ्दा अमेरिकी स्वतन्त्रताको जेहाद छेड्ने बोस्टन टी पार्टी सुनेँ। पढेँ। पढाएँ। पछिल्ला चरणमा बोस्टनलाई हार्वड विश्वविद्यालय बोक्ने सहरका रूपमा सुनेँ। जे सुने त्यो स्वप्नलोक जस्तै सुने। पुग्ने न तारतम्य थियो, न हुति थियो न प्रयत्न नै। तर जिन्दगीमा आफूले सोचेझै मात्र कहाँ हुन्छ र? अमेरिका तथा बोस्टन मेरा लागि यही छप्पर फाड्के संयोग थियो। समयले मलाई छोरी ज्वाइँको सिँयालमा बुढारी व्यतीत गर्न अमेरिका छिरायो।

संयोगले सन २०२१ को जुन महिनामा पारिवारिक भेटघाटको सिलसिलामा भदाहासालो सुमेश भट्टराईको घर न्युयोर्क पुगेको थिएँ। बुहारी विवेकाले पनि बोस्टनमै पढेकाले मलाई भनेकी थिइन्-भिनाजु ! बोस्टन भनेको विद्यार्थीको सहर हो। विद्याको सहर हो। झन् हजुरले त यो सहर जानै पर्छ।

यसो भएपछि बोस्टन घुमाइको उत्सुकता झन् तीब्र भएको थियो मेरो। किनभने मैले आफ्नो उर्वर काल विद्यार्थी, शिक्षक तथा प्राध्यापक भएर कक्षा कोठाकै आसपासमा बिताएँ। अहिले अवकाशे जिन्दगीमा फेरि जेतेमेते नै भए पनि पढ्दै छु। झारा टराइ पढेको भए पनि विद्याको केन्द्र भन्ने बित्तिकै मनोवैज्ञानिक रूपले म लोभिन्छु।

त्यसैले बोस्टन घुमाइको योजना मिलाएर ५ जुनका दिन हामी याने कि म, मेरी सुशा, सुमेश, विवेका र दुई केटाकेटी सान्वी र युभान गरी ६ जना बोस्टन पुगेका थियौँ। घुमघामको केन्द्रीय प्रयोजन विद्या तथा पानीको सागर बोस्टनको सुन्दरताको दृश्यपान गर्नु थियो।

टोल रोडमा हाम्रो गाडी बेतोडले बतासिएको थियो। पुग्दापुग्दै मैले देखेँ बोस्टन सहर जङ्गलभित्र थियो। भन्नुको तात्पर्य काठमाडौँको जस्तो कङ्क्रिटको मात्र जङ्गल थिएन। कङ्क्रिट र जङ्गल सरोबरी थिए। रुखबिरुवा र भवन छ्यासमिस थिए। मैले देखेको भोगेको म जन्मिएको मेरो चुरे पहाडमा रहेको चारकोसे झाडीभित्र सहरजस्तो लागेको थियो बोस्टन मलाई। जाँदाजाँदै हाम्रो गाडी सुरुङभित्र पसेको थियो।

एउटा सुरुङबाट निस्कन्थ्यो फेरि अर्को सुरुङमा पस्थ्यो। मेरो पहिलो आश्चर्य सुरुङैसुरुङले प्वालैप्वाल छिद्रा पारेको बोस्टन सहर थियो। यो देखेर अरू सहयात्रीलाई के भयो कुन्नि? म आफू भने रोमाञ्चक बनेको थिएँ। मेरो जिज्ञासालाई शान्त पार्दै सारथी सुमेशले भनेका थिए—भिनाजु, यो बोस्टन सहरमा त समुद्रमुनि सुरुङ छ। सहरमुनि सुरुङ छ।

हामी जाँदै थियौँ। भुईँ सडकको बीचमा भएको ढलको जस्तो देखिने फलामका ढक्कनले छोपेको प्वालबाट धुवाँ निस्किरहेको थियो। मैले सुमेशलाई सोधेँ—यो सडकबाट धुवाँ किन आइरहेको?

सुमेशले उत्तर दिएका थिए-त्यो भूमिगत रेल तथा हिटिङ कुलिङ सिस्टमबाट धुवाँ निस्किरहेको हो भिनाजु।

म हेर्दै थिएँ। याने अनुभूत गर्दै थिएँ। भुईँमाथि सहर थियो। सहर मुनि सुरुङ थियो। सुरुङमा रेल, बस तथा गाडी गुडिरहेका थिए। सडकमाथि उक्लिएका तलैतला भएका पुलका माथिमाथि कुदिरहेका गाडी आकाशमा गुडेझैँ लागिरहेका थिए। समुद्रमाथि पनि सहर थियो। सहरमाथि पनि सहर थियो। सहर र सगर एकै जस्ता लाग्थे।

सहर सगरतिर उकासिएको थियो। सागर र सहर पनि एकै जस्तो अनुभूत हुन्थ्यो। जहाँ सागर थियो, त्यसकै माथि सहर थियो। समुद्रका भँगालाहरू याने कि हार्वर बोस्टन सहरभित्र पसेका थिए। चाल्र्स नदी पनि सहरभित्रबाट समुद्रलाई मिसाउँदै थियो। ती भँगाला तथा नदीमा सानाठूला नाउहरू थिए । ती नाउ यात्रा गर्न तथा मनोरञ्जनका लागि थिए। मानौँ लाग्दथ्यो सबै रमाइलो कुँडुलो परेर यहीँ बोस्टनमा खाँदिएको छ।

जुन ५ तारिकका राति हामी होटलको आठौँ तलामा बसेका थियौँ। होटलको झ्यालबाट बोस्टन सहरका भीमकाय भवनहरू बिजुलीको टहकमा चम्किरहेका थिए। काठमाडौँको लक्ष्मी पूजाको रमझम जस्तै झिलिमिली थियो। ६ तारिकको दिन बिहानै उठेको थिएँ। झ्यालबाट हेरेको थिएँ। होटलकै छेउबाट खोला कलकल गरी सङ्लो बगेको देखिन्थ्यो। खोलाको वारिपारि मान्छे हिँड्ने ट्रेल थियो।

होटलबाट एक्लै निस्केर त्यही चाल्र्स रिभरको किनारमा बनाइएको दोहोरो पैदलयात्रु सडकबाट हिँड्दै थिएँ। ट्रेलका छेउमा याने समुद्रको भँगालाको किनारमा पार्क थियो। पार्कका छेउमा गाडी सडक थिए। सुन्दर र सफा थियो। समुद्र, पार्क तथा अग्ला भीमकाय भवनहरू एकै पल्ट देखिन्थे। बिहानको याम थियो।

सूर्य उदाएर एक बाँस माथि आइसकेको थियो। म त्यही ट्रेलबाट हिँडिरहेको थिएँ। मनग्गे मान्छे मर्निङ वाक गरिरहेका थिए। बृद्धबृद्धा तथा वयस्क, केटाकेटी तथा युवायुवती पनि विविध पहिरनमा हिँडिरहेका थिए। दगुरिरहेका थिए।

ती मध्ये सायद यस्तै ३० वा ३५ की देखिने युवतीको पहिरनमा मेरो नेपाली परम्परागत आदर्शवादी कपटी र तिखो नजर पुग्यो। जाली कपडाले बनेको उसको पहिरनबाट भित्री श्वेतसौन्दर्य बाहिर नियाल्दै थियो। तर पनि उनलाई ट्वाल्ल परेर हेर्ने कुनै नजर थिएनन् त्यहाँ। त्यो दृश्यबाट मुख मिठ्याउने कुनै मुख थिएनन्। अनावश्यक र्याल काढ्ने कुनै जिब्रा थिएनन्।

त्यो एउटा सामान्य प्रकृया थियो। पहिरन उसको व्यक्तिगत स्वतन्त्रता थियो। यो पहिरनवाला दृश्य यदि नेपालमा देखिएको भए अग्रगम्यता पस्कने मिडियाले मरमसला भरेर पक्वान्न बनाउने थिए र बेच्ने थिए। ठूलो अपराध गरेझैँ वा हौवा बनाएर डङ्का पिट्ने थिए।

यसै बेला नेपालका आदर्शवादी ठानिने बुज्रुग मुख बिगार्ने थिए। समाज पूरापूर बिग्रिएको निष्कर्ष निकाल्ने थिए। समाज छँडुल्लो बन्दै गएकोमा चिन्ता पनि गर्दथे। र फेरि अलि ओल्टोकोल्टो पर्नेबित्तिकै त्यही अर्धनग्न तस्बिर हेर्दै मुख मिठ्याउँदै हुन्थे।

म लगातार हिँडि नै रहेको थिएँ। घामका ताता पाइलाहरूले मलाई असिनपसिन बनाएका थिए। यत्तिकैमा देखेँ कि पार्ककै बेन्चमा एक जना मान्छे निर्मग्न सुतिरहेको थियो। उसलाई घामका रापको पनि केही मेलो थिएन। केही पर्बाह थिएन। मैले उसलाई गौर गरेर हेरेँ।

जे सुने त्यो स्वप्नलोक जस्तै सुने। पुग्ने न तारतम्य थियो, न हुति थियो न प्रयत्न नै। तर जिन्दगीमा आफूले सोचेझै मात्र कहाँ हुन्छ र? अमेरिका तथा बोस्टन मेरा लागि यही छप्पर फाड्के संयोग थियो। समयले मलाई छोरी ज्वाइँको सिँयालमा बुढारी व्यतीत गर्न अमेरिका छिरायो।

अमेरिकामा त कुनै मान्छे चाहे त्यो युवा होस् वा युवती कसैले कसैलाई व्यक्तिगत स्वतन्त्रतामा आँच आउने गरी ट्वाल्ल परेर हेर्न नपाइने कुरा मलाई थाहा थियो । तर पनि म भने उसलाई परबाट हेरि नै रहेको थिएँ। अलिकति दयाले हेरेको थिएँ। अलिकति आश्चर्यले हेरेको थिएँ।

ऊ मस्त सुतेको थियो। अनुहारमा परेका घामका टहकलाई एउटा तौलियाले छोपेको थियो । उसको निजी ब्याग तथा स्लिपिङ ब्याग बेन्चमै राखेको थियो । एडिडासको जुत्ता तथा मोजा लगाएको थियो। हेर्दा ऊ सुटेडबुटेड नै देखिन्थ्यो । तर अलि मैलो थियो । सामान्यभन्दा मैलो थियो । खासमा त्यो मान्छे माग्ने थियो । होमलेस थियो । त्यही पार्कमा सुत्थ्यो। ओत लाग्थ्यो। घुम्थ्यो।

र मागेर खान्थ्यो । सायद उसको कुनै निजी परिवार थिएन । भए पनि ऊसँग थिएन । या त ऊ आफ्नो स्वतन्त्रताका लागि घरबारलाई तिलाञ्जली दिएर फुक्काफाल भएको थियो । अमेरिकामा जागिरको ओइरो छ, तर ऊ जागिर खाने झन्झट गर्न चाहँदैन थियो सायद । उसलाई यही पार्ककै बेन्च स्वर्ग थियो । न हरहर न कचकच । एक जुनी बिताउने त हो।

म मर्निङ वाक सकेर फेरि होटलमा पुगेँ । टोलीका सबै सदस्य तयार भइसकेका थिए । होटलमै चिया चमेनापछि बाहिर निस्कियौँ । हामी त्यही समुद्रकै किनारमा रहेका विविध गन्तव्यतिर पाइला तेस्र्याउन थाल्यौँ । त्यो दिन याने ६ तारिकको समुद्रमा गएर ह्वेल वाचिङ गर्नु थियो।

त्यसको भोलिपल्ट याने जुन महिनाको ७ तारिक बिहानैदेखिको गन्तव्य बोस्टनका विश्वविद्यालयहरूको प्राङ्गणमा पुग्नु र तस्बिर खिच्नु थियो । किनभने यति बेलासम्म मैले बोस्टन विद्याको सगर हो भन्ने ठम्याइसकेको थिएँ।

यो घुमाइमा मेरो अलिकति कुण्ठा पनि थियो सायद । मलाई आफ्ना जीवनका हिँडाइका क्रममा एमएका लागि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर पनि जुरेको थिएन । मारवाडीका व्यापारिक फर्ममा काम गर्दागर्दै रहरले प्राइभेट रूपमा एमए दिएको थिएँ । पास पनि भएको थिएँ।

र त्यही प्राइभेट एमए मेरो सकल जीवनभरि अन्नपानीको दाता भएर त्रिविमा देखा पर्यो । पढ्नका लागि विश्वविद्यालय त पुर्पुरोमा थिएन । तर विश्वविद्यालयकै दानापानीले मेरो जुनी बितिरहेको यथार्थ मलाई ज्ञात थियो । त्यसैले आफूले पढ्न नपाए पनि अमेरिका त्यसमाथि बोस्टनका विश्वविद्यालयका आँगनमा उभिएर तस्बिर खिचेर क्षुधा निमिट्यान्न पार्नु पनि महत्वको विषय थियो । गौरवको अनुभूति थियो मेरा लागि।

भुईँमाथि सहर थियो। सहर मुनि सुरुङ थियो। सुरुङमा रेल, बस तथा गाडी गुडिरहेका थिए। सडकमाथि उक्लिएका तलैतला भएका पुलका माथिमाथि कुदिरहेका गाडी आकाशमा गुडेझैँ लागिरहेका थिए। समुद्रमाथि पनि सहर थियो। सहरमाथि पनि सहर थियो। सहर र सगर एकै जस्ता लाग्थे। सहर सगरतिर उकासिएको थियो।

हिँड्दै गर्दा हामी सबैभन्दा पहिले बोस्टनमा रहेको मासाच्युसे इन्स्टिच्युट अफ टेक्नोलजी याने कि एमआइटी प्राङ्गणमा पुग्यौँ । चाल्र्स नदीको किनारमा झण्डै डेढ किमी क्षेत्रफलमा फैलिएको सो सहरी मोडलको विश्वविद्यालयको मूल भवनको गेटमा पुरानो साइन बोर्डमा फोटो खिच्यौँ । त्यही प्राङ्गणमा उभिएर सुमेशले भने —भिनाजु, यो विश्वविद्यालयमा भर्ना गर्न कैयौँ प्रयास गरेँ । तर यो जुनीमा सकिएन । अब अर्को जुनीमा बल गर्नु पर्ला।

मैले मेरो भदाहासालो सुमेशको अनुहारमा हेरेँ । मैले यहाँ सुमेशका बारेमा केही भन्नै पर्ने हुन्छ । असाध्य धेरै पढ्ने हुनाले आफन्तले उनको उपनाम नै विद्यासागर राखेका थिए । गाउँको सरकारी स्कुलबाट उभिएर नितान्त आफ्नै बर्कतबाट जापान तथा अमेरिकामा पढेर इन्जिनियर हुनु भनेको कुरा उनको परिवेशीय अवस्थामा चानचुने कुरा थिएन । वास्तवमा उनी आफन्तका बीचमा विद्याकै सागर थिए । विद्याकै सगर थिए।

एमआईटीको मूल भवनको भित्तामा ‘स्थापित १८६१’ लेखिएको थियो। त्यो बेला स्थापना हुँदा यो इन्स्टिच्युटको प्रमुख उद्देश्य अमेरिकामा औधोगिकीकरण गर्नु थियो । त्यस कारण यो पोलिटेक्निक विश्वविद्यालयका रूपमा स्थापना गरिएको थियो।

ल्याबोरेटोरीमा आधारित शिक्षाका कारणले गर्दा अहिले पनि यो संस्था संसारभरिका इन्जनियरिङका लागि प्रख्यात छ । बोस्टनको क्याम्ब्रिज भन्ने ठाउँमा अवस्थित यो इन्स्टिच्युटले संसारभरि विज्ञान तथा प्रविधिमा खेलेको भूमिका संसारकै एक नम्बरको प्रज्ञापुञ्ज थियो।

दोस्रो विश्वयुद्धका बेला यही एमआईटीले मिलिटरी साइन्सको अध्यापन तथा प्रशिक्षण दिएको थियो। यो न्युक्लियर साइन्सको अध्यापन गराउने केन्द्र हो । नानो इन्जिनियरिङका लागि पनि प्रसिद्ध छ यो एमआईटी । त्यसैले यो विद्याको सगर थियो।

संसारभरि जहाँजहाँ सगर पुग्थ्यो त्यहाँ यसका उत्पादनहरू थिए । जग्गामात्र सरकारले वा कम्युनिटीले दान दिएर स्थापना गरिएको यो एउटा प्राइभेट संस्था थियो जसको नाम मात्र पनि अहिले संसारका वैज्ञानिक तथा प्राविधिकका लागि गौरवको विषय हो।

यहाँ पुुराना भवनलाई मर्मत संहार गर्दै पुरानो स्वरूपलाई जस्ताको तस्तै राखेर इतिहासको संरक्षण गरेको देखेर भने गजब लाग्यो। त्यसो त एमआईटीका ज्यादै मनमोहक डिजाइन भएका भवनहरू पनि थिए । हाम्रो नेपालमा भए त त्यस्ता पुराना भवनलाई भत्काएर नयाँ बनाउने थिए क्रान्तिकारीहरूले।

र इतिहासबाट त्यो भवनको नामोनिसान हटाएर विकासको फुइँ लाउने थिए । तर त्यहाँ त्यही पुरानो भवनका अगाडि उभिएर अनेकौँ पोजका तस्बिरहरू खिचिरहेका थिए हुलका हुल मान्छे । याने कि त्यो पुरानो भवन पर्यटकको आकर्षणको केन्द्र थियो। त्यही पुरानो भवनमा फोटो खिच्न मान्छे लाम लागेका थिए।

सुमेशले मलाई भनेका थिए-भिनाजु, यो बोस्टन सहरमा मात्र ३५ भन्दा धेरै कलेज, विश्वविद्यालय, तथा कम्युनिटी कलेज छन्। धेरै मान्छेले रोजगारी पाएका छन्।

त्यसपछि हामीले त्यहाँ गर्नु पर्ने केही थिएन । त्यसैले बोस्टन विश्वविद्यालयतिर लाग्यौँ । विविध विषय पढाइ हुने सो विश्वविद्यालय निकै ठूलो रहेछ । मलाई यो बोस्टन युनिभर्सिटीको डेन्टल कलेजमा जानु थियो । हेर्नु थियो । फोटो खिच्नु थियो । किनकि मेरो भदाहाबुहारी विवेकाले बोस्टन युनिभर्सिटीमा पढेर दाँतको डाक्टर बनेकी थिइन्। अमेरिकामा दाँतको डाक्टर बन्नु भनेको निकै कठिन काम मानिन्छ।

सायद यस्तै ३० वा ३५ की देखिने युवतीको पहिरनमा मेरो नेपाली परम्परागत आदर्शवादी कपटी र तिखो नजर पुग्यो। जाली कपडाले बनेको उसको पहिरनबाट भित्री श्वेतसौन्दर्य बाहिर नियाल्दै थियो। तर पनि उनलाई ट्वाल्ल परेर हेर्ने कुनै नजर थिएनन् त्यहाँ। त्यो दृश्यबाट मुख मिठ्याउने कुनै मुख थिएनन्। अनावश्यक र्‍याल काढ्ने कुनै जिब्रा थिएनन्।

मैले विवेकालाई अघोरै सम्झनु पर्छ यति बेला । किन भने अमेरिकामा मेरो दाँत दुखेर टनटन भइरहेको हुन्थ्यो । खासमा एउटा बङ्गारा फुकाल्नु थियो । डाक्टरले दाँतलाई नम्बरले बोलाउँदा रहेछन् । मेरो त्यो टनटनी दुख्ने प्वाल परेको दाँत बत्तीस नम्बरको थियो।

याने कि केटाकटीमा ‘तेरा बत्तीसा झारी दिऊँला’ भनेको सम्झेँ । संयोग मेरो पनि त्यही बत्तीस नम्बरको बुद्धि बङ्गारो फुकाल्नु थियो। बुद्धि ता मेरो उमेर सँगसँगै त्यसै सकिएकै थियो । उसै सकिएको थियो । त्यसको त के चिन्ता भयो र ? तर अमेरिकामा बुद्धिबङ्गारो झार्नु पनि निकै महँगो कर्म थियो।

अमेरिकामा छोरीले एकपल्ट मेरो दाँत डाक्टरलाई देखाउँदा मात्र याने दाँतलाई डाक्टरले अङ्ग्रेजीमा बोलेर हेरेको मात्र इन्स्योरेन्सले तिर्नेसहित अमेरिकी डलर १४०० को बिल आएको थियो । त्यो भनेको नेपाली रुपियाँमा रूपान्तरण गरेर हेर्दा डेढ लाखभन्दा बढी थियो । यी सबै कुरालाई हृदयाङ्गम गरी दाँत फुकाल्न सकिरहेको थिइनँ । नेपालीले जानेको अचुक औषधी ल्वाङको तेलले पनि केही लछारपाटो लाएको थिएन। नुनपानीको कुल्लाले तातोपानी लाएको थिएन।

नेपालमा छँदा पो समाज डेन्टल क्लिनिकमा गएर डाक्टर सुभाष घिमिरेलाई देखाउँदा १० डलरभन्दा कममै नेपालीमा बोलेर हाँसीहाँसी दाँत फुकालिन्थ्यो । अमेरिकाको स्वास्थ्य सुबिधा अति स्तरीय त थियो । तर आम मान्छेका लागि आकाशको फल आँखा तरी मर भनेझैँ सहज थिएन । पैसाले बनेको देश अमेरिकामा मजस्ता बेकारीका लागि त झन् असहज थियो।

विवेकाले मेरो समस्या बुझेकी थिइन् । अनि उनले काम गर्ने न्युयोर्कको रिफुवा हेल्थ सेन्टरमा लगेर मेरो बत्तीसा फुकाली दिएकी थिइन्। न्युयोर्क सरकारले न्युन आय भएका व्यक्तिका लागि कोपे तिरेर उपचार गराउन पाइने ठाउँ रहेछ त्यो । त्यो अस्पताल खास गरेर यहुदीका लागि बनाइएको रहेछ।

मनमनै लाग्यो यस्तो पो सरकार । तब पो सरकारलाई ट्याक्स तिर्नु। म विवेकालाई सम्झिरहेको रहेछु। उनी मेरा मित्र प्राडा माधव कोइरालाकी पुत्री भएको र मेरो भदाहासालोसँग बिहेका लागि कन्यार्थु लमी आफै भएको संयोगीय दिनलाई पनि सम्झेँ प्रसङ्गले।

अन्ततः हामी बोस्टन विश्वविद्यालयको दाँत विभागमा पुगेका थियौँ । यो अग्लो भवन थियो । सडकसँगै जोडिएको त्यो भवनको बाहिर फोटो खिच्ने ठाउँ बनाइदिएको थियो । त्यहाँ उभिएर फोटो खिचिरहँदा सुमेशले सडकतिर औँल्याउदै भनेका थिए – भिनाजु, अहिले विद्यार्थीको गर्मी छुट्टी भएर पो । नत्र अहिले यो सडक पार गर्न कति हम्मे पर्ने थियो । पार्क गर्न पाउने त सम्भावना नै हुँदैनथ्यो।

यो विश्वविद्यालयमा पुग्दा मोबाइलले ९० डिग्री तापक्रम देखाइरहेको थियो । विवेकाका गाला पसिनाले लत्पतिएका थिए । हामी गहुँ गोराको पनि हाल असिनपसिन थियो। उनको अनुहारमा माइत पुगेझैँ आभा फैलिएको थियो । विश्वविद्यालयप्रति गौरव अनुभूत गर्दै थिइन् सायद । आफैँलाई डाक्टर बनाउने भवनको अगाडि उभिएकी थिइन्।

तप्तताको परवाह नगरी पोजमाथि पोज दिएर फोटो खिचेपछि हामी ट्रिनिटी चर्च हेर्न पुगेका थियौँ । यो चर्च पनि निकै पुरानो थियो । काठैकाठले बनेको विशाल भवनमा कोलाहल सहरका बीचमा पनि शान्ति देखिन्थ्यो। चर्चका अगाडि धारा थिए।

पानी सङ्लो थियो । माछा पौडी खेलिरहेका थिए । चर्चकै प्राङ्गणमा खरायो र कछुवाको कथामा आधारित मूर्ति रहेछ । कछुवा हिँडिरहेको मुद्रामा थियो भने खरायो निदाएको थियो । त्यसलाई त मैले ख्याल नै गरेको थिइनँ । एक जना गोरीले मलाई भनिन्-यो खरायो र कछुवाको मूर्तिले लोककथाको स्मरण दिलाउँछ।

अहो ! यो खरायो र कछुवाको लोककथा त अन्तर्राष्ट्रिय पो रहेछ । नेपालको पेवा लोककथा होला भनिठानेको थिएँ मैले । तर अमेरिकामा चर्चका अगाडि प्राथमिकता दिएर बनाइएका ती मूर्तिले अनवरत परिश्रम तथा ंजीवनसँग नथाक्ने सन्देश दिइरहेको थियो।

त्यसपछि मासाच्युसेको स्टेट बिल्डिङ हेर्न गयौँ । त्यो भनेको मासाच्युसे राज्यको संसद भवन हो । संसद भवन मर्मत गरिँदै थियो । त्यसैले भित्र गएर हेर्न पाउने सम्भावना थिएन । फोटोमा त्यो सांसद भवन हाम्रा पछाडि आएर उभियो।

पार्ककै कुनाको एउटा बेन्चमा बसेर एक युगल जोडी सवस्त्र नागवेष्ठित यौन मुद्रामा लगातार लगातार म्वाइँ खाइरहेका थिए। मेरा पापी आँखाले त्यो दृश्य देखिहाले। लगभग एक घन्टासम्म हामी त्यही पार्कमा बसुञ्जेल पनि ती त्यस्तै मुद्रामा अविच्छिन्न म्वाइ खाइरहेका थिए। ती असीम आनन्दमा थिए सायद। अघाउने कुरा थिएन। अनि चास्सचुस्स म्वाइँको त के हिसाब पनि भयो र अमेरिकामा? त्यो त पार्कभरि यत्रतत्र देख्न पाइन्थ्यो।

सडकको एकापट्टि संसद भवन थियो भने अर्को पट्टि याने कि त्यसको ठीकअगाडि ‘बोस्टन कमन’ नामको निकै ठूलो पार्क थियो । सन १६३४ मा प्युरिटन कोलोनिस्टले त्यहाँ ४४ एकड जग्गा किनेर सार्वजनिक पार्क बनाएका थिए । त्यसैले त्यो पार्कको नाम बोस्टन कमन रहन गएको थियो । यो पार्क अमेरिकाको सबैभन्दा पुरानो पब्लिक पार्क हो रहेछ । यही पार्कमा जर्ज वासिङ्गटनलगायतका नेताहरूले अमेरिकी स्वतन्त्रताको खुसी भव्यतापूर्वक मनाएकोले यो पार्कको अर्को नाम फ्रिडम ट्रेल पनि रहेछ।

सिभिल वारका सैन्यको तालिम दिइएको पार्क पनि यही रहेछ । अमेरिकाको एन्टी स्लेभरी मिटिङ पनि यहीँ भएको रहेछ । त्यसैले यो बोस्टन कमन पार्क नेपालको सदर टुँडीखेलजस्तै ऐतिहासिक महत्ताको रहेछ । विभिन्न कालखण्डको इतिहासको साक्षी र सहयोगी रहेछ।

पार्कभित्र पोखरी, मान्छे हिँड्ने ट्रेल, खेल मैदानहरू प्रशस्त देखिन्थे। हामीलाई गर्मीले बातो बसाएको थियो । त्यहाँ ठेलागाडामा राखिएको ताजा कागतीपानी पिएर गर्मीको परवाह नगरी निकै बेर त्यो ऐतिहासिक पार्कको बेन्चमा बसेका थियौँ।

पार्ककै कुनाको एउटा बेन्चमा बसेर एक युगल जोडी सवस्त्र नागवेष्ठित यौन मुद्रामा लगातार लगातार म्वाइँ खाइरहेका थिए । मेरा पापी आँखाले त्यो दृश्य देखिहाले । लगभग एक घन्टासम्म हामी त्यही पार्कमा बसुञ्जेल पनि ती त्यस्तै मुद्रामा अविच्छिन्न म्वाइ खाइरहेका थिए । ती असीम आनन्दमा थिए सायद । अघाउने कुरा थिएन । अनि चास्सचुस्स म्वाइँको त के हिसाब पनि भयो र अमेरिकामा ? त्यो त पार्कभरि यत्रतत्र देख्न पाइन्थ्यो।

सायद मेरो कुण्ठा होला, यो कृत्य माया हो कि उन्माद हो मैले केही थाहा पाइनँ । मेरो त नजर त्यो दृश्यले खिचि नै रहेको थियो । तर मान्छेले भने त्यसलाई केही महत्त्व दिएका थिएनन्। सायद यो स्वाभाविक नै होला। तर मेरो नेपाली कट्टरपन्थी मन भने आफैँलाई प्रश्न गर्न थाल्यो – होइन यो मान्छेको जात के के चाहन्छ हँ ?

दिनको ४ बजिसकेको थियो । हामीलाई फिर्नु थियो न्युयोर्क घर । वरिस्ट साहित्यकार महेश्वर पन्त सरले मलाई केही पुस्तक उपहार दिने कुरा गर्नुभएको थियो । मेरो आफ्नै पनि यात्रा संस्मरण छापिएको अनेसासको पत्रिका दिन खोज्नुभएको थियो । तर हामी उहाँले भनेको सित्तै कुदाउन पाइने आइ ९५ को बाटो नगएर पैसा तिरेर हिँड्ने अर्कै छिटो बाटो आई ९० बाट न्युयोर्कतिर लागेका थियौँ । फलस्वरूप मैले ती पुस्तक लिन पाइनँ।

बाटोमा विवेकाको अनुहार गर्मीका कारणले निकै गलेको तथा उडेको देखिन्थ्यो । थकित देखिन्थ्यो । खानेकुराका बारेमा कुरा हुँदा विवेकाले सुस्तरी भनेकी थिइन् — मलाई त घर पुगेर लौकाको तरकारी र भात खान मन छ ।

अनि मलाई उनको अति माया लागेकाले भनेको थिएँ —मलाई केही भएको छैन विवेका । म तिमीलाई लौकाको तरकारी र भात पकाएर खुवाउँछु।

र पकाएर खुवाएको थिएँ । तर उनी यति थाकेकी थिइन् कि भोलिपल्ट पो भनिन् हिजो खाएको लौका र भातको त पत्तो नै भएन रे।

यसरी मैले बोस्टनको सहर छोडेको थिएँ । बोस्टनको सगर छोडेको थिएँ । विद्याको सागरको नबिर्सने गरी मेरो यो यात्रा सकिएको थियो।

अगस्ट २६, २०२१
सान मार्कोस, अमेरिका

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *