रुसी राष्ट्रपनि पुटिनले युक्रेनको सेनालाई भने ‘आफ्ना नेताहरुलाई सत्ताबाट हटाउ’

डिसी नेपाल
१४ फागुन २०७८ १३:०४
784
Shares

काठमाडौं। रुसी सेना युक्रेनको राजधानी किभमा पुगिसकेको छ । किभका सडकहरुमा भीषण युद्ध भइरहेको छ । शनिबार मात्रै किभमा ५० भन्दा धेरै विष्फोटका आवाज सुनिएका छन् । यही बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सेनासँग आफ्ना नेताहरुलाई सत्ताबाट हटाउन भनेका छन् । युक्रेनमा कैयौं ठाउँमा भीषण लडाइँ भइरहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो सेनालाई रुसी सैनिकलाई रोक्न अपिल गरेका छन् ।

आक्रमण सुरु गरेको तेस्रो दिन युक्रेनको राजधानी किभमै भीषण युद्ध सुरु भएको छ । रुसी सैनिक राजधानीमा प्रवेश गरिसकेका छन् । युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभ प्रशासनको हवाला दिँदै यहाँका सडकमा युद्ध सुरु भइसकेको बताएको छ ।

युक्रेनको राजधानी किभ प्रशासनले भनेको छ ‘हाम्रो मुख्य सडकका सहरहरुमा अहिले युद्ध सुरु भइसकेको छ ।’ प्रशासनले नागरिकहरुलाई चेतावनी जारी गर्दै घरभित्रै बस्न र झ्यालबाट बाहिर नहेर्न तथा बाल्कोनीमा पनि ननिस्किन भनेको छ । किभमा रुसी सैनिक शहरको उत्तरी इलाका ओबोलोनबाट प्रवेश गरेका थिए । यो क्षेत्र देशको संसद र शहरको केन्द्रीय क्षेत्रबाट केवल ९ किलोमिटर टाढा छ ।

युक्रेनको सेनाले पश्चिमतर्फबाट एक मुख्य बाटोमा भइरहेको आक्रमणलाई विफल पारेको बताएको छ । सेनाका अनुसार दक्षिणमा एक अवाइ अड्डामा युद्ध सुरु भएको छ । यहाँ रुसले हवाइ आक्रमण गरेको छ । युक्रेनले सैनिक ल्याइरहेको रुसको एक विमान खसालिदिएको बताएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको भविष्यको फैसला भइरहेको भन्दै जनतालाई मजबुत रहन अपिल गरेका छन् ।

युक्रेनमा सर्वसाधारणलाई हतियार दिइएको छ र रुसी आक्रमण रोक्न जनतालाई पेट्रोल बम बनाउन भनिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाको किभको भिक्टरी एभेन्युमा रहेको युक्रेनको एक सैन्य अड्डामा आक्रमण गरेको छ । युक्रेनको सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूहरुले रुसी सेनाको आक्रमणको जवाफ दिएको र उनीहरुलाई पछाडि धकेलेको बताएको छ ।

पोस्टमा आक्रमणको सही ठाउँबारे जानकारी भने दिइएको छैन । भिक्टरी एभेन्यु किभको पश्चिमतर्फ छ । रोयटर्सले इन्टरफ्याक्सको हवाला दिँदै रुसी सैनिकले सहरको एक विद्युत स्टेशन कब्जा गर्ने कोसिस गरिरहेको बताएको छ । यसअघि राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकले रातमा किभमा आक्रमण गर्न सक्ने बताएका थिए । उनले भनेका थिए ‘मैले यो भन्नु परिरहेको छ, आजको रात भारी हुनेवाला छ ।’

रुसको आक्रमणपछि युक्रेन पनि आफ्नो पूरा क्षमताका साथ जवाफ दिने कोसिस गरिरहेको छ जसका कारण राजधानी किभ र आसपासका क्षेत्रमा भीषण युद्ध भइरहेको छ । सहरको बाहिरी क्षेत्रमा एक एयरफिल्डमा युक्रेन र रुसी सेनाको टकराव जारी छ । बिहीबार रुसी सेनाको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी इलाकामा भीषण लडाइँको खबर छ ।

आक्रमणका बीच युक्रेन सरकारले किभ सहरका केही मानिसहरुले रुसलाई सहयोग गरिरहेको हुन सक्ने चेतावनी दिएको छ । आक्रमणपछि बिहीबार रातीदेखि नै किभमा मानिसहरु मेट्रो स्टेशनहरुमा शरण लिएर बसेका छन् । हवाइ आक्रमणपछि बाक्लो जनघनत्व भएको पोजनिएक क्षेत्रसहित किभका अण्डरग्राउण्ड मेट्रो स्टेशन मानिसहरुको शरणस्थल बनेका छन् ।

किभका एक नागरिकले बीबीसीका निक बीकसँग भने ‘पुटिन, हामी तिमीलाई कुनै जनावरजस्तै मारिएको हेर्न चाहन्छौं ।’ युक्रेनका अधिकारीहरुले सहरमा मिसाइल आक्रमण भएको बताएका छन् । जवाफी हमलामा एउटा रुसी विमान खसालिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जारी एक भिडियोमा भने ‘उनीहरुले नागरिक बस्ने इलाकामा आक्रमण नगरेको भनिरहेका छन् । यो झुट हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *